Logo
१५ चैत्र २०८०, बिहीबार
(December 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेस अलग राष्ट्र हुनुपर्छ भन्ने सांसद्को यस्तो स्पष्टिकरण

अभिशेष प्रताप शाह, 
नेता, संघीय समाजवादी फोरम नेपाल

काठमाडौँ ।  मधेस अलग राष्ट्र हुनपर्छ भन्दै सामाजिक सञ्जालमा लेखेपछि संघीय समाजवादी फोरम नेपालका सांसद् तथा उपमहासचिव अभिषेक प्रताप शाहलाई पार्टीले स्पष्टिकरण सोधेकोमा शाहले लिखित स्पष्टिकरण दिएका छन् । पार्टीहित तथा नीतिविपरित अभिव्यक्ति दिएको भन्दै शाहलाई पार्टीले स्पष्टिकरण सोधेको थियो ।

जवाफमा शाहले फेसबुकमा मधेस अलग राष्ट्र हुनुपर्ने अभिव्यक्ति दिएको स्वीकार गर्दै उक्त अभिव्यक्ति आफ्नो नितान्त व्यक्तिगत धारणा भएको बताएका छन् । उनले स्पष्टिकरणमा पार्टीले आफूलाई कारवाही गर्न नमिल्ने समेत बताएका छन् ।

स्पष्टिकरणको पूर्ण पाठ:

श्री रणध्वज कन्दङ्वा ज्यु,
महासचिव, सङ्घीय समाजवादी फोरम, नेपाल
काठमाण्डौं ३५, तिनकुने

विषय : लिखित जवाफ पेश गरेको सम्बन्धमा ।

म अभिषेक प्रताप शाह आफुमा राजनीतिक चेतना प्रारम्भ भएदेखि नै नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा महत्वपुर्ण भूमिका खेल्दै तथा राजनीतिक यात्रा पार गर्दै सङ्घीय समाजवादी फोरम, नेपालको उप–महासचिव पदमा कार्यरत छु । संविधानसभाको दुवै निर्वाचन साविक मधेशी जनअधिकार फोरम, नेपालको तर्फबाट कपिलवस्तु जिल्ला क्षेत्रबाट विजयी भई जनताको प्रतिनिधि भई संविधान निर्माणमा अहम् भूमिका समेत खेलेको यहाँलाई अवगत भएकै कुरा हो ।

Xby DNSUnlocker

आफ्नो जनता र पार्टीप्रति प्रतिबद्ध रहँदै आएको एक क्रियाशील व्यक्ति भएको स्मरण गराउनु चाहन्छु । मेरो राजनीतिक आस्था, विचार र सो अनुरुपको अभियानमा अटल रहँदै मलाई प्रजातान्त्रिक विचार मान्यता र आफ्नो पार्टीप्रतिको आस्थाबाट कहिल्यै कसैले विचलित गराउन नसक्ने व्यहोरा यहाँ उल्लेख गरिरहनु पर्दैन । म पार्टीको एक इमान्दार, वफादार तर स्वतन्त्र विचार वहन गर्ने कार्यकर्ता हुँ । यद्यपी म पार्टी अनुशासन तथा निर्देशन प्रति सदैव सचेत छु ।

उपरोक्त सम्वन्धमा पार्टीको तर्फबाट “तपाई पार्टीको उप–महासचिव, साँसद जस्तो गरिमामय जिम्मेवारीमा हुनुहुन्छ । केहि दिन अगाडि फेस बुक स्टाटस र काठमाडौं टुडे पत्रिकामा प्रकाशित तपाईका सार्वजनिक अभिव्यक्तिहरुप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ । तपाईका अभिव्यक्तिहरु पार्टीको जिम्मेवार कसैले पनि गर्न सक्ने, भन्न सक्ने कल्पना पनि गर्न सकिदैन । तसर्थ पार्टीको निर्णय अनुसार तपाईलाई निम्न विषयहरुमा सोधनी गरिएको छ ।तोकिएको समय भित्र निम्न विषयहरुमा लिखित जवाफ, केन्द्रीय कार्यालय तिनकुनेमा पठाउनु हुन यसै पत्रद्वारा जानकारी गरिएको छ ।” भन्दै स्पष्टीकरण सोध्नु भएको छ । निम्न बमोजिमको स्पष्टीकरण प्रस्तुत गर्दछुः

१. तपाईले आफनो फेसबुक स्टाटस्मा ‘बस करो मधेसी नेता अब आओ वापस मधेस, बंद करो दाना पानी तेल और माँगो अलग राष्ट्र मधेस’ र यस सम्बन्धी काठमाडौं टुडे पत्रिकाको अन्तवार्तामा यी अभिव्यक्तिहरु दिनु भएको साँचो हो ?
माथिको वाक्यांश मैले आफ्नो फेसबुकमा लेखेको कुरा सही हो । त्यो मेरो नितान्त व्यक्ति विचार हो, सो मेरो पार्टीको धारणा वा रोडम्याप हो भन्ने कुरा कहीँ कतै उल्लेख गरेको छैन । संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रताको मौलिक हकको उपभोग गरेको हो । संयुक्त राष्ट्र संघीय मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रले समेत सबैलाई आफ्नो मत तथा अभिव्यक्तिको स्वतन्त्रता हुनेछ, यो अधिकारमा व्यक्तिलाई मत कसैको हस्तक्षेपविना मत राख्न पाउने र कुनै सञ्चार माध्यम वा सीमाको छेकवारविना सूचना तथा विचार चाहने, प्राप्त गर्ने तथा अर्कालाई अभिव्यक्त गर्ने अधिकार हुन्छ भने व्यवस्था गरेको छ । यसकारण अभिव्यत्ति स्वतन्त्रताको हकको उपभोग मैले मेरो विचार फेसबुक मार्फत अभिव्यत गरेको हुँ । त्यसमा पनि म जस्तो जनताको प्रत्यक्ष मतवाट निर्वाचित सँसादले जनताको मनोभावना व्यत गर्नु आफनो परम कर्तवय समेत रहेको व्यहोरा जानकारी गराउन चाहन्छु । जनताको भावनालाई बेवास्ता गर्दा आगामी दिनमा मलाई र पार्टीसमेतलाई राजनीतिक क्षति हुने अवस्था रहेकोे ले मैले सो अभिव्त्ति दिएको हुँ ।

वारम्वार कति चोटी लडने जति लडे पनि यँहाका शासक वर्ग केही दिन मुडमा देख्दिैनन् । मधेसीको इच्छा अकांक्षालाई नजरअन्दाज गर्नु पनि राष्ट्रिय एकता, अखण्डता एवं राष्ट्रिय हितविपरीत हुन्छ । यसकारण मैले भै गो अब आफनो मधेश लिउँ लेखेको हुँ ।

२. यदी साँचो हो भने अम¥यादित–अराजनीतिक शव्दहरुको अभिव्यक्तिले हाम्रो सिंगो पार्टीको मर्यादामा आँच पुग्दैन रु मधेस टुक्रिन्छ, छुट्टै देश हुन्छ भन्ने अभिव्यक्ति हाम्रो पार्टीको नीति विपरित भएन र ?
मैले विशुद्ध राजनीतिक तथा मर्यादित शब्दहरुको प्रयोग गरी आफ्नो पार्टीको विचार नभई आफ्नो व्यक्तिगत विचार दिएको हो । अभिव्यक्ति स्वतन्त्रता एउटा आधार स्तम्भ हो, जसमाथि लोकतान्त्रिक समाज टिकेको हुन्छ । सार्वजनिक अभिमत निर्माणको लागि यो अनिवार्य छ । यो भन्न सकिन्छ कि जुन दलमा नेताले आफना विचार स्वतन्त्र रुपले राख्न सक्दैनन् त्यो दल वास्तविक रुपमा लोकतान्त्रीक दल होइन । मेरो अभिव्यत्तिले हाम्रो सिंगो पार्टीको मर्यादामा काँहा आँच पुगेको छ, त्यस्को ठोस प्रमाण भए पाँउ । कति ठाउँमा मेरो फेसबुक स्टेटसले हिंसा भडकायो र अराजकता फैलायो त्यसको विवरण भए म सजाय भोग्न तयार छु । लिखित शब्दहरुले जव सांघातिक प्रवृति देखाउँछ वा हिंसा भडकाउँ छ भने त्यो अवस्थामा मात्रै सार्वजनिक व्यवस्थाको पालनाको लागि त्यस्तो कार्य रोक्न हस्तक्षेप गर्न सकिन्छ । नभए म जस्तो पार्टिको सच्चा पहरेदारलाई विना कुनै आधार र प्रमाण विना नै आरोप लगाउन मिल्दैन ।
अभिव्यत्ति स्वतन्त्रताको बिषयमा तब मात्र कारवाही गर्ने कुराको आधार तब प्राप्त हुन्छ, जब त्यस्तो अभिव्यत्ति वा लेखाइले हिंसा भड्काउ छ । मेरो फेसभुक स्टाटस मेरो क्षेत्र र सम्मपूर्ण मधेशको जनताको आक्रोश अभिव्यत्ति हो । यसकारण मैले जनताको भावनानुसार नै जनताको प्रतिनिधिको हैसियतले आफ्ना कुराहरु राखेको हुँ र मेरा कुराहरु पार्टीको नीति र सिद्धान्त विपरीत नभएको व्यहोरा अनुरोध गर्न चाहन्छु ।

३. हाम्रो पार्टीले उठाईरहेको मुद्दाहरुलाई गाइड गर्ने मार्गदर्शक सिद्धान्त, नीति र विचार छ । यसले पार्टीलाई मार्गदर्शन गरी रहेको छ । के तपाईलाई पार्टी नीति, सिद्धान्त र विचार प्रति विश्वास छैन ?
हो, हाम्रो पार्टीले उठाइरहेको मुद्दाहरुलाई गाइड गर्ने मार्गदर्शक सिद्धान्त, नीति र विचार रहेको छ । पार्टीको उक्त मार्गदर्शक सिद्धान्त, नीति र विचारप्रति विश्वास गर्दै पुर्ण रुपमा पालना गर्दै समेत आइरहेको छु । पार्टी पदीय हैसियतमा रही आफ्नो पार्टीको सिद्धान्तको विपरित हुने गरी कुनै पनि कार्य गरेको छैन र गर्ने पनि छैन । साथै प्रत्यक्ष निर्वा्चित जनप्रतिनिधिको हैसियतले मेरा प्राथमिक जिम्मेबारी आफ्नो निर्वाचन क्षेत्रका जनताप्रति रहने व्यहोरा मैले यहाँ उल्लेख गरिरहनु पर्ने छैन ।
मेरो भनाईको तात्पर्य राष्ट्र भन्नाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिगतरुपमा राष्ट्र हो ।
त्यसैले नेपालमा बसोबास गर्ने मधेसी जनता पनि राष्ट्र हो । मधेसीको इच्छा अकांक्षालाई नजरअन्दाज गर्नु भनेको राष्ट्रिय एकता, अखण्डता एवं राष्ट्रिय हितविपरीत हुन्छ । र जव जनताले आफनो देशमा समान मर्यादा र हक अधिकार पाउन सक्दैन, त्यसतो अवस्थामा आत्म निर्णयको अधिकार हुन्छ अथवा आफनो स्वायत्ता घोषणा गर्ने अधिकार राख्दछ । आत्म निर्णयको अधिकार
अधिकारको प्रयोग हो, दुरुपयोग होइन, यो कुरा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्रको धारा १, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी प्रतिज्ञापत्रको धारा १, संयुक्त राष्ट्रसंघीय मानव अधिकारसम्बन्धी घोषणापत्रको धारा २९ तथा मानव अधिकार एवं मौलिक स्वतन्त्रतासम्बन्धी युरोपेली महासन्धिको धारा १७ मा पनि हेर्न सकिन्छ ।

४. तपाईको माथिका अभिव्यक्तिहरु पार्टीको कार्य पद्दति, विधान र नियमावलीको उल्लंघन भएको छ कि छैन रु छ भने तपाई माथि अनुशासनको कार्वाही किन नगर्ने ?
मधेशी जनताको भावना र चाहना अनुरुपको भूमिका संघीय समाजवादी फोरमका हामी जस्ता जिम्मेवार कार्यकर्ताहरुले निर्वाह नगर्दा अरु कसैले मधेशमा अधिपत्य जमाउन सक्छ भन्ने तर्फ म सदैव सचेत रहेको हुनाले नै सो फेसबुक सटयाटस लेखेकु हुँ र पार्टी नेतृत्व पनि यस तथ्यप्रति सदा सचेत एवम् संवेदनशील रहने अपेक्षा गर्दछु ।

यस्तै वास्तविकताका बीच मैले आफ्नो भूमिका निर्वाह गर्दैआएको छु । पार्टीको हितका खातिर समर्पित भूमिका निर्वाह गरिरहेकै अवस्थामा मलाई अस्वाभाविक किसिमले स्पष्टिकरण मागिँदा म स्तब्ध र आश्चर्य चकित भएको छु । साथै मेरो अभिव्यक्तिको कार्य पद्दति, विधान र नियमावलीको उल्लंघन भएको छैन । तसर्थ म माथि अनुशासनको कारवाही गर्ने कुनै प्रश्न नै उठ्दैन ।

प्रस्तुतकर्ता
अभिषेकप्रताप शाह
उप–महासचिव, साँसद
सङ्घीय समाजवादी फोरम, नेपाल

प्रकाशित मिति: Dec 19, 2016

प्रतिक्रिया दिनुहोस्