Logo
२० चैत २०७६, बिहिबार
(March 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निजी अस्पतालहरुको गैरजिम्मेवारीपूर्ण ब्यवहार : उपचार हैन उपेक्षा बढी, दबाबमा सरकारी अस्पताल

सरकारले कोभिड–१९ को शंकास्पद बिरामीको उपचार गर्दा अन्य बिरामीलाई असर नपर्ने दाबी गरिरहेका बेला निजी अस्पतालहरुले परीक्षण नै नगरी कोभिड-१९ सँग लक्षण मिलेको भन्दै गैरजिम्मेवारीपूर्ण तरिकाले जबरजस्ती डिस्चार्ज गर्न थालेका छन्।

कतिपय बिरामीलाई भर्ना भएपछि डिस्चार्ज गर्न थालिएको छ। कतिपयलाई ढोकाबाटै पन्छाउन थालिएको छ। यो काम उपत्यकाका अस्पतालमा मात्रै सिमित छैन। बाहिरका अस्पतालले पनि दोहोर्‍याउन थालेका छन्।

संकटका बेला सरकारलाई साथ दिने वाचा गरेका निजी अस्पतालहरुले कोभिड-१९ को परीक्षण बिनै आशंकित बिरामीलाई डिस्चार्जसँगै र बाहिरैबाट धपाउन थालेका हुन्।

त्यसबाट सम्बन्धित बिरामी र उनीहरुका आफन्तमा मात्रै होइन कोभिड-१९ उपचारका लागि निर्धारित अस्पतालहरुमाथि पनि अनावश्यक दबाब, तनाव र बोझ बढेको छ।

निजी अस्पतालबाट निकालिएपछि सरकारी अस्पतालमा आईसीयु नपाउँदा बिरामीको ज्यानसमेत धरापमा परेको छ।

एक मरणासन्न बिरामीको यस्तो कठिन अस्पताल यात्रा
हेटौँडाका सुमन बिष्टले आफ्ना ६६ वर्षीय बुवा केदार बिष्टलाई हातको दुखाइसँगै ज्वरो र रक्तचाप बढेपछि हेटौँडा अस्पताल (सरकारी) पुर्‍याए, ६ दिनअघि। अस्पतालले बिष्टलाई सिधै भरतपुरको पुरानो मेडिकल कलेज ‘रेफर’ गर्‍यो।

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा अस्पतालबाट कोही पनि बिरामी ‘रेफर’ नहुने गरी सेवा सुविधा बढाएको पटक-पटक दाबी गरिरहेका बेला केदारको भोगाई ठीक उल्टो थियो।

भरतपुरको पुरानो मेडिकल कलेजमा भर्ना भएको तेस्रो दिनसम्म पनि केदारको ज्वरो घटेन। ‘माइल्ड निमोनियो’ देखायो उनको रिपोर्टले।

हड्डी र नसाको जाँच गर्न बाँकी नै रहेका बेला कलेजका चिकित्सकले केदारलाई कोभिड-१९ को आशंका गरे तर आफ्नो अस्पतालमा त्यसको परीक्षण र उपचार दुवै नहुने भन्दै लाचारीपन प्रस्तुत गरे।

केदार जबरजस्ती अस्पतालबाट ‘डिस्चार्ज’ भए। भरतपुरमै कोभिड-१९ को उपचारका लागि भन्दै हालै तीन दिनमै तयार गरिएको भनी प्रचारित अस्थायी अस्पतालको शरणमा पुग्यो, केदारको परिवार।

तर भरतपुर महानगरपालिकाका मेयर लगायत सबैले कोभिड-१९ उपचार हुने भनी प्रचार गरेको उक्त अस्पतालले केदारलाई आइसीयु नभएको भन्दै भर्ना गरेन।

कोभिड-१९ शंस्कास्पद बिरामीको परीक्षण र उपचारका लागि सबै किसिमको उपचार गर्न सक्षम भन्दै प्रचारबाजी गरेको उक्त अस्पतालले केदारलाई भर्ना गरेन।

सुमनले गुनासो गरे, ‘कोरोनाको उपचार गर्ने अस्पतालका चिकित्सकले आफूहरुसँग आईसीयु सेवा सञ्चालन गर्न बाँकी नै रहेको भन्दै टेकु जानुहोस् भने।’

केदारलाई रातारात एम्बुलेन्समा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ल्याइयो। टेकुका चिकित्सकले केदारलाई कोभिड-१९ नभएको र आफ्नो अस्पतालमा संक्रमणको जोखिम हुने भएकाले पाटन या वीर अस्पतालमा लगेर आईसीयुमा भर्ना गर्न सुझाए।

केदारलाई तत्कालै पाटन अस्पताल पुर्‍याइयो। पाटनले आफूसँग आईसियु खाली नभएको भन्यो। केदारको परिवारले वीरसँगै शिक्षण अस्पतालमा सम्पर्क गर्‍यो। वीर र शिक्षणले पनि पाटनको जस्तै जवाफ दिए,‘आईसीयु खाली छैन।’

त्यसपछि सुमनले निजी अस्पतालका नम्बरहरु डायल गर्न थाले। कोटेश्वरस्थित कान्तिपुर अस्पतालले भन्यो, ‘आइसीयुमा राख्ने पैसा छ ?’ सुमनले भने, ‘पैसा जसरी पनि जुटाउँछु। बुवालाई भर्ना गरिदिनुहोस्।’

केदारलाई कान्तिपुर अस्पताल पुर्‍याइयो। आईसीयुमा राख्ने तयारी भइरहेका बेला एक सिनियर चिकित्सक आएर केदारको एक्सरे हेरे। र उनले भने, ‘हामी तपाईको बिरामीलाई भर्ना गर्न सक्दैनौँ। तपाईको बिरामीलाई भर्ना गरेपछि भोलिबाट हाम्रो अस्पतालमा ताल्चा लगाउनुपर्छ।’

सुमनले बुवा केदारलाई एक रात मात्रै राखिदिन गरेको आग्रह खेर गयो। त्यसपछि केदारलाई त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल पुर्‍याइयो। ब्लुक्रस अस्पतालले आकस्मिक कक्ष छिर्न दिएन।

अस्पतालका चिकित्सकले भने, ‘बिरामीलाई कोरानाको शंका गरिएको छ। त्यस्तै खबर आएको छ। हामी भर्ना गर्दैनौँ। अन्तै लैजानुहोस्।’ त्यसपछि किष्ट अस्पतालमा पुर्‍याइयो केदारलाई।

लामो अनुनयपछि केदारलाई किष्ट अस्पतालले भर्ना गर्‍यो। तर केदारको रिपोर्ट हेरिरहेका किष्टका चिकित्सकले टेकु गएर कोरोना भए/नभएको पुष्टी गरेको ‘पेपर’ ल्याउन आग्रह गरे। साथै कोरोना परीक्षणका लागि ‘किट’ भए मागेर ल्याउनु भने।

केदारको सबै रिपोर्ट बोकेर सुमन टेकु पुगे। टेकुका चिकित्सकले फेरि लेखिदिए, ‘केदारलाई कोरोना छैन।’ त्यो पेपर बोकेर सुमन किष्ट पुगे। केदारको नमूना संकलन गरेर टेकुस्थि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउन बल्ल तयार भएको छ किष्ट।

सुमनले भने, ‘कोरोनाको रिपोर्ट नआएसम्म अस्पतालले बुवालाई निकाल्न नपाउने भन्दै झगडा गरे। अन्तत: बुवाको उपचार गराउन सफल भए उनी हालका लागि।’

अक्सिजन प्लान्ट छैन, धेरै गम्भीर बिरामी आए के गर्ने? योसँगै बिष्ट परिवारलाई अर्को तनाव थपिएको छ, ‘केदारलाई कोरोना पुष्टि भएमा उपचारका लागि कहाँ लैजाने ? पटक–पटक धाउँदा टेकुको पीडादायी अवस्था बुझिसकेका छन् सुमनले।

सुमनले चिकित्सकको प्रतिक्षा गरिरहँदा किष्टको ढोकाबाटै फर्काइएका ज्वरोले निस्लोट एक बिरामी (भारतीय नागरिक) बिक्की कुमारलाई एम्बुलेन्समा हालेर टेकु ल्याइयो। बिक्कीका आफन्त सरोजले साहले भने, ‘हामीलाई किष्टको ढोकाबाटै धपाइयो ज्वरो आएको भन्नासाथ।’

ज्वरो आएको भरमा निजी अस्पतालले बिरामीलाई भर्ना गर्न नमान्नु अमानवीय र दुःखदायी भएको बताउँछन् सरकारी चिकित्सक।

निजी अस्पतालले ‘आइसोलेसन वार्ड’ किन बनाएनन्?’ सरकारी अस्पतालमा अक्सर उठ्ने प्रश्न हो यो।  अस्पतालका प्रवक्ता एवं प्रमुख कन्सल्ट्यान्ट ट्रपिकल मेडिसिन डा. अनुप बास्तोलाले भने, ‘अहिलेको मौसम ज्वरो आउने, रुघाखोकी लाग्ने पनि हो। सबैलाई कोभिड-१९ को शंका गर्न हुन्न।’

निजी अस्पतालले कोभिड-१९ को आशंकमा आफूहरुसँग समन्वयनै नगरी धमाधम बिरामीलाई टेकु पठाउँदा उपचारका चर्को दबाबमा परेको अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए।

डा. राजभण्डारीका अनुसार कोभिड-१९ को आशंकामा निजी अस्पतालले क्षयरोगका बिरामीलाई पनि टेकु पठाएका छन्। टेकुमा कोभिड-१९ पुष्टि भएका बिरामीको उपचारका लागि भन्दै मुस्किलले २५ वटा ‘आइसोलेटेड’ बेड निर्माण गरिएको छ।

हाल एक कोभिड-१९ संक्रमित एक युवती र शंकास्पद १५ जना उक्त अस्पतालमा उपचारार्थ छन्। बाँकी ९ वटा बेड ‘ब्याकअपमा’ राखिएको छ। अस्पतालमा जम्मा ३ वटा आइसीयु बेड छन्।

सरकारको पछिल्लो निर्णय कार्यान्वयका क्रममा २० वटा आइसीयु बेड निर्माण गर्न अस्पतालका भवनका भित्ता फोडिँदै छ, बल्ल।

दैनिक ६० भन्दा बढी बिरामी टेकु ‘रेफर’
डा. राजभण्डारीका अनुसार निजी अस्पतालहरुले दैनिक कोभिड-१९ को आशंकामा ६० भन्दा बढी बिरामीलाई टेकु पठाइरहेका छन्। डा. राजभण्डारीले भने, ‘निजी अस्पतालले क्षयरोगका बिरामीलाई पनि आफूहरुले उपचार नगरी यहाँ पठाएका छन्।

क्षयरोगका बिरामीको उपचार गर्दा उनीहरुलाई खासै नाफा पनि हुन्न।अघिपछि बिरामी तानातान गर्ने अहिले बिरामी निकाल्ने? निजी अस्पतालमा यस्ता बिरामीको उपचार गर्नु पर्‍यो भने चिकित्सक भाग्छन्।’

देशको एकमात्रै सरुवा रोगको उपचार गर्ने सरकारी अस्पतालमा ‘अक्सिजन जेनेरेटर प्लान्ट’ छैन। डा. राजभण्डारीले भने, ‘कोभिड-१९ का गम्भीर बिरामी आए भने आइसीयुमा राख्नुपर्छ। उनीहरुलाई भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ।

अहिले हामीले अक्सिजन सिलिन्डर बोकेर काम चलाइरहेका छौँ। एकैपटक ५/६ वटा भेन्टिलेटर मेसिन चलाउनु पर्‍यो भने बोकेर ल्याएका अक्सिजन सिलिन्डरले काम चल्दैन। हामीसँग अक्सिजन जेनेरेटर प्लान्ट छैन। खरिद प्रक्रियामा छौँ।’

सरकारी अस्पतालको यस्तो कमजोर अवस्था रहेका बेला सुविधा सम्पन्न आईसीयु रहेको दाबी गर्ने निजी अस्पतालले भने कोभिड-१९ को आशंकामै बिरामीलाई धपाउने गरेका छन्।

सरकारले केहीदिन अघि सरकारी र निजी दुवै अस्पताललाई ‘५० भन्दा माथि बेड हुनेले कोभिड-१९ को शंकास्पद बिरामीको उपचारका लागि आइसोलेटेड बेड छुट्याउन गरेको आग्रहलाई निजी अस्पतालले पनि स्वीकार गरेका थिए।

तर अहिले बिरामी धपाउनुको अर्थ आफूहरुले नबुझेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। सरकारसँगको सहमतिको कार्यान्वयन यति कमजोर छ की कतिपय ठूला निजी अस्पतालका चितकित्सकले त ‘टेकुका चिकित्सकसँग कुरा भइसकेको छ र त्यहाँ बेड खाली छ’ भन्दै बिरामीलाई झुक्याएर पन्छाउने गरेका छन्।

टेकु अस्पतालका एक चिकित्सकका अनुसार जापानबाट आएर ‘होम क्वारेन्टाइन’मा बसेका एक युवा ज्वरो आएपछि धापासीस्थित ग्राण्डी अस्पताल पुगेका थिए केही दिनअघि।

तर ग्राण्डीले कोभिड-१९ को आशंकामा उनलाई सिधै टेकु जान आग्रह गर्‍यो। अन्ततः ती युवालाई पनि आफैले उपचार गर्न बाध्य भएको छ टेकु।

कोभिड-१९ को आशंकामा बिरामीलाई भर्ना लिन नमानेपछि ग्राण्डी अस्पतालसँग स्वास्थ्य मन्त्रालयले आइसोलेसनमा राख्नु पर्ने बिरामी भर्ना नगरी अन्त किन पठाएको भन्दै मन्त्रालयले ग्राण्डीलाई स्पष्टीकरण सोधेको छ।

हाल निजी अस्पतालमध्ये नर्भिक अस्पतालले मात्रै ‘आइसोलेसन वार्ड’ बनाएको जानकारी मन्त्रालयलाई दिएको छ। निजी अस्पतालहरूको छाता संगठन ’अफिन’ का वरिष्ठ उपाध्यक्ष कुमार थापाले ‘पीपीई’ लगायत सुरक्षा सामग्री, परीक्षणका लागि ‘किट’को अभावले कोभिड–१९का शकास्पद बिरामीलाई भर्ना गर्न नसकिएको बताए।

उनले भने, ‘निजी अस्पतालले बिरामीको उपचार नगर्ने भनेका छैनन्। तर उनीहरुको सुरक्षाको दायीत्व कसले लिने? किट नहुँदा कोभिड-१९ को परीक्षण हुन सकेको छैन।’

तर मंगलबार किट ल्याउने अनुमति सरकारबाट पाएका निजी अस्पतालहरुले कसरी कार्यान्वयन गर्छन् त्याे प्रतिक्षारत विषय बनेकाे छ।

देश सञ्चारबाट

प्रकाशित मिति: ११ चैत्र २०७६, मंगलवार २२:०४

प्रतिक्रिया दिनुहोस्