Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज साँझ निर्णयक बैठक: संविधान संशोधन तयारी !

फाइल तस्विर
फाइल तस्विर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधान संशोधनका विषयमा निर्णायक छलफल गर्न आज साँझ ५ बजे शीर्ष तीन दलको बैठक बोलाएका छन् ।

नेकपा माओवादी केन्द्रका समेत अध्यक्ष रहेका प्रधानमन्त्री प्रचण्डलाई पार्टीको केन्द्रीय कार्यालयको बैठकले संविधान संशोधनको विषयमा छलफल गर्न र निर्णय लिन सम्पूर्ण अधिकार दिएको छ । ‘प्रधानमन्त्रीज्यूले आज पाँच बजे प्रमुख दलका शीर्ष नेताहरुको बेठक बोलाउनु भएको छ,’ माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले जानकारी दिइन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठकमा संविधान संशोधनको विषयमा शीर्ष तीन दलबीच समझदारी खोज्ने प्रयास गरिने बताइएको छ । सहमति जुटाउन आज बैठक बस्ने भनिए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अझै संविधान संशोधनको औचत्यि पुष्टि गर्न सरकारसँग माग गरेको छ ।

हिजो बसेको पार्टीको स्थायी कमिटी बैठकले संविधान संशोधनको औचित्य नरहेको र त्यसको औचित्य पुष्टि नगरी संविधान संशोधन हुन नसक्ने अडान दोहोराएको थियो । यसअघि, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका सचिव वर्षमान पुनले संविधान संशोधनबारे एमालेसँग सहमति भइसकेको दाबी गरेको कुरा पनि बैठकले खण्डन गरेको छ ।

एमालेको पछिल्लो निर्णयलाई हेर्ने हो भने आज सहमति हुने सम्भावना न्युन रहेको छ । यता, प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनको अन्तिम तयारी पूरा गरेका छन् । आजको बैठकमा एमालेसँग सहमति नभए पनि एक–दुई दिनभित्र संशोधन प्रस्ताव व्यवस्थापिका संसद्मा दर्ता गराउने तयारी प्रधानमन्त्रीको रहेको छ । यसअघि मधेसी मोर्चाले प्रधानमन्त्रीलाई संविधान संशोधन प्रस्ताव दर्ता गराउन १५ दिने अल्टिमेटम दिएको थियो ।

प्रकाशित मिति: Nov 21, 2016

प्रतिक्रिया दिनुहोस्