Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुडासैनी आत्महत्या प्रकरण : अस्मिता कार्की पक्राउ, रवि र युवराजमाथि प्रहरीले बढायो निगरानी

काठमाडौं : पत्रकार शालिकराम पुडासैनीले चितवनमा आत्महत्या गरेको प्रकरणमा प्रहरीले ओखलढुंगाकी युवती रुकु भन्ने अस्मिता कार्कीलाई पक्राउ गरेको छ ।

नर्ससमेत रहेकी कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट बिहीबार पक्राउ गरेर लगेको हो । अस्मितालाई जिल्ला प्रहरी कार्यालय चितवनको महिला प्रहरीको टोलीले पक्राउ गरी भरतपुर लगेको हो । कार्की पक्राउ परेसँगै प्रहरीले रवि र युवराजमाथि पनि निगरानी बढाएको छ । स्रोतका अनुसार अस्मितालाई रविकै समूहका सदस्यले नियन्त्रणमा राखेका थिए । तर प्रहरीको टोलीले उनलाई पक्राउ गरेर चितवन लगेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान मल्लले पुडासैनी हत्या प्रकरणको अनुसन्धान अघि बढिसकेकाले रवि र युवराज पनि प्रहरीको निगरानीमा रहेको बताएका छन् । हाम्रो अनुसन्धान अघि बढिसकेको छ, पुडासैनीले नाम लिएका तीनैजना पक्राउ पर्छन्, यसमा कुनै सन्देह छैन, मल्लले भने, पुडासैनीको मोबाइल र त्यसमा रहेका अडियो भिडियो ल्याव परीक्षणपछि बिहीबारै चितवन पुगेपछि अनुसन्धानले अझै तीव्रता पाउँछ । हामी यसमा कुनै कमजोरी नगरी अनुसन्धान गर्छौँ। कसैको दबाब या प्रभाव परेर प्रहरीले कारवाही रोक्दैन । आत्महत्या गर्नुअघि शालिकरामले खिचेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको कुरा उल्लेख गरेका थिए ।

पत्रकार पुडासैनीको शव भरतपुरस्थित एक होटलमा गत २० गते फेला परेपछि अनुसन्धान थालेको प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाएको थियो । पुडासैनीले आत्महत्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै बुधबार सार्वनजिक भएपछि प्रहरीमाथि तीव्र दबाब परिरहेको अवस्थामा कार्की पक्राउ परेकी हुन् ।

पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो र रेकर्ड गराएको अडियो प्रहरीले नै गायब गरेको आरोप लागिरहेका बेला बिहीबारै ल्याव रिपोर्ट चितवन पुग्दैछ । पुडासैनीको रुँदै बोलिरहेको करिब ८ मिनेटको भिडियो र अडियो टेपमा रवि लामिछाने र युवराज कँडेलले पछिल्लो पटक धेरै यातना दिएको भनेका छन् । उनले भिडियोमा विज्ञापन एजेन्सीमार्फत् बालुवा ठेकेदार, सिमेन्टलगायत ठूला कम्पनी र घरानाबाट करोडौं कमाउने गरेको पनि उल्लेख गरेका छन् ।

यसअघि, साउन २० गतेराति चितवनको एक होटेलमा पत्रकार पुडाशैनी झुण्डिएर मरेको अवस्थामा फेला परेका थिए ।

प्रकाशित मिति: Aug 15, 2019

प्रतिक्रिया दिनुहोस्