Logo
१९ बैशाख २०८१, बुधबार
(November 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको ३ किलोमिटर सडक भरी चाँदीको ‘वर्षा’, स्थानीयले चाँदी टिप्दै सडकमा बिताए रात

काठमाडौं : भारतको सीतामढी जिल्लास्थित सुरसन्डको ग्रामिण इलाकास्थित तीन किलोमिटर सडकखण्डमा चाँदी वर्षिएको छ ।

बुधबार बिहानै सडकमा मानिसको चहलपहल सुरु भएपछि सडकभरी चाँदी पाइएको हो । परीक्षणका क्रममा सडकमा भेटिएको चाँदी ‘शुद्ध’ पाइएको छ ।

सडकमा यतिधेरै चाँदी कहाँबाट आयो भन्नेबारे प्रष्ट हुन सकेको छैन । उक्त क्षेत्रका बासिन्दाका अनुसार नेपालबाट तस्करहरुले ल्याएको चाँदी सडकमा छरिएको हुन सक्छ । बोरामा हालेर ल्याएको चाँदी चुहिएर सडकमा छरिएको हुन सक्नेमा स्थानीय प्रशासन पनि सहमत देखिन्छ ।

चाँदीका स-साना टुक्रा टिप्नका लागि मानिसहरु सडकमा ओइरिए । विशेषगरी नेपालको धनुषा र महोत्तरी जिल्लाबाट सुरसन्डमा व्यापारिक कारोबार हुने गरेको छ ।

नेपालका यिनै दुई जिल्ला हुँदै तस्करहरुसमेत सुरसन्डबाट भारतीय सामान ल्याउने तथा नेपालबाट सुन–चाँदी लगायतका सामान तस्करी गर्दै आएका छन् ।

तस्करहरुले राति मोटरसाइकलमा सामान तस्करी गर्दै आएका छन् । नेपालबाट तस्करी गरी ल्याइएको चाँदीको बोरा चुहिएर सडकमा छरिएको हुन सक्ने सुरसन्डका बासिन्दा बताउँछन् ।

यतिधेरै चाँदी सडकमा फेला परेपछि स्थानीय प्रशासनले पनि छानविन अघि बढाएको छ । स्थानीय बासिन्दालाई उद्धृत गर्दै केही भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मंगलबार राति नै सडकमा चाँदी भेटिएको थियो ।

केहीले रातिदेखि नै सपरिवार सडकमा चाँदी टिप्दै रात बिताएको बताइन्छ ।

बुधबार बिहान थप मानिस सडकमा चाँदी टिप्न आइपुगेका थिए । स्थानीयबासिन्दाले सडकमा कुल ५० किलोभन्दा बढी चाँदी फेला पारेको बताइन्छ ।

प्रकाशित मिति: Nov 8, 2019

प्रतिक्रिया दिनुहोस्