Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सागरको ५ विकेटमा सबै खेलाडी अलआउट, उपाधि जित्न अब नेपाललाई ९६ रनको लक्ष्य

यु-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले हङकङलाई ९५ रनमै अलआउट गरेको छ । नेपालले अब उपाधि जित्न ९६ रन बनाउनु पर्नेछ । सागर ढकालले लिएको ५ विकेटमा अलआउट भएका हुन् ।

मलेसियाको किनरारा ओभलमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । सागरले हङकङको अग्रपंक्तिका ५ ब्याट्सम्यानलाई पवेलियनको बाटो देखाउँदै कप्तानको निर्णयलाई सही सावित गरिदिए । हङकङले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाएको हो ।

सागरले १० ओभरमा ५ मेडन राख्दै १८ रन दिएर ५ विकेट लिएपछि हङकङका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । आदित गोरवारा र कलहन मार्क चल्लुले तेस्रो विकेटका लागि गरेको २७ रनको साझेदारी नै हङकङको इनिङमा बनेको सबभन्दा ठुलो साझेदारी हो ।

आदितले २४ रन बनाए भने कलहनले १९ रन जोडे । आदितले मेहरनसँग पनि पाँचौ विकेटका लागि १८ रनको साझेदारी गरेका थिए । हङकङको इनिङमा बनेको यो दोस्रो ठुलो साझेदारी हो ।

सागरले पहिलो ओभरमै हङकङका नसरुल्लाह रानालाई पवन सर्राफमार्फत क्याच गर्दै नेपाललाई पहिलो सफलता दिलाए । सागरले आफ्नो दोस्रो स्पेलमा राहुल शर्मालाई विकेटकिपर हरिशंकर चौहानमार्फत क्याच गरे । अर्का ओपनर कलहन मार्क चल्लुलाई एलबिडब्लू आउट गर्दै सागरले नेपाललाई तेस्रो सफलता दिए ।

आरुष भगवतलाई सागरले बोल्ड गरे । २२.३ ओभरमा सागरले मेहरनलाई हरिशंकरमार्फत क्याच गर्दै ५ विकेट लिए । मेहरन आउट हुँदा हङकङ ५-४७ को स्थितीको थियो ।

नेपालका लागि अरु विकेट कमलसिंह ऐरी, कुशल मल्ल र तिलकराज भण्डारीले लिएका थिए । तिलकराजले आदित गोरवारालाई कप्तान रोहितकुमार पौडेलमार्फत क्याच गरे । तल्लोक्रमका ब्याट्सम्यान माहेम्मद हसर खान र रौनक कपुरलाई कमलसिंह ऐरीले बोल्ड गरे भने मोहम्मद हसनलाई एलबिडब्लू आउट गरे । रौनकले १२ रन जोडे । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुशलले अब्दुल उर्सलानलाई बोल्ड गरेका हुन् ।

प्रतियोगिताको विजेता टोलीले श्रीलंकामा हुने एसिया कप खेल्नेछ । २८ अगस्त देखी ८ सेप्टेम्बरसम्म हुने प्रतियोगितामा विजेता टोलीले भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, यूएई र कुवेतले प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: Jul 9, 2019

प्रतिक्रिया दिनुहोस्