Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीमावर्ती आदानप्रदान : भारतमा रहेका नेपालीलाई ल्याइयो, नेपालमा रहेका भारतीयलाई पठाइयो

प्रदेश ५ स्थित सीमावर्ती भारतीय शहरका क्वारेन्टाइनमा रहेका नेपालीलाई नेपाल ल्याइएको छ। यस्तै भारतीय क्वारेन्टाइनमा रहेका नेपालीलाई ल्याउदा बाँकेका विभिन्‍न क्वारेन्टाइनमा रहेका भारतीय नागरिकलाई पठाइएको छ।

भारतको नानपारा आसपासका रहेका सात सय बढी नेपालीलाई भित्र्याइएको छ। नेपालगञ्जमा बिहीबार साँझ भित्र्याइएका नेपालीको नाम, ठेगाना टिपिएको छ।

लागत संकलनपछि उनीहरुलाई सम्बन्धित जिल्लामा पठाउने अधिकारीहरुले बताएका छन्। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भारतका क्वारेन्टाइनमा रहेका नेपालीलाई भित्र्याउन शुरु गरेको जानकारी दिए।

भारतको क्वारेन्टाइनमा कति नेपाली छन् भन्ने यकिन छैन। प्रमुख जिल्ला अधिकारी खड्काले सबैलाई नेपाल ल्याएपछि कति छन् भन्ने थाहा हुने बताए ।

भारतको क्वारेन्टाइनमा रहेकालाई नेपालगञ्जमा ल्याउने र जुन जिल्लाका हुन् त्यही पठाएर क्वारेन्टाइनमा राख्ने रणनीति बनाइएको छ।बाँकेको हकमा जुन पालिकाको हुन् त्यही पठाएर क्वारेन्टाइनमा राख्ने तयारी भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले नेपालगञ्ज नाकामा आइपुगेका नेपालीको लागत लिने र जुन पालिकाका हुन्छन्, त्यहीबाट गाडी मगाएर त्यहाँ लगी क्वारेन्टाइनमा राखिने जानकारी दिए।

भारतीय क्वारेन्टाइनमा रहेका तथा नरहेका नेपालीहरु धमाधम छोटी नाकाबाट भित्रिरहेपछि स्थानीय प्रशासनले पहिलो चरणमा क्वारेन्टाइनमा रहेका व्यक्तिलाई सोझो बाटोबाट भित्र्याएर क्वारेन्टाइनमा राख्ने नीति लिएको हो।

भारतबाट नेपालीलाई ल्याउदा बाँकेका विभिन्न क्वारेन्टाइनमा रहेका भारतीयलाई पठाइएको छ । जिल्लाको हवल्दारपुरस्थित राम मावि, नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसलगायतमा रहेका डेढ सय बढी भारतीयलाई पठाइएको छ ।

पछिल्लो तीन दिनमा छोटी नाकाबाट तीन सय जना नेपाली भित्रिएपछि स्थानीय प्रशासनले सोझो बाटोबाट ल्याउने र क्वारेन्टाइनमा राख्ने नीति अघि बढाएको हो।

प्रकाशित मिति: May 14, 2020

प्रतिक्रिया दिनुहोस्