Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘संविधान संशोधन विद्येयक काम न काजको छ’

काठमाडौं, १३ माघ । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले संसदमा दर्ता भएको संविधान संशोधन विद्येयक काम नलाग्ने भएको टिप्पणी गरेका छन् ।  यादवले संसदमा दर्ता भएको विद्येयक काम न काजको भएको समेत टिप्पणी गरे। उनले अघि थपे,‘यो विद्येयक पास गरेपनि केही हुनेवाला छैन, फेल भएपनि केही हुनेवाला छैन ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक यादवले भने,‘संशोधन विद्येयक काम नलाग्ने छ, यो पारित गरेपनि वा नगरेपनि काम लाग्ने छैन, यसले समस्याको निकास दिँदैन् ।’ संघीय समाजवादी फोरम नेपालका समेत अध्यक्ष रहेका संयोजक यादवले अहिले आँफैले बनाएको संविधान आँफै उल्लंघन गर्ने काम भैरहेको समेत आरोप लगाए ।

यादवले भने,‘अहिलेको सरकारले आफूले बनाएको संविधान आँफै उल्लंघन गर्ने काम गरिरहेका छ, संविधानमा २५ जनाभन्दा बढि मन्त्री बनाउन नपाउने व्यवस्था छ, तर अहिले ४३ सदस्य पुगिसके, अझै ६÷७ जना लाईनमा बसिरहेका छन् ।’

उनले सबै राजनीतिक दलले एक अर्काले समस्या बुझेर समन्वयात्मक बाटो खोजेर मुलुकलाई निकास दिनुपर्नेमा जोड दिए । यादवले संविधान संशोधनले नै मुलुकले निकास पाउने भएकोले यसमा एमाले बाधक बन्न नहुने जिकिर गरे। अध्यक्ष यादवले मुलुकको आन्तरिक समस्यालाई आँफैले हल गर्न सकिए अरुले केही गर्न नसक्ने समेत स्पष्ट पारे ।

स्थानीय तह पूर्नसंरचना आयोगले अघि सारेको प्रतिवेदन आफूहरुलाई स्विकार्य नभएको जिकिर गर्दै यादवले भने,‘५२ प्रतिशत जनसख्या ओगटेको तराईमधेशमा मुस्किलले २५ प्रतिशत छ, यो न्यायोचित होईन, संरक्षित क्षेत्र, विशेष क्षेत्र र स्वायत्त क्षेत्रको पनि कुरै छैन, अनि कसरी चुनाव गराउने ?, नयाँ व्यवस्था अनुसार, पूरानो त गैसक्यो ?’

यादवले अहिलेसम्म सरकार र प्रमुख दलहरु स्थानीय तहको चुनाव गर्ने कि स्थानीय निकायको भन्नेमा नै अन्यौलमा रहेको आरोप लगाए । यादवले थपे,‘संविधानमा स्थानीय तहको निर्वाचन गर्ने व्यवस्था छ, निकाय पूराने भैसक्यो, तहको गर्ने हो भने आयोगको प्रतिवेदन मन्त्रालयमा थन्किएर बसिरहेको छ, प्रतिवेदनको जताततै विरोध भैरहेको छ ।’

फरक प्रसँगमा उनले नेपाल–भारत सम्बन्ध जति राम्रो भयो त्यति नै दुवै मुलुकको लागि हित हुने समेत स्पष्ट पारे। यादवले विदेश नीतिबारे सबै दलहरुवीच एकरुपता हुनुपर्ने बताउँदै भने,‘विदेश नीति मुलुकको हुनुपर्छ, पार्टी पार्टीवीच भिन्दाभिन्दै होईन ।’

यादवले नेपालमा दलैपिच्छै छुट्टाछुट्टै विदेश नीति भएकोले गडबड्ी भएको गुनासो पोखे। उनले नेपाल–भारतवीचका एक अर्काका संवेदनशिलतालाई कूटनीतिक माध्यमबाट छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले नेपालले भारतको आर्थिक विकास, समृद्धिबाट फाईदा लिन सक्नुपर्ने धारणा राखे ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नो पार्टी निर्वाचनको पक्षमा रहेकोले बताउँदै यसको लागि संविधान बाधक नभएको स्पष्ट पारे ।

भट्टराईले संविधान संशोधन सुनियोजित तरिकाले संसदमा दर्ता गराएर निर्वाचनको वातावरण विथोल्ने षड्यन्त्र भैरहेको समेत आरोप लगाए। उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकार संविधान कार्यान्वयन गर्न र प्राप्त उपलब्धिहरुको रक्षा गर्न गठन भएको भए बैशाखको अन्तिमसम्म स्थानीय तहको निर्वाचन गर्नुपर्ने र आगामी ०७४ माघ ७ गतेभित्रै बाँकी निर्वाचनहरु गर्नुपर्ने माग गरे। ‘चुनावको लागि सकारात्मक सहयोग गर्न एमाले जहिलेपनि तयार छ,’ उनले भने ।

सचिव भट्टराईले नेपाल–भारतवीच ऐतिहाँसिक सम्बन्ध रहेको उल्लेख गर्दै आधुनिक युगमा द्धिपक्षीय सम्बन्ध आपसी हितका आधारमा अघि बढ्ने विश्वास व्यक्त गरे। उनले भने,‘हरेक देशका आ–आफ्ना संवेदनशिलता हुन्छन्, नेकपा एमाले कुनैपनि मित्रराष्ट्रको संवेदनशिलतामाथि खेलवाड गर्दैन, र हाम्रो देशको संवेदनशिलतामाथि पनि कसैले खेलवाड गर्न पाईँदैन् ।’

जनसंख्या, भूगोल र आर्थिक सामाजिक रुपबाट मुलुक सानो ठूलो हुन सक्ने भएपनि मुलुकको सार्वभौमिकता, स्वतन्त्रता, स्वाधिनता, राष्ट्रियता जस्ता कुरामा कुनै देश सानो र कुनै देश ठूलो नहुने उनको भनाई थियो ।

उनले भारतले नेपालको माईक्रो म्यानेजमेन्टबाट हात झिके मात्रै नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर हुने दाबी गरे। भट्टराईले भने,‘नेपालले त ईतिहाँसमै कहिल्यैपनि उपनिवेश भोगेको छैन, भारतले त भोगेको छ, त्यसैले उहाँहरुलाई स्वतन्त्रता भन्ने कुरा राम्रोसँग थाहा छ ?’

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एव्म पूर्वमन्त्री हरिबोल गजुरेलले प्रमुख प्रतिपक्षी दल संविधान संशोधनको पक्षमा नउभिएको र मधेशी मोर्चाले संशोधन हुनैपर्छ भनिरहेको अवस्थामा आफ्नो पार्टीले समन्वयात्मक भूमिका निर्वाह गरिरहेको बताए ।

गजुरेलले भने,‘संविधान कसैलेपनि भनेकोजस्तै छैन, यो सबैको साझा दस्तावेज हो, हामीलेपनि भनेका कुराहरु लागु भएका छैनन् ।’ प्रमुख दलहरुवीच राजनीतिक निकास दिनेवारे ढिलो चाँडो सहमति हुने समेत उनको विश्वास थियो ।

उनले समयमै निर्वाचन गर्नुपर्ने बताउँदै भने,‘संविधान कार्यान्वयनको लागि पनि ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको निर्वाचन गर्नुपर्नेछ, त्यसको लागि दलहरु मिलेर जानुको विकल्प छैन ।’

गजुरेलले नेपाल–भारत सम्बन्ध उतार चढावकावीचबाट गुज्रिरहेको बताउँदै भुकम्पका बेला भएको नाकाबन्दीपछि पीडाबोध अवस्था अहिले विस्तारै सामान्य हुँदै गएको स्पष्ट पारे ।

प्रकाशित मिति: Jan 26, 2017

प्रतिक्रिया दिनुहोस्