Logo
१५ बैशाख २०८१, शनिबार
(January 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली-प्रचण्ड र देउवाबीच बालुवाटारमा डेढ घण्टा ठट्टा, उपसभामुखमा कांग्रेसको दावी

सत्तारुढ नेकपाका दुबै अध्यक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिबीच शनिबार बालुवाटारमा डेढ गण्टा अनौपचारिक कुराकानी तथा ठट्टा भएको छ । यद्यपि कुराकानीमा कुनै निष्कर्ष भने निस्केको छैन ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच अनौपचारिक छलफल भएको हो।

‘एक घण्टाभन्दा लामो छलफल त भयो, तर कुनै निष्कर्ष निस्केन’ शीर्ष नेतात्रयबीचको वार्तामा सहभागी कांग्रेस नेता रमेश लेखकले भने, ‘किन हामीलाई बोलाइयो, त्यो नै हामीले थाहा पाउन सकेनौँ ।’

खासमा शनिबार विहान ओली-प्रचण्डबीचमा छलफल हुने कार्यक्रम थियो । शुक्रबार अपरान्ह ४ बजे अध्यक्षद्वयबीच हुने भनिएको कार्यक्रम शनिबार विहानका लागि सारिएको थियो । तर शनिबार विहान ओलीले प्रचण्डमात्र होइन, देउवालाई पनि छलफलका लागि बालुवाटार बोलाए ।

मेलमिलाप तथा सत्य निरुपण र बेपत्ता छानविन आयोगका विषयमा छलफल गर्नका लागि प्रचण्डसहित देउवालाई बालुवाटार बोलाइएको थियो । ‘तर, यी विषयमा खासै छलफल भएन’ कांग्रेस नेता लेखकले गुनासो गरे, ‘प्रधानमन्त्रीले पहिलेजस्तै ठट्टा गरेर समय बिताइदिनुभयो ।’

प्रचण्डलाई साथमा राखेर देउवासँग गरेको छलफललगत्तै ओलीले प्रचण्डसँग पनि छलफल गरेका थिए । तर, त्यो छलफल पनि १५ मिनेट भन्दा लामो हुन सकेन ।

यद्यपि अनौपचारिक छलफलकै क्रममा देउवाले प्रधानमन्त्री समक्ष उपसभामुख कांग्रेसले पाउनुपर्ने बताएका छन् । श्रोतका अनुसार देउवाले अख्तियारको आयुक्तमा पनि नेपाली काङ्ग्रेसले भाग पाउनुपर्ने दावी गरेका छन् ।

प्रकाशित मिति: Jan 25, 2020

प्रतिक्रिया दिनुहोस्