Logo
१५ बैशाख २०८१, शनिबार
(July 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी ‘साम्रराज्यवाद’ विरुद्ध अभियान : भेनेजुएली राष्ट्रपतिका छोराको नेतृत्वमा ११ सदस्य टोली नेपालमा

अमेरिकी ‘साम्रराज्यवाद’ विरुद्ध ‘विश्व जनमत’ अभियान अन्तरगत भेनेजुएलाका ११ सदस्य टोली नेपाल आएका छन् । अमेरिकाको नाकाबन्दी र नियतविरुद्ध अन्तर्राष्ट्रिय समर्थन जुटाउने क्रममा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टोको नेतृत्वमा तीन मन्त्रीहरु सहित ११ सदस्य टोलीले नेपाल आए लगत्तै उच्च भेटघाटलाई तीव्र पारेका छन् ।

यद्यपी, अमेरिकासँग नेपाल निकट बन्दै गएको बेला प्रधानमन्त्री लगायत कुनै पनि उच्चअधिकारीहरुले औपचारिक रुपमा उनीहरुसँग नभेट्ने निर्णय गरेको उच्च स्रोतको दाबी छ । उनीहरु नेपाल आउनुमा पूर्ववर्ति माओवादीका नेताहरुको बढी हात रहेको बुझिएको छ ।

उनीहरुले नेकपाका सचिवालय सदस्य झलनाथ खनाल, बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतसँग छुटछुटै भेट गरेका छन् । प्रवक्ता श्रेष्ठले उनीहरुले आफूहरुसँग भेटमा भेनेजुएलाको नाकाबन्दीका कारण आर्थिक अवस्था कठिन रहेको र त्यो परिस्थितिको सामना गर्दा कसरी अन्तर्राष्ट्रिय समर्थन हासिल गर्न सकिन्छ भन्नेमा जिज्ञासा राखेको पुष्टि गरेका छन् ।

निकोस मादुरोको राष्ट्रपतिको दोस्रो सपथ ग्रहण कार्यक्रममा भेनेजुएला पुगेका सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य बलराम बास्कोटा, रामप्रसाद सापकोटा (दीपशिखा) लगायतको पहलमा त्यो टोली २८ गते नेपाल आएलगत्तै पार्टीका नेताहरुसँग भेटघाट अघि बढाएको थियो ।

गल्डोलाई अमेरिकाले भेनेजुयलाको राष्ट्रपतिमा मान्यता दिँदै भेनेजुएलामा आर्थिक नाकाबन्दी समेत लगाएको थियो । त्यसपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निकोलस मदुरोको समर्थन गर्दै अमेरिकाले भेनेजुयलामा ‘साम्राज्यवादी कू’ गरेमा असहनीय हुने भन्दै अमेरिकाविरुद्ध वक्तव्य जारी गरेका थिए ।

तर अमेरिकाले त्यसलाई लिएर आपत्ति जनाएको थियो । त्यसपछि अमेरिकासँग सम्बन्ध सुधारको प्रयासमा प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएका थिए । प्रचण्डको अमेरिका भ्रमण गराउन नेपालका लागि अमेरिकी राजदूत¥याण्डी बेरीले भूमिका खेलेका थिए ।

भेनेजुएलामा पछिल्लो केही वर्षदेखि अस्थिर रहेको राजनीतिक तथा आर्थिक अवस्था हाल उत्कर्षमा पुगेको छ । राष्ट्रपति मादुरोलाई रुससहितका देशको समर्थन छ ।

प्रकाशित मिति: Jul 15, 2019

प्रतिक्रिया दिनुहोस्