Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेश आन्दोलन छानविन आयोगमा मात्र एउटा उजुरी ! अव दिन ९ दिन बाँकी

काठमाडौं ६ पुस । मधेश आन्दोलन सम्बन्धी छानविन गर्न गठित आयोगमा एक मात्र उजुरी परेको छ । हालसम्म दर्ता भएको एउटा मात्र उजुरीकर्ता हेटौँडाका तारानाथ चौलागाईंले आफ्नो मिनी ट्रकमा बन्दकर्ताले सिरहाको लाहानमा आगजनी गरेको उजुरी आयोगमा दर्ता गराएका छन् । उनले २३ लाख ९४ हजार क्षतिको दाबी गरेका छन् ।

उजुरी दिन आह्वान गरिएको २१ दिन पुग्दासमेत एक मात्र उजुरी परेको आयोगका अध्यक्ष गिरीश चन्द्र लालले बताए । उजुरी दिन अव मात्र नौ दिन बाँकी रहेको छ ।

मङ्सिर १६ देखि पुस १५ गतेसम्म एक महिनाको समय निर्धारण गरेर आयोगले उजुरी आह्वान गरे पनि २१ दिनमा आयोगमा एउटा मात्र उजुरी परेकोमा आयोगका अध्यक्ष तथा पूर्व न्यायाधीश लालले चिन्ता व्यक्त गरेका छन् । लालले उजुरी दर्ता गराउनमा सहयोग गर्न मानवअधिकारवादी, राजनीतिक दललगायतलाई आग्रहसमेत गरेका छन् ।

पहिलो चरणमा उजुरीको आधारमा घटनाको अध्ययन आयोगले गर्ने योजना बनाए पनि उजुरी नै नआउने भएपछि अध्ययनको अर्को विकल्पका बारेमा समेत आयोगले तयारी गरिरहेको अध्यक्ष लालले सुनाए । आयोग गठनको करिब तीन महिना भए पनि आयोगले खासै काम गर्न सकेको छैन ।

‘आयोग गठन भएको डेढ महिनासम्म सरकारले न बजेट दियो, न कार्यालयका लागि कुनै लजिस्टिक सामान उपलब्ध गरायो’ भन्दै उनले डेढ महिना समय बेकारमा बितेको गुनासो सुनाए । आयोगले तीन करोड ४९ लाख रुपियाँको बजेटसहितको योजना प्रस्ताव गृह मन्त्रालयमा पठाउँदा डेढ महिनापछि मुस्किलले ५८ लाख रुपियाँ प्राप्त भएको अध्यक्ष लालले जानकारी दिए ।

आयोग गठन पछिको छ महिने समयमा घटनाको अध्ययन गरी प्रतिवेदन बुझाउने कार्यविधि भए पनि सरकारी ढिलासुस्तीका कारण आयोगको कामकाज समेतमा ढिलाइ हुने बुझाइ अध्यक्ष लालको छ । आयोगमा सदस्य अधिवक्ता खुसीप्रसाद थारूले मधेशलाई केन्द्रित घटनाको छानबिन गर्न आयोग गठन भए पनि मधेश र तराईबाट हालसम्म एउटा पनि उजुरी नआएको बताए ।

टीकापुर घटनामा २५ जना काराबास जीवन बिताइरहेका र करिब सयलाई सरकारी मुद्दा लगाइएको भए पनि पीडित पक्षको आजसम्म आयोगमा उजुरी नआएको उनले बताए ।

प्रकाशित मिति: Dec 21, 2016

प्रतिक्रिया दिनुहोस्