Logo
१२ बैशाख २०८१, बुधबार
(September 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गच्छदारको खुलासा : ‘दाहाल फर्केपछि सरकारमा जान्छौ’

Prachanda-with-gachhadar

एमाले र मधेसी मोर्चाको सहमतिबिना संविधान संशोधन प्रस्ताव गर्न नहुने

काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री दाहालको भारत भ्रमणपछि आफ्नो पार्टी पनि सरकारमा सामेल हुने गच्छदारले खुलासा गरेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणपछि हाम्रो पार्टी सरकारमा सामेल हुनेछ, त्यसका लागि हामीलाई दुईवटा मन्त्रालय छुट्ट्याइसकिएको छ, गच्छदारले भने, दुई जना क्याबिनेट मन्त्री र दुई जना राज्यमन्त्री गरी चार जना सहभागी हुनेछन् ।

ओली सरकारको पालामा प्राप्त भौतिक योजना तथा निर्माण मन्त्रालय र स्वास्थ्य मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरे पनि कुन–कुन मन्त्रालयको जिम्मेवारी लिने भने अझै टुंगो नलागेको उनले जनाए ।  दाहाल फर्केपछि मधेसी मोर्चाका केही दल सरकारमा सहभागी हुने जनाए पनि उनले कुनकुन भन्ने खुलाएनन् । आफ्नो पार्टी गच्छदारले आफनो पार्टी बिभाजनमा हुन लागेको भन्ने प्रचारबाजी भएकोमा दुःख व्यक्त गरेका छन् ।

पार्टी विभाजन हुन लागेको भनेर निकै प्रचारबाजी भइरहेको छ, यथार्थमा त्यो होइन, गच्छदारले भने, पार्टी सरकारमा जानेछ तर त्यसका लागि सम्मानजनक उपस्थिति मात्र खोजिरहेका छौं। उपाध्यक्ष जितेन्द्र देवले पार्टी विभाजन गराउने भनेर बाहिरबाट धम्की दिएको प्रति दुःख व्यक्त गर्दै गच्छदारले संसदीय दलको बैठक बोलाएर स्पष्ट हुने बताए । केही दिनमा संसदीय दलको बैठक बोलाएर जितेन्द्रजीसँग स्पष्ट हुने कोशिस गर्दै छु, गच्छदारले भने, पार्टी नीतिविपरीत बोल्दै हिँड्ने अधिकार देवजीलाई कसले दियो, सोध्नेछु ।

गच्छदारले प्रमुख प्रतिपक्ष नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सहमतिबिना संविधान संशोधन प्रस्ताव गर्न नहुने बताएका छन् । भदौ ३० गते भारत भ्रमण जानुअघि नै संविधान संशोधनको भित्री तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्ता सहयोगी दल नेपाली कांग्रेस लागिरहेका बेला गच्छदारको फरक भनाइ आएको हो । दैनिक अखवार नागरिकसँगको कुराकानीमा गच्छदारले दुवै पक्षसँग सहमति गरेर मात्र संविधान संशोधन प्रक्रिया अगाडि बढाउँदा मात्र देशको भलो हुने बताएका हुन ।

प्रधानमन्त्री भारत भ्रमणअघि नै संविधान संशोधन प्रस्ताव दर्ता गराउने तयारीमा हुनुहुन्छ, माओवादी केन्द्र र कांग्रेसले मात्रै त्यसो गरे मुलुक द्वन्द्वमा जानेछ, गच्छदारले भने, एमाले र मधेसी मोर्चा दुवैलाई साथ लिएर मात्र संविधान संशोधन प्रक्रिया अगाडि बढाउनुपर्छ । त्यसनिम्ति प्रधानमन्त्री दाहालले नै इच्छाशक्ति लिएर एमाले र मधेसी मोर्चासँग पहलकदमी लिनुपर्ने उनको सुझाव छ।

संविधान संशोधन अजेन्डामा मधेसी मोर्चा र गठबन्धनभित्र पनि एकमतले सहमति हुन नसक्ने ठोकुवा उनले गरे। मधेसी मोर्चाभित्र होस् वा गठबन्धन नै किन नहोस्, त्यहाँ संविधान संशोधनका लागि एकमतले सहमति हुने सम्भावना म देख्दिनँ,गच्छदारले भने, सबैका लागि उपयुक्त विकल्पका रुपमा मैले समग्रमा आठ प्रदेश र तराईका भूभागलाई तीन प्रदेशमा सीमित गरौं भनेर प्रस्ताव गर्दै आएको हुँ ।

गच्छदारका अनुसार प्रधानमन्त्री दाहाल र नेपाली कांग्रेसले संसद्भित्रको संख्याका आधारमा संविधान संशोधन खेलमा लाग्न नहुने पनि प्रस्ट्याएका छन् । संशोधनका लागि ३ सय ९८ मत चाहिन्छ, अहिले प्रचण्डजीलाई ३ सय ६३ मतको समर्थन छ, त्यसमा ३५ मत अझै पुग्दैन, गच्छदारले भने, संख्याका हिसाबले पनि संशोधन हुन सक्दैन, झन् संविधानजस्तो विषयलाई संख्याका आधारमा संशोधन गर्ने भूल गर्नै हुँदैन।

गच्छदारले मुख्यतः कांग्रेस, एमाले, माओवादी केन्द्र र आफ्नो पार्टीबीच सहमतिको आवश्यकता अझै रहेकोमा जोड गरे। चार दल एक हँदा मुलुकमा परिवर्तन संस्थागत भएकोमा जोड गर्दै एमालेलाई निषेध गरेर बढ्न नहुने उनको भनाइ छ। एमालेलाई निषेध गरेर मुलुकको राजनीति अघि बढ्दैन, उसलाई पनि साथसाथै लैजानुपर्छ भनेर मैले भन्दै आएको छु, गच्छदारले भने । आफू र आफ्नो पार्टी संविधान निर्माण नेतृत्वकर्ता चार दललाई मिलाउन अझै लागिपरेको उनले जानकारी दिए ।

प्रकाशित मिति: Sep 8, 2016

प्रतिक्रिया दिनुहोस्