Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको नयाँ नक्सा र निसान प्रमाणीकरण : आजै सार्वजनिक गरिने

संघीय सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा र निसान छाप प्रमाणीकरण गरेका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेको प्रस्तावअनुसार मुख्य सचिव रेग्मी मंगलबार लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई दार्चुला जिल्लाको व्यास गाउँपालिकामा समेटेर नक्सा प्रमाणीकरण गरेका हुन् ।

सचिव न्यौपानेले मंगलबार नयाँ नक्सा प्रमाणीकरणका लागि मन्त्रालयबाठ टिप्पणी उठाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फाइल पेस गरेका थिए ।

प्रमाणित नयाँ नक्सा बुधबार भूमि व्यवस्था मन्त्रालयले सार्वजनिक गर्न लागेको उच्च स्रोतले बतायो ।

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ ।

अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ ।

नक्सा सार्वजनिक गरेसँगै देशभर यसैलाई प्रयोगमा ल्याउने गरी आवश्यक कामकारबाहीसमेत अगाडि बढाइएको स्रोतले बतायो ।

मंगलबार संघीय संसद्का दुवै सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेका भूमि फिर्ता ल्याएरै छाड्ने बताएका थिए ।

त्यसअघि जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको अभिन्न अंग भन्दै फिर्ता गरिने घोषणा गरेकी थिइन् ।

प्रकाशित मिति: May 20, 2020

प्रतिक्रिया दिनुहोस्