Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज श्रीकृष्ण जन्माष्टमी : प्रदेश सरकारहरुद्वारा सार्वजनिक बिदा

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौं गर्भका रुपमा श्रीकृष्णको जन्म भएको धर्मशास्त्रहरूमा उल्लेख छ ।
कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप आजको दिन यो पर्व मनाउने गरिएको हो ।

कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भागवत गीता हो ।

श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसङ्गका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रुपमा समेत मनाउने गरिन्छ ।

आजको दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध श्रीकृष्ण मन्दिर, काठमाडौंको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, उत्तरी भेग बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत सङ्घको मन्दिरमा र देशभरका अन्य कृष्ण मन्दिरमा भव्यरुपमा पूजा, आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।

आजको दिनमा विशेष गरी महिलाहरु ब्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

यसैबीच श्रीकष्ण जन्माष्टमी र गौरा पर्वको अवसरमा आज प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा दिइएको छ। प्रदेश २ मा श्रीकृष्ण जन्माष्टमी अवसरमा सार्वजनिक बिदा घोषणा गरिएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले एक विज्ञप्ति जारी गर्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिदा घोषणा गरेको हो। मुख्यमन्त्री लालबाबु राउतले धर्म संस्कृतिको संवर्द्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै सर्वधर्म समभावको नीति अवलम्बन गर्दै प्रदेश सरकार काम गरिरहेको बताएका छन्।

मुख्यमन्त्री राउतद्वारा हस्ताक्षरित विज्ञप्तिमा हिन्दु धर्माबलम्बीहरुको महान चाड श्रीकृष्ण जन्माष्टमीको अवसरमा प्रदेश, देश तथा विदेशमा बस्ने सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना व्यक्त गरिएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले भने प्रदेशमा हर्षोल्लासका साथ मनाइने गौरा पर्वको अवसरमा बिदा घोषणा गरेको छ। यसअघि बिदा नदिइएको भन्दै सरकारविरुद्ध आलोचना भएको थियो।

प्रकाशित मिति: Aug 23, 2019

प्रतिक्रिया दिनुहोस्