Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 2, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हत्यामा संलग्न अभियोगमा पक्राउ परेका तीन जनालाई ११ वर्ष कैद सजाय

तनहुँको भानु नगरपालिका-९ का २६ वर्षीय राजु विकको हत्या अभियोगमा जिल्ला कारागार तनहुँमा थुनामा रहेका तीन जनालाई ११ वर्षको कैद सजाय भएको छ ।

विकको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेका लमजुङ दूधपोखरी गाउँपालिका-२ स्थायी घर भई भानु नगरपालिका-९ बस्ने २८ वर्षीया मनकुमारी कामी, लमजुङ दूधपोखरी गाउँपालिका-३ स्थायी घर भई भानु नगरपालिका-९ बस्ने ३५ वर्षीया मनमाया कामी र दोर्दी गाउँपालिका-३ लामागाउँ घर भई सोही ठाउँ बस्ने २४ वर्षीय आयुष विक भन्ने बुद्धिबहादुर कामीलाई जिल्ला अदालतले बुधबार कैद सजाय सुनाएको हो ।

जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले अभियुक्तलाई उक्त फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार सुदर्शन खनालले जानकारी दिए ।

अभियुक्तलाई जनही रु एक लाख १० हजारका दरले जरिवाना गर्ने निर्णयसमेत भएको छ । सोही घटनामा संलग्न भनिएका धनबहादुर कामी र मनकुमार कामी भने फरार रहेका जनाइएको छ ।

हत्यामा संलग्न रहेका मनकुमारी र मनमाया दिदी र आयुष मृतक राजुका भाई हुन् । उनीहरुले राजुलाई चिर्पटले टाउकामा हानी डोरीले घाँटीमा कसेर हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो ।

प्रहरीले अभियुक्तलाई विसं २०७५ माघ २२ गते पक्राउ गरेको थियो । अभियुक्तले राजुको हत्या गरी भानु नगरपालिका-९ काउरेटारको इनारमा फालेका थिए ।

स्थानीय रामप्रसाद हड्खलेको बारीमा सिँचाइका लागि खनेको इनारभित्र मृतकको शव दुर्ग्न्धित अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । अभियुक्त सबै फागुन १६ गतेदेखि पुर्पक्षका लागि थुनामा गएका थिए ।

प्रकाशित मिति: Jan 2, 2020

प्रतिक्रिया दिनुहोस्