Logo
२६ बैशाख २०८१, बुधबार
(March 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठूलो दुर्घटनाबाट जोग्यो  राजकिशोरको पार्टी

काठमाडौं, चैत १७ । राजकिशोर यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम गणतान्त्रिक ठूलो दुर्घटनाबाट बचेको छ । यादवसँग असन्तुष्टि जनाउँदै सम्पूर्ण पदाधिकारीसहित केही केन्द्रीय सदस्यले राजीनामा दिइसकेका थिए । तर फागुन १४ गते भएको केन्द्रीय समितिको बैठक बसेपछि पार्टी ठूलो दुर्घटनाबाट जोगिएको हो ।  पछिल्लो समय पार्टीको कुनै क्रियाशिलता नरहेको कारणले सो पार्टीका नेताहरुले निस्कृय हुँदै पार्टी छाड्न थालेका थिए भने भएका नेताहरुलाई पनि अध्यक्ष यादवले बोलाउन र छलफल गर्न छाडे । विजुली बजारमा रहेको पार्टी कार्यालय समेत बन्द गरे ।

अध्यक्ष यादवले एक्लै बैठक, सभा सम्मेलनहरुमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्न थाले तर अरु कसैलाई सोधपुछ पनि गर्न छाडे ।यहाँसम्म कि मोर्चा तथा संघीय गठबन्धनले बेलाबेलामा निकाल्ने जुलसमा झण्डा तथा ब्यानेर बोक्ने पनि कोही भएनन् । त्यसपछि पार्टीमा बाँकी रहेका नेताहरुले कुनै दलसँग एकीकरण गर्नुस् नभए आफूहरु पार्टी छाडेर अर्को पार्टीमा जाने दवाव अध्यक्ष यादवलाई दिन थालेका थिए । ‘यो तरिकाले पार्टी चल्दैछन्, या पार्टीलाई राम्रोसँग सञ्चालन गर्नुस् या कुनै पार्टीसँग एकीकरण गर्नुस् यी दुई कार्य गर्न नसके यो पार्टीबाट विदा गर्नुस्’ भनि नेताहरुले अध्यक्ष यादवलाई पटक पटक दवाव दिएका थिए ।

तर अध्यक्ष यादवले विभिन्न बहानामा ती नेताहरुको कुरालाई टार्दै गइरहेका थिए । नेताहरुको दवाव बढ्न थालेपछि अध्यक्ष यादवले सात दिनको समय माग गरे । तर सात दिनको समय पनि त्यतिकै बित्यो । त्यसपछि बाध्य भएर ती नेताहरुले चैत ३ गते अध्यक्ष यादवलाई सामूहिक राजिनामा बुझाएका थिए ।

सम्पूण पदाधिकारीसहित नौजनाले बुझाएको राजिनामापत्रमा उल्लेख छ,–‘विगत केही वर्षदेखि फोरम गणतान्त्रिकको सदस्यता लिइ केन्द्रीय कार्यकारिणी समितिमा केन्द्रीय सदस्य हुँदै विभिन्न गरिमामय जिम्मेवारीमा रही कार्य गर्दै पार्टी लगायत मधेश र मधेशीको हक हितका लागि संघर्षरत रहँदै आइरहेकोमा हाल एउटा राष्ट्रिय पार्टीका न्युनतम गतिविधि लगायतको संगठनात्मक न्युनतम मुल्य मान्यता अवलम्बन गर्ने पार्टीभित्र वातावरण नरहेको साथै समान धारणा भएका राजनीतिक पार्टीहरुसँग एकीकरणको पनि सम्भावना नदेखिएकाले अब उपरान्त हामी यस पार्टीमा उक्त जिम्मेवारीहरुमा रही समय दिन उपयुक्त नभएको महसुस गरेका छौ ।’

यसरी राजिनामा दिनेहरुमा महासचिव रामलाल सुतियार, अर्का महासचिव एवं प्रवक्ता चन्देश्वर प्रसाद सिह, सचिव दिपेन्द्रकुमार यादव, कोषाध्यक्ष माधुरी साह तथा केन्द्रीय सदस्यहरु र विजय यादव, विजय महासेठ, परमेशकुमार साह, सजयकुमार यादव, विजयकुमार यादव हुन् ।

त्यसमध्ये चैत १४ गते सप्तरीमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले परमेशकुमार साहलाई पार्टीले कारवाही गरेको छ र बाँकीको बारेमा केही बोलिएको छैन । त्यसैगरि जयवहादुर खत्री, विष्णु चौधरी र नेत्र सुव्वालाई पनि पार्टीबाट कारवाही गरि निकालेको छ । सप्तरीमा भएको श्रद्धाञ्जलीसभाको भोलीपल्ट बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष यादवले पार्टी एकीकरणका लागि महेन्द्रराय यादव र शरतसिह भण्डारीको पार्टीसँग छलफल भइरहेकाले राजिनामा दिनका लागि हतार नगर्न आग्रह गरेका थिए ।

केही दिनमै एकीकरण हुँदैछ, भन्दै राजीनामा फिर्ता लिन नेताहरुलाई आग्रह गरेका थिए । राजीनामा दिनेमध्येका एक नेताले भने, अध्यक्षजीले पार्टी एकीकरण हुँदैछ भन्नुभएको छ, हेरौ कहिलेसम्म एकीकरण हुन्छ, यदि एकीकरण भएन भने हामी पार्टी छाड्छौं ।’ रातोपाटीमा समाचार छ ।

प्रकाशित मिति: Mar 30, 2017

प्रतिक्रिया दिनुहोस्