Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यालय मान्यताको धजिया : विद्यालय परिसरमै प्रहरीचौकी र वडा कार्यालय

प्रदेश २ स्थित सामान्यतया विद्यालयलाई शान्त क्षेत्र, राजनीतिक तथा अपराध मुक्त क्षेत्रको रुपमा लिइन्छ तर प्रदेश २ स्थित त्यस्तो मान्यतालाई धजिया उडाइएको पाइएको छ ।

धनुषा जिल्लाको मुखियापट्टी मुसहर्नियाँ गाउँपालिकाको वडा नं. १ स्थित मुसहर्नियाँमा रहेको श्री राष्ट्रिय प्राथमिक विद्यालयको अवस्था ठिक उल्टो रहेको छ ।

यस विद्यालयमा अहिले कक्षा ७ सम्म पढाई हुन्छ । यहाँ पढने सबै विद्यार्थीहरु कलिला उमेरकै छन् तर स्कुलकै प्रांगणमा वडा कार्यालय र प्रहरी चौकी भएपछि यस स्कुलमा पढने विद्यार्थीहरुको पढाई प्रभावित हुँदै आएको छ ।

विद्यार्थीहरुमा नकारात्मक असर समेत पर्दै आएको छ । विपन्न, दलित र निम्न वर्गीय परिवारका बालबालिका पढ्ने यस विद्यालयमा प्रहरी चौकीले मात्र पठनपाठन प्रभावित भएका होइनन् ।

प्रहरीचौकी सँगै सोही तीनकोठे भवनको एउटा कोठामा वडा कार्यालय समेत रहेको छ । एउटै परिसरमा कक्षाकोठा, प्रहरी चौकी र वडा कार्यालय हुँदा धनुषाको दक्षिणवर्ती गाउँ मुखियापट्टी मुसरनियाका विद्यार्थी त्रास र हल्लाबीच पढ्न बाध्य छन् ।

मुखियापट्टी मुसरनिया गाउँपालिका-१ स्थित राष्ट्रिय प्राथमिक विद्यालय परिसरभित्रै नेपाल प्रहरीको चौकी छ । प्रहरी चौकी भएपछि यहाँ अपराधसँग जोडिएका व्यक्तिहरुको पनि आउने जाने क्रम चलिरहन्छ ।

थुनुवा कक्ष नभएका कारण पक्राउ परेका अभियुक्तलाई खुल्ला रुपमा चौकीको झ्यालमा हतकडी बाँधेर राखिने गरिएको छ । यस्ता दृष्यले विद्यार्थीको मानसिकतामा मनौवैज्ञानिक त्रास पार्ने गरेको शिक्षक बताउँछन् ।

टिफिन समयमा विद्यार्थीहरु अभियुक्त हेर्न झुम्मिने गरेका छन् । सामान्य झै-झगडामा पनि प्रहरी चौकीमा स्थानीयहरु जाने गरेकोले त्यस्ता घटनाहरुलाई मिलाउन दिनहुँ प्रहरी चौकीमा बैठक हुने गरिन्छ ।

बैठकमा चर्का चर्की हुँदा कक्षा कोठामा पढिरहेको विद्यार्थीहरुको ध्यान एकाएक प्रहरी चौकी तर्फ केन्द्रित हुन्छ भने त्यसको कारणले कक्षाकोठा प्रभावित हुँदै आईरहेको कक्षा ६ मा अध्ययनरत्त सरोज महतोले बताए ।

विद्यालय परिसरमा प्रहरी चौकी मात्र नभई यहाँ रहेको वडा नं। १ को वडा कार्यालय समेत भएपछि विद्यार्थीको पढाई झन प्रभावित हुँदै आएको छ । वडा कार्यालयमा दिनहु सेवाग्राहीहरुको भीड लाग्ने गरेको छ ।

कक्षा ७ सम्मको पढाई हुने यस विद्यालयमा साढे चारसय विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र पाण्डेले बताए ।

उनले भने, ‘प्रहरी चौकी र विद्यालय बिच कक्षा सञ्चालनको समयमा कुनै प्रकारको बैठक नगर्ने सम्झौता भएको छ, तर प्रहरी चौकी भएपछि अचानक विभिन्न घटनाहरु हुँदा त्यस्तो अवस्थामा आपतकालिन रुपमा बैठक हुँने नै भयो, पढाई प्रभािवत हुने गरेको छ ।’

प्रहरी चौकीमा विभिन्न अपराधिक प्रकृतिका मुद्दाहरु हुँदा पीडित र पीडक आएपछि पठनपाठन प्रभावित हुने गरेको प्रधानाध्यपक पाण्डेले बताए ।

‘भीडभाड, होहल्ला हेर्ने सुन्ने विद्यार्थीको स्वभाव नै हुन्छ । बालबालिका प्रहरी चौकीको होहल्लाले पढ्न छाडेर होहल्ला हेर्न जाने गर्छन्’, उनले भने ।

प्रहरी चौकी हटाउन विद्यालयका शिक्षकले पटकपटक गाउँपालिका अध्यक्ष लगायत विभिन्न संघसंस्था तथा नेतासमक्ष अनुरोध गरेपनि कुनै निकायबाट अहिलेसम्म पहल नभएको प्रधानाध्यापक पाण्डेले बताए । ‘आश्वसन दिन्छन तर अहिलेसम्म कुनै पहल भएको छैन,’ उनले भने।

२०६२/६३ सालको जनआनदोलनको क्रममा तत्कालिन गाबिस कार्यालयमा सुरक्षाको मध्यनजर गर्दै प्रहरी चौकी स्थापना गरिएको थियो । प्रहरी चौकीका लागि अन्यत्र भवन नभएकाले बाध्यतावस विद्यालय परिसरमै बस्नुपरेको मुखियापट्टी मुसहर्नियाँका प्रहरी चौकीका इन्चार्ज बहादुर यादवले बताए ।

भवनको अभावमा जेनतेन विद्यालयकै प्रांगणमा रहेको भवनमा वडा कार्यालय सञ्चालन गर्नुपरेको वडाध्यक्ष कौशल मुखियाले बताए । जग्गा नहुँदा प्रहरीचौकी विद्यालयमै राख्नुपर्ने बाध्यता रहेको गाउँपालिका अध्यक्ष मनोज यादवले बताए ।

प्रकाशित मिति: Sep 10, 2019

प्रतिक्रिया दिनुहोस्