Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मापदण्डविपरित प्लास्टिककै भाँडामा दूध ढुवानी !

-राजकुमार पराजुली
सरकारद्वारा जारी दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका-२०७५ विपरित यहाँ प्लास्टिकका भाँडामा दूध बोक्ने तथा भण्डारण गर्ने गरेको पाइएको छ ।

नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले जिल्लास्थित दुग्ध चिस्यान केन्द्र तथा दुग्ध सङ्कलन केन्द्रको पटक-पटक अनुगमन गरी सचेत गराए पनि जिल्लाका अधिकांश व्यवसायी तथा कृषकले समेत अझै प्लास्टिककै भाँडामा दूध ढुवानी गरिरहेको पाइएको हो ।

निर्देशिकाअनुसार प्लाष्टिकको भाँडामा दूध बोक्न तथा भण्डारण गर्न पाइने छैन भने बासी दूध पनि बिक्री गर्न पाइने छैन । तर डिभिजन कार्यालय धुलिखेलले दुग्ध चिस्यान केन्द्र तथा दूध सङ्कलन केन्द्रमा पटक पटक गरेको अनुगमनका क्रममा प्लास्टिकका भाँडामा दूध नबोक्न तथा भण्डारण नगर्नसमेत सचेत गरायो तर अहिलेसम्मको अवस्था उस्तै छ ।

गत जेठ महिनामा अनुगमनका क्रममा दूधमा केमिकल नमिसाउन तथा प्लास्टिकको भाँडामा दूध बोक्न तथा भण्डारण नगर्न सचेत गराइएको डिभिजन कार्यालय धुलिखेलका खाद्य अनुसन्धान अधिकृत शिवप्रसाद भण्डारीले बताउनुभयो । “दूध व्यवसायीले प्लास्टिकको भाँडा विस्थापन गर्न मानेका छैनन्, अधिकांश दूध सङ्कलकले आल्मुनियमको भ्याट खरिदमा सरकारसँग अनुदान मागेका छन्”, उहाँले भन्नुभयो ।

सरकारले ५० प्रतिशतसम्म अनुदान दिए भाँडा परिवर्तन गरिने दूध व्यवसायीहरुको भनाइ छ । “हामी पनि दूधमा स्वच्छता कायम गर्न प्रतिबद्ध छौँ, यसका लागि सरकारले ५० प्रतिशतसम्म अनुदान दिए भाँडा परिवर्तन गर्छौ”, उनीहरुको दाबी छ ।

कतिपय दुग्ध व्यवसायीलाई दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिकाबारे जानकारी नहुँदा प्लास्टिकका भाँडा विस्थापन नगरेको भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्देशिकाअनुसार कृषकले बिहानको बिहानै र साँझको दूध साँझै बिक्री गर्नुपर्ने हुन्छ ।”

निर्देशिकाअनुसार दूधमा स्वच्छता कायम गर्न कार्यालयले त्यतिबेला दूधको पकेट क्षेत्र मानिएका पनौती नपा, नमोबुद्ध नपास्थित भकुण्डे र पाँचखाल नपाका दूध व्यवसायी एवं अगुवा कृषकलाई अभिमुखीकरणसमेत गरेको थियो । भण्डारीले भन्नुभयो, “निर्देशिकाअनुसार अब कृषकले समेत प्लास्टिकको भाँडोमा दूध बोक्न पाउने छैनन् ।”

भण्डारीका अनुसार केही व्यवसायीले स्टिल तथा आल्मुनियमका भाँडा बनाउन अनुदान मागेकाले सो सम्बन्धी केन्द्रीय कार्यालयमा छलफल भइरहेको छ । उहाँले भन्नुभयो, “दूधमा स्वच्छता कायम गर्न प्लास्टिकका भाँडा विस्थापन गर्न निर्देशिका ल्याइएको भए पनि व्यवयासीको अटेरीका कारण निकै समस्या भएको छ ।”

निर्देशिकाअनुसार दूधमा स्वच्छता कायम गराउन प्रहरीको सहयोगमा पुनः अनुगमन तथा कार्वाही गर्न तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । जिल्लामा करिब ५० वटा चिलिङ सेन्टर छन् भने तीन सयभन्दा बढी दूध सङ्कलन केन्द्र छन् ।

पाँचखाल नगरपालिका-४ तामाघाटस्थित दूध विकास संस्थान (डिडिसी)को चिलिङ सेन्टरले दूध सङ्कलकलाई स्टिल तथा आल्मुनियमको चिलिङ भ्याट (दूध ढुवानी ट्याङ्क) प्रयोग गर्न भनेपछि व्यवसायीले निजी डेरीमा दूध बिक्री गर्न थालेका छन् । सेन्टरका एक अधिकारीले स्टिल तथा आल्मुनियमको चिलिङ भ्याटमा दूध ढुवानी गर्न भनेपछि व्यवसायी तथा जनप्रतिनिधि समेतले निजी डेरीमा बिक्री गर्न थालेको बताउनुभयो ।

उहाँका अनुसार आठ हजार लिटर दूध सङ्कलन हुँदै आएको केन्द्रमा हाल करिब दुई हजार ५०० लिटर मात्रै आउँछ । दूधमा मानिसले खाने सोडा तथा साबुन बनाउन प्रयोग हुने कास्टिङ सोडा ९जसले दूध जम्न र फाट्न दिँदैन०, चिनी र पीठोलगायत वस्तु मिसाउने गरेको जनगुनासो आएपछि चिस्यान केन्द्र तथा सङ्कलन केन्द्रमा समयसमयमा अनुगमन गर्ने गरिएको कार्यालयले जनाएको छ ।

बासी दूध तताउँदा दूधको एसिडिटी बढ्ने र उक्त दूध सेवन गर्दा मानव स्वास्थ्यमा असर पर्ने भण्डारीले बताउनुभयो । उहाँका अनुसार बासी दूध नजमोस् र नफाटोस् भन्नका लागि दूधमा कास्टिङ सोडा, चिनी र पीठो प्रयोग गरिएको हुन्छ ।

खाद्य पदार्थमा समस्या थपिँदै गएपछि प्रभावकारी अनुगमन गरी नियमन गर्न मुलुकको नयाँ संरचनाअनुसार २४ स्थानमा डिभिजन कार्यालय स्थापना गरिएको छ । विराटनगर, जनकपुर, हेटौँडा, भैरहवा, नेपालगञ्ज र धनगढीमा क्षेत्रियस्तर खाद्य प्रयोगशाला तथा काठमाडाँैमा केन्द्रीय खाद्य प्रयोगशाला स्थापना गरिएको छ ।

खाद्य ऐन, २०२३ अनुसार खाद्यवस्तु गुणस्तरहीन देखिएमा ५० हजार जरिवाना वा पाँच वर्ष कैद वा दुवै जरिवाना गर्नेसक्ने व्यवस्था छ ।

प्रकाशित मिति: Jan 25, 2020

प्रतिक्रिया दिनुहोस्