Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोदन र आक्रोश: सहिद लिष्टबाट हराए १४ जना आन्दोलनकारी !

स्व.रामेश्वर पासीकी श्रीमति र सासु ।
स्व.रामेश्वर पासीकी श्रीमति र सासु ।

काठमाडौं ३ भदौ । तेस्रो मधेश आन्दोलनसहितका क्रममा मारिएका १४ जनालाई सरकारले सहिदको सुचीमा समावेश गरेको छैन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बुझाएका मध्ये १३ जना र एक जना थारुलाई सहिद सुचीमा राखिएको छैन । मोर्चाद्वारा प्रस्तुत गरिएका मध्ये सहिद सुचीमा नपरेका सिमरौनगढ आन्दोलनका एक जना र रौतहट सेवा केन्द्र विस्तारको विरोधमा भएका आन्दोलनका दुई जनासमेत रहेको छ । त्यसबेला स्थानीय प्रशासनले सहिद घोषणा गर्ने र उचित क्षतिपुर्ति दिने सहमति गरेको थियो ।

तेस्रो मधेश आन्दोलनको क्रममा मारिएका र सहिद सुचीमा नराखिएकोहरु सप्तरीमा २०७२ मंसिर ५ गते मारिएका शिवशंकर दास र सप्तरीमै २०७२ आश्विन १४ गते मारिएका बालकृष्ण राय रहेका छन् । त्यस्तै, धनुषामा २०७२ आश्विन २४ गते मारिएका रोशन ठाकुर रहेका छन् । त्यस्तै सर्लाहीका २०७२ मंसिर १७ गते मारिएकी राधिका देवी कथबनिया र आश्विन १४ गते मारिएका उमेश कापड सहिद लिष्टमा परेका छैनन् ।

त्यस्तै, पर्सामा २०७२ कार्तिक १६ गते मारिएका आशिष कुमार रामलाई सहिद सुचीमा राखिएको छैन । त्यस्तै, रुपन्देहीमा २०७२ भदौ ५ गते मारिएका सुनील यादव, ३ गते मारिएका रामेश्वर पासी, र ७ गते मृत्यु भएका शैलेन्द्र श्रीवास्तव सहिद सुचीमा परेका छैनन् । त्यस्तै २०७२ मै मधेश–थरुहट आन्दोलनमा मृत्यु भएका चिन्कु गडौरा थारु र टिकापुर घटना पछि सुरक्षाकर्मीद्वारा मारिएका साकीराम चौधरी‘ड्राईभर’लाई पनि सहिद सुचीमा राखिएको छैन ।

यता मधेशी मोर्चाले सहिद सुचीमा समावेश गर्न माग गरेका सेवा केन्द्र विस्तारका क्रममा रौतहटमा २०७२ साउन २१ गते मारिएका विद्यानन्द राय यादव र २०७१ चैत २३ गते मारिएका रामअशिष ठाकुरलाई पनि सहिद सुचीमा राखिएको छैन । त्यस्तै सिमरौनगढ आन्दोलनमा बारामा २०७१आश्विन २५ गते मारिएका जयनारायण पटेललाई पनि सहिद सुचीमा समावेश गरिएको छैन ।

रौतहट र सिमरौनगढमा मारिएकाहरुलाई सहिद घोषणा गर्ने सहमति स्थानीय प्रशासनले गरेको मधेशी मोर्चाको दाबी रहेको छ । रुपन्देहीको डण्डी पुलमा आन्दोलनकारी र गैरमधेशीबीच भएको झडपमा घाइते भएका दुर्गेस यादवलाई एम्बुलेन्समा ल्याउँदै गर्दा भैरहवामा प्रहरीले एम्बुलेन्सबाट थुतेर कुटपिट गर्दै अस्पताल लग्नमा अवरोध गरेका थिए । त्यसपछि यादवको मृत्यु भएको थियो ।

स्व. सुनिल यादवका आमा
स्व. सुनिल यादवका आमा

मधेश आन्दोलनमा मारिएका ५२ जनालाई विहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणा गरे पनि चार जनालाई लिष्टबाट हटाइएको छ । ११ जना प्रहरी र सुर्खेत आन्दोलनसहितका गरी ४१ जना आन्दोलनकारी सहिद घोषित भएका छन् । प्रहरीद्वारा नै हत्या गरिएका प्रहरी सहिद घोषणा भएपनि आन्दोलनका क्रममा मारिएका चार जनालाई सहिदको लिष्टबाट हटाइएकोमा मधेशी अगुवाहरुले विरोध जनाएका छन् ।

सर्लाहीको नवलपुरमा आयोजित मधेशी मोर्चाको कार्यक्रममा एमाले कार्यकर्ता–चुरेभावर र प्रहरीले हस्तक्षेप गर्दा राधिका देवी साहको मृत्यु भएको थियो । साहको लास उठाउनुभन्दा पहिले सर्लाहीको सीडीयोसँग सहिद घोषणा गर्ने सहमति भएको थियो । तर भदौ दुई गते सार्वजनिक गरिएको सहिद लिष्टबाट साहको नाम हटाइएको छ । त्यस्तै, रुपन्देहीको डण्डी पुलमा गैरमधेशी समुदाय, प्रहरीले आन्दोलनकारीमाथि आक्रमण गर्दा मृत्यु भएका रामेश्वर पासीलाई पनि सहिदको लिष्टबाट हटाइएको छ । पासीको हत्या गरि नदीमा फालिएको केही दिन पछि लास भेटिएको थियो । प्रहरीले उनको पोष्ट मार्टम रिपोर्ट बनाउन नदिएको परिवारजनले बताएका थिए ।

त्यस्तै, आन्दोलनको क्रममा लुम्बिनी क्षेत्रमा आन्दोलनकारीलाई प्रहरीले कुट्दा बचाउन गएका सदभावना पार्टीका युवा नेता शैलेन्द्र श्रीवास्तवको प्रहरी कुटाईबाट मृत्यु भएको थियो । तर श्रीवास्तवलाई पनि सहिद सुचीबाट हटाइएको छ । त्यस्तै, कैलाली टिकापुर घटना पछि आन्दोलनकारीलाई खोज्दै डिडेका नेपाली सेना–सशस्त्र प्रहरीको टोलीले मुक्त कमैया बस्तीमा प्रवेश गरी थारुहरुलाई कुटपिट गरेका थिए ।

सोही क्रममा मुक्त कमैया बस्तीका ड्राईभर भनिने साकिराम चौधरीलाई कुट्दै घिर्सादै नदीको नजिक लगि फालिएको थियो । भोलि विहान उनी मृत अवस्थामा भेटिएका थिए । त्यस क्षेत्रको अवस्था नाजुक भएकोले स्थानीयहरुले चौधरीको गुपचुप दाहासंस्कार गरेका थिए । टिकापुर घटना पछि सुरक्षाकर्मीद्वारा मारिएका चौधरीलाई सहिदको सुचीमा राखिएको छैन । #हुलाकी न्यूजबाट साभार

प्रकाशित मिति: Aug 19, 2016

प्रतिक्रिया दिनुहोस्