Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिराटनगरका प्रवल मृत्यु प्रकरणमा ७ बिरुद्ध जाहेरी : ‘चन्दकिशोर राठीले फोन गरेर बोलाएका थिए’

प्रदेश नम्बर १ स्थित राजधानी बिराटनगर लेखा परीक्षकको काम गर्दै आएका प्रवल घिमिरेको शंकास्पद मृत्युमा शंका गर्दै ७ जना बिरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ ।

६ गते राति घिमिरेको सम्पर्कमा रहेका ५ जना व्यवसायीसहित सातजना बिरुद्ध मृतकका बाबु कृष्णप्रसाद घिमिरेले सोमबार जिल्ला प्रशासन कार्यालयमा दिएको किटानी जाहेरी दर्ता भएको प्रहरीले बताएको छ ।

गत माघ ७ गते विराटनगर-२ का घिमिरेको शव सिंघिया खोलामा डुबेको अवस्थामा फेला परेको थियो । व्यवसायीहरू नन्दकिशोर राठी, अरुण राठी, अनिलकुमार चाण्डक, विनय कर्ण, अशोक अटल तथा चालकद्वय पशुपति खड्का र चन्द्रबहादुर दर्जीबिरुद्ध जाहेरी परेको छ ।

उनीहरूलाई यसअघि नै प्रहरीले बयान लिएर निगरानीमा राखेको थियो । यसअघि पनि उनीहरु बिरुद्ध निवेदन परेको प्रहरीको भनाई छ । अघिको जाहेरीमा घिमिरे र आरोपितहरु भेट भएको मुन होटलका सञ्चालक विजयराज प्रसाईको समेत नाम थियो ।

हालको जाहेरीमा प्रसाईंको नाम छैन भनें अर्का अटलको नाम थपिएको छ । भाइको मृत्युका पछाडि उनीहरुको संलग्नता हुन सक्ने भएकाले अनुसन्धान गरी कारवाहीको माग गर्दै जाहेरी दिइएको मृतकका दाजु रविन घिमिरेले बताए ।

६ गते राति घिमिरेलाई चन्दकिशोर राठीले फोन गरेर बोलाएका थिए । राठीकै उद्योगमा मोटरसाइकल राखेर उनीहरू होटलमा गएका थिए ।

होटल मुनमा खानपिनपछि चाण्डकको गाडीमा चालक दर्जीले घिमिरेलाई घर नजिकै ल्याएर छाडेको हालसम्मको अनुसन्धानबाट खुलेको छ । आरोपितहरुका विषयमा अनुसन्धान भइरहेको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए ।

प्रकाशित मिति: Feb 19, 2020

प्रतिक्रिया दिनुहोस्