Logo
१५ चैत्र २०८०, बिहीबार
(August 31, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ज्याउल हक  मदरसाको भ्रष्टचारबारे छानबिन 

Sunsari Madrsa News

सुनसरी । सुनसरीको चाँदबेला गाबिस स्थित ज्याउल हक प्राथमिक विद्यालय (मदरसा) मा नक्कली व्यवस्थापन समितिले बिद्यालयको बजेट हिनामिना गरेको बिषयमा जिल्ला शिक्षा कार्यालय सुनसरीले छानबिन शुरु गरेको छ । जमिल मियाँ अध्यक्ष रहेको व्यवस्थापन समितिको मासिक बैठक नबसेको मौका उठाउदै युनिस मियाँले नक्कली समिति बनाएर ०७१–०७२ को शिक्षा कार्यालय मार्फत आउने करिब २३ लाख रुपयौ बजेट गायब बनाएको आरोप छ । युनिस जमिल मियाँको व्यवस्थापन समितिका सचिव हुन् ।

युनिसले बजेट पास गराउनको लागी समितिका अन्य सदस्यहरुको किर्ते सही बनाएको माईनुट बुक जिल्ला शिक्षा कार्यालयलाई बुझाएका थिए । सोही बिषयमा बिद्यालयका अभिभावक तथा पुरानो व्यवस्थापन समितिका पदाधिकारीले जिल्ला शिक्षा कार्यालयलाई छानबिनको लागी निवेदन दिएका थिए । छानबिन टोलीमा बिद्यालय निरीक्षक दुगेन्द्र न्यौपाने र स्रोत व्यक्ति यज्ञ प्रसाद ढकाल रहेका छन । छानबिन टोलीले बिद्यालयका प्रअ कुरचलाल चौधरी मार्फत बिद्यालयमा भएको बजेट हिनामिना र बिद्यालयको अवस्थाको बारेमा छानबिन गरेको छ ।

जिल्ला शिक्षा कार्यालय सुनसरीमा परेको निवेदनमा युनिस मियाँले बिद्यालयको छात्रबृति, पोसाक, शिक्षक तलब र बिद्यालयको अन्य खर्चमा फर्जी बिवरण पेश गरेको दाबी छ । एक महिना देखी बिद्यालयमा देखिएको यो बिवादले अहिले बिद्यालय समेत नियमित संञ्चालन हुन सकेको छैन । अबिभावकहरुले छोराछोरी नपठाएपछि बिद्यालय दुई तीन जना बिद्यार्थीको भरमा संञ्चालन हुने गरेको छ ।बिद्यालयमा भएको आर्थिक हिनामिनाको बिषयमा शिक्षा कार्यालयमा निवेदन दिएपछि युनिस तथा उनको समर्थक युवाहरुले गाँउमा अन्य व्यक्तिहरुलाई डर धम्की समेत दिने गरेको पाईएको छ ।

युनिस तथा उनका युवाहरुले गाँउमा आतंक मञ्चाउने गरेको र केही घटना हुन सक्ने भन्दै स्थानियहरुले जिल्ला प्रशासन कार्यालयमा शान्ति सुरक्षाको लागी निवेदन समेत दिएको स्थानीय समसुल मियाँले गुनासो पोखे । यता जिल्ला शिक्षा कार्यालय सुनसरीले पनि बिद्यालयको बजेटमा देखिएको हिनामिनाको बिषयमा गम्भीर चासो लिएको छ । युनिस मियाँले बिद्यालयको बजेट निकासाको लागी पठाएको आबश्यक कागजाज उनीसँग माग्दा सम्पर्कमा नआएको बिद्यालय निरीक्षक दुगेन्द्र न्यौपानेले बताए ।

यदी युनिसले दुई बर्षको बजेट हिनामिना गरेको पाईएमा भ्रष्टचारको मुद्दा सगै हिनामिना गरेको रकम भरपाई गर्नुको साथै जेल जाने सम्मको कानुनी प्रबधान रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । युनिसले सक्कली कागजात दिन अटेर गरेपछि उनी माथि शंका बढेको बताउदै न्यौपानेले छानबिनको रिर्पाेट जिल्ला शिक्षा अधिकारीलाई बुझाएपछि उनलाई पत्र काटेर प्रशासन समक्ष उपस्थित गराउने बताए । छानबिन समितिले तत्कालै रिर्पाेट बुझाएर युनिसलाई छानबिनको दायरामा ल्याउने बताएको छ ।

प्रकाशित मिति: Aug 31, 2016

प्रतिक्रिया दिनुहोस्