Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रेम प्रस्ताव स्वीकार नगरेपछि १५ वर्षीया युवतीमाथि तेजाब प्रहार

पर्सा :  वीरगञ्जको गणेशमानचौकमा आज बिहान १५ वर्षीया एक युवतीमाथि एसिड (तेजाब) प्रहार गरी घाइते बनाइएको छ ।

विद्यालय जाने क्रममा वीरगञ्ज महानगरपालिका-३ छपकैया निवासी मुस्कान खातुनमाथि २ जनाको सङ्ख्यामा रहेका युवकले तेजाब प्रहार गरेका हुन् । तेजाब प्रहारबाट घाइते भएकी खातुनलाई वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

तेजाबबाट खातुनको अनुहार, छाती, हातखुट्टालगायतका शरीरको भाग जलेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । खातुनको स्वास्थ्य अवस्था गम्भीर रहेको पनि चिकित्सकले बताएका छन् ।

मुस्कानमाथि तेजाब खन्याएको अभियोगमा वीरगञ्ज महानगरपालिका-२ छपकैया निवासी १६ वर्षीय सम्साद मियाँलाई प्रहरीले पक्राउ गरेको छ । बिहान ६ बजे विद्यालय जानलागेकी युवतीमाथि सम्सादले तेजाब खन्याएको प्रत्यक्षदर्शी र पीडितले दिएको बयानका आधारमा पक्राउ उनलाई गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

उनले युवतीमाथि तेजाब खन्याउने कार्यमा सहयोग गर्ने वीरगञ्ज-२ छपकैया निवासी मजिद आलमको खोजी भइरहेको बताए । वीरगञ्जको रामटोलमा अवस्थित त्रिभुवन हनुमान माध्यमिक विद्यलायको कक्षा १० मा मुस्कान अध्ययनरत रहेकी छन् ।

प्रकाशित मिति: Sep 6, 2019

प्रतिक्रिया दिनुहोस्