Logo
१५ चैत्र २०८०, बिहीबार
(January 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गच्छदारको अपत्यारिलो प्रस्ताव, गतिरोध अन्त्यका लागि निर्वाचन

विराटनगर । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राजनीतिक गतिरोध अन्त्यका लागि संसद्को निर्वाचनतर्फ अग्रसर हुन दलहरुलाई आग्रह गर्नुभएको छ । सो पार्टीद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले स्थानीय तहको निर्वाचन गराउने विषयमा विवाद देखिएको र स्थानीय निर्वाचन नभएसम्म प्रदेशको निर्वाचन पनि गर्न नसक्ने अवस्थामा संविधानलाई जीवन्त राख्नका लागि संसदीय निर्वाचन गराउनु नै उपयुक्त देखिएको बताउनुभयो ।

जनताको अभिमतबाट चुनिएको सरकारले संविधानलगायत विषयमा कार्य गर्न सक्ने भएकाले त्यति चिन्तित हुनुपर्ने विषय नदेखिएको नेता गच्छदारको भनाइ थियो । स्थानीयस्तरमा पुरानै संरचनामा निर्वाचन गराउन सके निर्वाचनको सम्भावना रहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले त्यसो नभए दस महिनाभित्र नयाँ संविधानको आधारमा संसदीय निर्वाचन गराउनुपर्नेमा जोड दिनुभयो ।

मुलुक जटिल अवस्थामा फस्दै गइरहेकाले राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखी प्रमुख राजनीतिक दलबीच उच्च कोटीको समझदारीको आवश्यकता रहेको र दुवै पक्षलाई अतिवादी सोचलाई त्यागेर मिलनबिन्दु खोज्न समेत गच्छदारले सुझाव दिनुभयो । संविधान संशोधनको प्रस्ताव परिमार्जन गरेर पारित गर्नुपर्ने विषयमा जोड दिँदै झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई समेटेर वा जिल्लाको विभाजन गरेर समस्याको समाधान गर्नुपर्ने धारणा राख्नुभयो । परिमार्जनसहित संविधान संशोधन प्रस्ताव संसद्बाट पारित नभएसम्म सरकारमा नजाने अध्यक्ष गच्छदारले स्पष्ट पार्नुभयो । रासस

प्रकाशित मिति: Jan 24, 2017

प्रतिक्रिया दिनुहोस्