Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडक समेत पसल तथा कलकारखानाहरु पूर्ण बन्द गर्ने निर्णय

उपत्यका स्थित दुईजनामा कोरोना पोजेटिभ देखिएपछि भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले सडक समेत शिल गर्ने भएको छ ।

उच्च सतर्कता अपनाउँदै मुख्य दुईवटा सडकबाहेक सबै सडक बन्द गर्ने भएको हो ।

नगरपालिकालको आज आकस्मिकरुपमा बसेको कार्यपालिका बैठकले लकडाउनलाई कडाइ गर्नुका साथै सडक, पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अरनिको राजमार्ग खण्ड र पेप्सिकोला सानोठिमी हुँदै भक्तपुर जाने सडकबाहेक नगरपालिकाभित्रका अन्य सम्पूर्ण सडक बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

मध्यपुरथिमि नगरपालिकाभित्रका घरधनीलाई बाहिर जिल्लाबाट आएका कोही पनि व्यक्तिलाई बस्न नदिन निर्देशन जारी गरेको बताउँदै उनले कोरोना परीक्षण नगरी बसेका व्यक्तिमा पछि कोरोना भएको पुष्टि भएमा घरधनीलाई कारवाही गर्ने नगरपालिकाले निर्णय गरेको छ ।

नगरपालिकाले लकडाउनलाई कडा गर्ने बताउँदै बिहान ९ बजेसम्म मात्रै तरकारी बजार खोल्न पाउने, खाद्यान्न, औषधि, ग्यास, पानीजस्ता अत्यावश्यकबाहेकका सम्पूर्ण पसल बन्द गरिने बताए ।

मासु, भट्टी, चियाखाजा पसल, फुटपाथ पसल पनि बन्द गराइने भएको छ । अत्यावश्यकबाहेक अन्य पसल खोलेमा कारवाही गरिने भएको छ ।

लकडाउनलाई पूर्णरुपमा कार्यान्वयन गराउन प्रहरीको साथै नगरपालिकाले १२५ जना स्वयंसेवक खटाउने भएको छ ।

परिचालन हुने स्वयंसेवकलाई प्रशासनको समन्वयमा नगरपालिकाले उपलब्ध गराएको पोशाक लगाएर परिचालन गरिने भएको छ ।

यही २९ गते सुनसरीबाट आएर मध्यपुरथिमि नगरपालिका शङ्खधर चोकस्थित साथीको कोठामा बसेकी एक २५ वर्षीया महिलालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका करिब २० घरलाई प्रहरीले सिल गरेपछि नगरपालिकाले कडा निर्णय लिएको हो ।

ललितपुरको निदान अस्पतालमा कार्यरत नर्सलाई कोरोना सङ्क्रमण भएपछि मङ्गलबारबाटै टेकुस्थित आइसोलेन वार्डमा भर्ना गरिएको छ ।

थिमि शङ्खधर चोकमै बस्ने उनकी साथी शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कार्यरत एक नर्सको भने भक्तपुर अस्पतालमा आज स्वाब सङ्कलन गरी परीक्षणका लागि टेकु अस्पताल पठाएर सोही अस्पतालको आइसोलेसनमा राखिएको छ ।

भक्तपुर कै चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्ने सशस्त्र प्रहरी बलका एक प्रहरीलाई पनि कोरोना सङ्क्रमण भएको पाइएको थियो । उनको पनि टेकु अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: May 13, 2020

प्रतिक्रिया दिनुहोस्