Logo
१३ बैशाख २०८१, बिहीबार
(September 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहिदमा १६ जनाको नाम छुटेको भन्दै मोर्चाले औपचारिक रूपमै असहमति राख्ने !

madhesi-Morcha

काठमाडौं ।  सरकारले घोषणा गरेको सहिदको सूचीमा १६ जनाको नाम छुटेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले  औपचारिक रूपमै असहमति राख्ने निर्णय गरेको छ । तमलोपा मुख्यालय बिजुलीबजारमा सोमबार बसेको मोर्चा सचिवालय बैठकले आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ताबारे सरकारी पक्ष इमानदार नभएको समेत निष्कर्ष निकालेको छ ।

सरकारले प्रहरकिो गोली लागी मृत्यु भएकालाई मात्र सहित घोषणा गरेपनि मोर्चाले भने आन्दोलनका क्रममा मरेका सबैलाई सहिद घोषणा गर्नुपर्ने माग गर्दे आएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री चुनिएको पर्सिपल्ट भएको वार्तामा सरकार र मोर्चा दुवै पक्षबाट मृतकको नामावली तयार गर्ने निर्णय भएअनुसार मोर्चाले गत वर्षको मधेस–थरुहट लगायतका आन्दोलनमा मारिएका सर्वसाधारण, कार्यकर्ता र सुरक्षाकर्मी गरी ६८ जनाको नाम गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको थियो । तीमध्ये ५२ जनालाई मात्रै सरकारले सहिद घोषणा गरेको थियो ।

मोर्चाले भने मारिएकामध्ये कतिपयको नामावली र विवरण नमिलेको जनाएको छ । यस विषयमा बुधबार अपराहन बिजुलीबजारमा मोर्चाको बैठक बस्दैछ । संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले सहिद सूची, मुद्दा फिर्तालगायत विषयमा मोर्चाको गम्भीर असहमति रहेकाले सत्तारूढ दलसँग छलफल गर्न लागेको बताए ।

फोरम अध्यक्ष यादवले आयोगका गतिविधिको कुनै अर्थ नरहेकाले राजनीतिक सहमति नहुन्जेल आयोग खारेज गरिनुपर्ने माग गरे । ‘आयोग अहिले खारेज गरिदिए हुन्छ, नत्र त्यसले राजनीतिक अस्थिरता ल्याउनेबाहेक अरू कुनै काम गर्दैन,’ उनले भने । तराई–मधेसको सीमांकन हेरफेर आफ्नो आन्दोलनको मुख्य माग भएकाले त्यसको सम्बोधन नभई हुने स्थानीय निकाय पुन:संरचना अस्वीकार गर्ने र त्यसका आधारमा हुने स्थानीय चुनावसमेत मधेसमा हुन नदिने मोर्चाको निर्णय छ ।

मोर्चा सचिवालय बैठकको निर्णय सुनाउँदै रामसपा महासचिव केशव झाले सीमांकन हेरफेरबिना स्थानीय तह पुन:संरचनाको मधेसी समुदायमा अर्थ नहुने मोर्चाको ठहर रहेको बताए । मोर्चाले संविधान जारी भएको वर्षगाँठ असोज ३ लाई मधेसमा कालो दिवसका रूपमा मनाउने योजना बनाएको छ ।  मोर्चा सचिवालय बैठकले स्थानीय तह पुन:संरचना आयोगका सबै काम तत्काल रोक्नसमेत माग गरेको छ ।

प्रकाशित मिति: Aug 24, 2016

प्रतिक्रिया दिनुहोस्