Logo
१५ बैशाख २०८१, शनिबार
(September 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुनै साइड इफेक्ट नभएको परिवार नियोजनको नयाँ साधन नेपालमा पनि भित्रियो

परिवार नियोजनको अस्थायी साधनका रुपमा नेपालमा अर्को नयाँ साधन भित्रिएको छ। ‘सायना प्रेस’ नामक तीन महिने सुई नेपालमा पनि भित्रिएको हो।

नवलपुर र सिन्धुली जिल्लामा महिलाले प्रयोग गर्ने तीन महिने गर्भ निरोधक अस्थायी साधन सायना प्रेसको सेवा सुरू भएको हो। हरेक तीन महिनामा लगाउनुपर्ने यो साधन तिघ्रा र पेटमा लगाउन सकिनेछ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयको अनुमति र बेलायत सरकारको आर्थिक सहयोगमा आईपास र मेरि स्टोप अन्तर्राष्ट्रियको सहकार्यमा नेपालमा यसको परीक्षण सेवा सुरू भएको छ।

एक पटक लगाएपछि तीन महिना गर्भ रहन रोक्ने यो सुई महिनावारी भएको ७ दिनभित्र अथवा महिलाले गर्भवती नभएको जुनसुकै समयमा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट लगाउन सकिनेछ।

यो साधनको प्रयोगले महिनावारीका समयमा हुने दुखाइ कम गर्ने, स्तनपान गराइरहेकि महिलाले पनि प्रयोग गर्न मिल्ने, इस्ट्रोजेन नामक हर्मोन भएको वा इस्ट्रोजेन र प्रोजेस्टेरोन भएका महिलाले पनि प्रयोग गर्न मिल्ने र सुई लगाउन छाडेको केहि समय अर्थात् १०देखि १२ महिनाभित्र पुनः गर्भवती हुन सकिने बताइएको छ।

यो सुई गर्भवति नभएकी प्रजनन उमेरकी महिला, भर्खरै गर्भपतन भएकी महिला, स्तनपान गराई रहेकी महिला, नव विवाहित महिला, एचआईभी संक्रमित वा एड्स भएको वा एन्टी रेट्रो भाईरल औषधि सेवन गरिरहेका महिलाका लागि उपयुक्त हुने कार्यक्रममा जानकारी दिइएको छ।

सायना प्रेस सुई प्रयोग गरेको केहि महिनासम्म महिनावारी अनियमित हुन सक्ने वा अरूबेला पनि छिटफुट रगत बग्ने, केहि महिलाको तौल घटबढ हुन सक्ने र कसैकसैलाई डण्डिफोर आउने, टाउको दुख्ने मनस्थिति परिवर्तन हुने जस्ता सामान्य असर देखिन सक्ने बताइएको छ।

तर, स्तन क्यान्सर भएकी महिला, महिनावारीमा धेरै रगत बग्ने समस्या भएका, यौन सम्पर्क गर्दा अत्याधिक रगत बग्ने बग्ने समस्या भएका महिला, कलेजोसम्बन्धि र हड्डि खिईने समस्या भएका महिलाले यो सुई प्रयोग गर्न हुँदैन।

हाललाई यो सुइ सिन्धुली र नवलपुरका १४ वटा सरकारी स्वास्थ्य संस्थामा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट निस्शुल्क लिन सकिने बताइएको छ।

सायना प्रेस विश्वका ४० भन्दाबढि देशले प्रयोग गरिरहेका छन्। युरोपलगायतका १७ देशका सम्बन्धित निकायहरूले सायना प्रेसलाई आफैंले लगाउन मिल्ने सुईका रूपमा अनुमति प्रदान गरेको कार्यक्रममा जानकारी दिईएको थियो।

सायना प्रेस परिवार नियोजनका लागि मांसपेशीमा लगाइने सुई डिपो प्रोभेरा जस्तै हो तर यसमा औषधिको मात्रा ३० प्रतिशत कम हुन्छ। छालाको मुनि पर्ने गरी एकपटक मात्रै प्रयोग गर्न मिल्ने सुईको प्रयोग गरेर छोटो सुइरोको माध्यमले लगाइन्छ जसले गर्दा दुखाइ र असहजता कम हुन्छ।

यो साधनलाई फ्रिजको प्रयोग नगरी भण्डारण गर्न सकिन्छ। यसलाई विश्वका ४० भन्दा बढी मुलुकहरुका नियामक निकायहरुले स्वीकृति प्रदान गरी सेवा प्रदान गरिरहेका छन्।

दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र नवलपुरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले सेवाको औपचारिक उद्घाटन गरिन्।

उनले भनिन्, ुहरेक महिलालाई आमा बन्न अधिकार भएपनि कति बच्चाको जन्माउने, कति अन्तरमा जन्माउने भन्ने अधिकार छैन।ु

परिवार नियोजनका साधन नेपालमा सुरू भएपछि महिलाले पनि आफ्नोबारे निर्णयले अधिकार प्राप्त गरेको उनको भनाइ छ।

हरेक महिलाले आफ्नो अधिकारको लागि अडान राख्न सक्नुपर्ने भन्दै उनले भनिन्, ‘प्रदेश सरकारले सुत्केरीको घरमा स्वास्थ्यकर्मी भन्ने कार्यक्रम ल्याएको छ,जसले स्वास्थ्यकर्मीले सुत्केरीको घरमा पुगेर सेवापरार्मश दिने गरेको छ।’

स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका सचिव डा पुष्पा चौधरीले सरकारले परिवार नियोजनका साधनमा अर्को विकल्पको रूपमा सायना प्रेस सुई थप गरेको उल्लेख गरिन्।

‘सायना प्रेस पनि अन्य परिवार नियोजनका साधनमध्ये एक हो, यो प्रभावकारी छ भनेर प्रमाणित भईसकेको छ, त्यसैले ढुक्क भएर प्रयोग गर्न सकिन्छ,’ उनले भनिन्।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखनका प्रमुख डा भिमसिंह तिंकरीले सरकारले हरेक महिलालाई परिवार नियोजन वा परिवार योजनाको निर्णय लिने अधिकार दिएको उल्लेख गरे।

उनले विश्वका अन्य देशमा प्रयोगमा आइरहेको यो सायना प्रेस बारे महिलालाई प्रभावकारी परामर्श र तालिम दिन सकेमा आफैं लगाउन सकिने बताए।

बेलायती विकास नियोग नेपाल प्रमुख लिजा होनानले यो सेवालाई छिटै महिलाहरूले परिवार व्यवस्थापनमा छनौट गर्ने विश्वास व्यक्त गरिन्।

उनले यो अध्ययन २०२० सम्म गरिने भएपनि महिलाले रूचाएको खण्डमा २०२२ सम्म बेलायत सरकारले सहयोग गर्न सकिने लैजान सकिने बताइन्।

प्रकाशित मिति: Sep 18, 2019

प्रतिक्रिया दिनुहोस्