Logo
१३ बैशाख २०८१, बिहीबार
(August 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीरगञ्जमा एडीबीको परियोजना समयमा पूरा भएन 

ADV News
वीरगञ्ज । वीरगञ्जमा एसियाली विकास बैङ्क (एडीबी) को मुख्य लगानी रहेको मझौला शहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना (एसटीआईयूईआईपी) निर्धारित समयमा पूरा नभएपछि ठेकेदारलाई करीब १० महीना अवधि थप गरिएको छ । परियोजना शुरू भएसँगै निर्माण सामग्रीको अभाव र मधेश आन्दोलनका कारण ठेकेदारले समयमा काम पूरा गर्न नसकेको भन्दै समय दिइएको हो ।

एडीबीले ढलनिकास, फोहोर व्यवस्थापन र सडक विस्तारको महत्वाकाङ्क्षी योजनासहितको एसटीआईयूईआईपीको जिम्मा चिनियाँ कम्पनी सीटीसीईरकालिका जेभीलाई दिएको थियो । २५ महीनामा काम पूरा गर्ने सम्झौता भएपनि ठेकेदारले उक्त समयमा नसकेपछि एडीबीले समय थपेको परियोजना प्रबन्धक शैलेन्द्र श्रेष्ठले बताए । ‘एडीबीले २ सय ९६ दिन समय थपिदिएको छ । नयाँ समयावधिअनुसार फागुनको अन्तिम साताभित्र काम सक्नुपर्छ’, प्रबन्धक श्रेष्ठले भने ।

सम्झौतामा कार्यादेशको ७ सय ५० दिनभित्र परियोजना पूरा गरिसक्नुपर्ने सर्त थियो । चुरे संरक्षणका लागि ढुङ्गाबालुवा उत्खननमा लगाइएको रोक र वीरगञ्जकेन्द्रित ६ महीने मधेश आन्दोलनको कारण ५ सय १६ दिन काम अवरूद्ध भएको कम्पनीले बताएको छ । परियोजना कार्यान्वयन र सुपरिवेक्षण कार्यालयले ३ सय ४२ दिन थप्न सिफारिश गरेकोमा एडीबीले २ सय ९६ दिन स्वीकृत गरेको परियोजना व्यवस्थापन विशेषज्ञ भूपेन्द्रमान शाक्यले बताए ।

‘ठेकेदारले ५ सय १६ दिन मागेकोमा काबुबाहिरको अवस्थाका कारण काम गर्न नपाएको समय मात्र थप्ने सिफारिस भएको थियो’, शाक्यले भने । अहिले अधिक वर्षाका कारण निर्माणका सबै काम रोकिएको ठेकेदार कम्पनीका वरिष्ठ प्रोजेक्ट म्यानेजर ठाकुर ढकालले बताए । भदौको तेस्रो साताबाट काम सुचारू हुने पनि उनले बताए ।

अहिलेसम्म परियोजनाको ५८ दशमलव ४ प्रतिशत काम सकिएको शाक्यले जानकारी दिए । परियोजना कार्यान्वयन कार्यालयका अनुसार शुरूको १० महीनामा ४० प्रतिशत र मधेश आन्दोलनको बन्द हड्ताल खुलेयता १८ दशमलव ४ प्रतिशत काम सम्पन्न भइसकेको छ ।  २०७१ वैशाखमा ठेक्का दिइएको थियो । २०७३ जेठमा परियोजना पूरा भइसक्नुपर्नेमा शुरूमै वीरगञ्ज उपमहानगरपालिकाले काम गर्ने स्थान दिन नसक्नु, निर्माण सामग्रीको अभाव र बन्दहड्तालका कारणले काम अवरूद्ध भएको कार्यकारी अधिकृत विष्णु कोइरालाले बताए । उनले आफू सरूवा भएर वीरगञ्ज आएपछि मात्र ठेकेदारलाई काम गर्ने ‘साइट’उपलब्ध भएको दाबी गरे ।

प्रकाशित मिति: Aug 13, 2016

प्रतिक्रिया दिनुहोस्