Logo
६ बैशाख २०८१, बिहीबार
(December 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म किन बन्न खोज्दैछु पत्रकार ?

चन्द्रप्रकाश उपाध्याय । मान्छे भन्नेवित्तिकै चेतनशील प्राणी मानिन्छ । र, यो पृथ्वीमा जन्मिएपछि मानिसलाई अनेकथरिका सुख र आनन्द चाहिन्छ । त्यसैले प्रायः मानिसको जन्म ठूलो–ठूलो हस्पिटलमा ठूलो नर्स, डाक्टरहरुको अगाडि आनन्दका साथ जन्म हुन्छ ।

तर मेरो जन्म दुर्गम जिल्ला जुम्लाको दुर्गम गाउँ सिंजामा भएको हो । परम्परागत संस्कृतिअनुसार आमा एकान्त जङ्गलमा दौडिएर छटपटाउँदै एउटा स्याउली खातमा मलाई जन्म दिनु भएछ ।

जब म बढ्दै र हुर्कंदै गएँ तब आफ्नो जिन्दगीको महव बुझ्न थालेँ र जिन्दगीलाई धेरै बदल्न खोजेँ । मेरो पढाइको सुरूआत सोही गाउँको स्कुलबाट भएको कारणले खासै राम्रो थिएन । प्राथमिक तहसम्मको अध्ययन गाउँमै गरेँ र त्यसपछि कक्षा ६ मा नेपालगञ्जको बीपी मेमोरियल माध्यमिक विद्यालयमा भर्ना भएँ, जहाँ मेरो मामाको घर छ ।

म त्यहीँ बसेर निम्नमाध्यमिक तहसम्मको अध्ययन सोही विद्यालयबाट पूरा गरी पुनः गाउँमा नै फर्कि माध्यमिक तहसम्मको अध्ययन गरी एसएलसी परीक्षा दिएँ । प्रायः सबै अग्रज, साथीहरु गाउँमा काम र पढाइ नभएपछि पैसा कमाउनको निमित्त गाउँ छोड्नुपर्ने बाध्यता थियो ।

यसै शिलशिलामा मेरो पाइला पनि कमाउन जानको लागि रोकिन सकेन र यसैक्रममा म भारत जान्छु भनी दाइसँग सल्लाह गरेँ र दाइले मलाई सम्झाउनु भयो ‘तँलाई के नपुग्दो छ र किन जान्छस् भारत, कि त सीधै चितवन जा म पैसा पठाइदिन्छु’ भन्नु भयो ।

तर मेरो विचार थियो सक्दो आफैँ कमाएर पढ्ने र घरको पैसा घरमै दुःख विमार पर्दा काममा आओस् भन्ने थियो । र, आफ्नो जिद्दीले गाउँका विक्रम हमाल दाइसँग भारतको अस्कोट भन्ने ठाउँमा गएँ र जहाँ पहाडैपहाड थियो । मलाई हिन्दी बोल्न पटक्कै आउँथेन । म त्यहाँ लाटोजस्तै भएको थिएँ । २-४ दिन काम गरेँ तर गाह्रो कामले गर्दा शरीरले सहन सकेन ।

बरु घरबाटै पैसा माग्छु भनेर फर्किने निधो गरेँ अनि दुई दिन लगाएर नेपाल फकिएँपछि बर्दियाको घरमा आएँ । जेठा दाइले पैसा लैजा भन्नुभयो र मैले पैसा लिन अस्वीकार गरेँ । अनि मेरो यात्रा चितवनतिर सुरू भयो । एक महिना चितवनमा व्यवसायमा संलग्न भएँ । त्यसमा राम्रै कमाइ गरेँ ।

लगत्तै एसएलसीको रिजल्ट आयो जसमा राम्रो अंक ल्याएर उत्तीर्ण हुन सफल भएँ । त्यसपछि उच्च शिक्षाको लागि कलेज खोज्दै हिँडे । खासै कलेजको बारेमा जानकारी नभएकाले जहाँ पढे पनि कि त पत्रकारिता कि त टेक्निकल विषय पढ्छु भन्ने विचार थियो । मार्कसिट ढिलो आएकोले टेक्निकल पढ्न सकिन ।

चितवन पोष्टका सरहरुसँग मैले पहिलेदेखि नै साधारण चिनजान गरेको थिएँ । म त्यहाँ गएर मेरो एसएलसीको रिजल्ट आयो म पास भएँ । अब पत्रकारिता पढ्छु’ भनेँ । पत्रकार गोविन्द दाइले मलाई भन्नु भो ‘भोलि सप्तगण्डकी क्याम्पसमा जाउँला, तिमी जुम्लाबाट आएको विद्यार्थी पैसा पनि कम हुन्छ’ भन्नुभयो ।

भोलिपल्टको दिनमा म र पत्रकार दाइसँगै कलेजमा गयौँ । चिफ सरले हाम्रो कुरो नसुनेपछि अनि पत्रकार दाइले भन्नुभयो, ‘तिमी आफ्नो पढाइको बारेमा एउटा लेख लेखेर देऊ पत्रिकामा छापिदिन्छौं ।’ मैले पनि पत्रिकामा नाम आउने भएपछि एउटा लेख नलेखिरहन सकिनँ ।

आफ्नो व्यक्तिगत जीवनको सबै उल्लेख गरी एउटा लेख तयार पारेँ । भोलिको दिनमा फोटो र नामसहित दोस्रो पेजमा छापिएको थियो । सप्तगण्डकी चोकमा पुस्तक व्यवसाय गर्ने विष्णु पौडेलले पत्रिका पढ्नु भएछ र उहाँले चितवन पोष्टमा फोन गर्नुभएछ । संयोगबस म पनि सोही दिनमा चितवन पोष्ट कार्यालयमा पुगेँ र मलाई त्यहाँ सरहरुले भन्नुभयो तिमीलाई पढाइदिने र पसलमा जागिर दिने व्यक्ति भेटिएका छन् ।

अब तिमी भोलि नै जाऊ भन्नुभयो तर काम गरेर पढ्ने मेरो विचार थिएन । घरमा पनि दाइ–भाउजूले नगर पढाइ बिग्रन्छ भन्नुभयो । म दुई दिनसम्म गइनँ । चितवन पोष्ट अफिसमा गएँ र विष्णु पौडेलले चितवन पोष्टमा तपाईंको मान्छे खोई भन्नु भएछ र मलाई त्यहाँ गाली गर्नु भयो ।

पत्रिकामा छापिएपछि जान्न भन्न मिल्दैन भन्नुभयो र म पनि हुन्छ आफैँ जान्छु भनेर गएँ । त्यहाँ गए अंकल नमस्कार गरे अनि विष्णु पौडेलले मलाई भगवान् ! तपाई बल्ल आउनु भा’को भन्दा मलाई मेरो बुबाले भनेजस्तो लाग्यो । हामीसँगै बस्दै गयौँ । मलाई पनि धेरै माया गर्नुभयो ।

मान्छेहरु भन्थे आजभोलिका मानिस सबै स्वार्थी हुन्छन् तर मैले आज भगवान् नै भेटेको छु । आज हामीहरु दाजुभाइजस्तै भएका छौँ । बुढापाका भन्थे रगतको नाताभन्दा प्रेमको नातानजिक हुन्छ भन्थे साँच्चै रहेछ । आज आएर विष्णु ‘भगवान्’ले गरेका सहयोगी हातहरुले मेरा हातहरु पनि सहयोगी बन्दै गएका छन् । र, उनीहरुबाटै मान्छेलाई राम्रो तरिकाले हिँड्न सहयोग गरेको छ ।

म यस्तो विचारमा छु पैसा कमाएर ठूलो महल बनाउनुभन्दा राम्रो काम गरेर पत्रकार बन्नु मेरो ठूलो सोच छ । के गर्नु मेरो सपना त अझै ठूलो थियो । तर एउटा स्वतन्त्र पत्रकार बन्ने विचार गरेको छु । सबैले भन्छन्, किन पत्रकारिता पढेको यसमा पैसा नै थोरै हुन्छ, सबै पत्रकार गरिब हुन्छन् ।

पत्रकारहरुको ज्यान खतरा हुन्छ भनेर धेरैले भने तर म राम्रो काम गर्नको लागि मर्न पनि डराउँदिन । अरुलाई राम्रो हुन्छ भने मैले जिन्दगीमा जस्तो दुःख गर्न पनि तयार छु । मैले पत्रकार बनेर आफ्नै दुर्गम जिल्ला जुम्लामै बस्ने विचार गरेको छु । एउटा सच्चा पत्रकार भएर पत्रकारिताको सिद्धान्तलाई मर्यादापूर्वक कलम चलाएर स्वतन्त्र पत्रकार बन्ने अठोट गरेको छु । तर हामीजस्ता काम गरेर एउटा लक्ष्य बोकेर हिँडेका मान्छेलाई कसैले मान्छे नै नभन्दा रहेछन् ।

समाजको अन्धोपन हटाउनको निम्ति म पत्रकारिता क्षेत्रमा रमाउन चाहन्छु । हाम्रो ठाउँमा पत्रकारिता क्षेत्रका विद्यार्थी कम नै भएकाले मैले आफ्नो ठाउँमा मानिसहरुको चेतना र विकासका लागि पत्रकारिता विषय अध्ययन गरेको हुँ । आफ्नो संस्कृति र खस भाषाको जन्मथलोलाई जोगाइ राख्ने प्रयास गर्नेछु ।

एउटा पत्रकारको आफ्नो ‘पावर’ कत्तिको हुन्छ भनेर विश्वास दिलाउने छु । दुर्गम जिल्लाका गाउँघरमा पसलमा राखिएका खाद्य सामग्रीहरुको अनुगमन नहुने भएकोले प्रयोग गर्ने मिति समाप्त भइसकेपछि पनि सामान्य जीवनमा प्रयोगमा ल्याइएको र बेचबिखन गरेका तथ्यहरु भेट्न सकिन्छ ।

यस्ता प्रवृत्तिलाई अन्त्य गर्ने प्रयत्न गर्नेछु भन्ने सोच र संकल्पका साथ एउटा असल पत्रकारको भूमिका निर्वाह गर्नेछु । त्यसैले चितवनका मानिसहरुको साथ र सद्भावले गर्दा यही ठाउँबाट मेरो सपना पूरा हुने सपना देखेको छु । न्यूज अभियानका लागि चितवन पोष्टको सहयोगमा ।

प्रकाशित मिति: Dec 27, 2016

प्रतिक्रिया दिनुहोस्