Logo
१५ बैशाख २०८१, शनिबार
(July 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेशहरुसँग अमेरिका र चीनको बढ्दो कन्कसन : ३ मुख्यमन्त्रीहरु विदेश भ्रमणमा

काठमाडौँ : प्रदेश सरकारलाई अधिकार नदिइएको भन्दै चौतर्फी बहस भइरहेका बेला ३ वटा प्रदेशका मुख्यमन्त्रीहरु विदेश भ्रमणमा गएका छन् ।

आर्थिक वर्षको अन्त्यमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल विदेश भ्रमणमा गएका हुन् । राई अमेरिकातर्फ प्रस्थान गरेका छन् भने पोखरेल र पौडेल चीनतर्फ प्रस्थान गरेका हुन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सोमबार अमेरिका प्रस्थान गरेका हुन् भने अमेरिकामा रहेका नेपालीहरुले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ गएका हुन् ।

मुख्यमन्त्री राई त्यहाँको बाल्टिामोरमा हुने नेपाली राष्ट्रिय सम्मेलनमा सहभागी हुदैछन् । असार २० देखि २२ गते हुने उक्त सम्मेलनमा मुख्यमन्त्री राईलाई प्रमुख अतिथीको रुपमा निमन्त्रण गरिएको हो ।

उनी अमेरिकामा रहँदा गैरआवसीय नेपालीहरुको कार्यक्रममा समेत सहभागी हुनेछन् । प्रदेशमा आयोजना गर्न लागिएको लगानी सम्मेलनको सम्बन्धमा पनि मुख्यमन्त्री राईले नेपाली समुदायसँग छलफल गर्नेछन् ।

प्रदेश नम्बर १ ले आफ्नो निति तथा कार्यक्रममा लगानी सम्मेलनको आयोजना गर्ने उल्लेख गरेको छ । यस्तै, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सोमबार चीन प्रस्थान गरेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणमा उनी चीनको छेन्दु प्रान्त गएका हुन । प्रमुख सचेतक, प्रदेश सांसद लगायत उनको भ्रमणमा दलमा १९ सदस्यीय छ ।

मुख्यमन्त्री पोखरेलको भ्रमणका क्रममा चीनको सिचुवान प्रान्त र प्रदेश ५ बीच भगिनी सम्बन्ध कायम गर्नेबारे साझेदारी हुनेछ । यस्तै, घोराही उपमहानगरपालिका र सिचुवान प्रान्तको याआन नगर अनि ठाकुरबाबा नगरपालिका र लियुयान्सु नगरबीच पनि भगिनी सम्बन्ध कायम गर्ने समझदारी हुने बताइएको छ ।

दुवै पालिकाकमा मेयरहरु पनि भ्रमण दलमा सहभागी छन् । मुख्यमन्त्री पोखरेलको टोलीअसार २५ गते स्वदेश फर्कने कार्यक्रम छ । यस्तै, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि ५ दिने चीन भ्रमणका लागि मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

उनी चीनको गान्सु प्रान्तका गभर्नरको निमन्त्रणमा त्यसतर्फ गएका हुन् । प्रदेश ३ र गान्सु प्रान्तबीच गत बैशाख ३१ गते भगिनी सम्बन्धमा हस्ताक्षर भएको थियो ।

मुख्यमन्त्री पौडेलले गान्सु प्रान्तको लान्झाउ सहरमा आयोजना हुने विविध कार्यक्रमहरुमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यहा रहँदा मुख्यमन्त्री पौडेलले मकवानपुरको महरी र सिन्धुलीको मरिणमा स्थापना हुने औदोगिक क्षेत्र सञ्चालनको विषयमा पनि छलफल गर्ने बताइएको छ । उनी असार २२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

आन्तरिक मामिलामन्त्रीहरुलाई कार्यवाहकको जिम्मेवारी :
यसैबीच मुख्यमन्त्रीहरुको अनुपस्थितीमा प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी त्यहाँका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुलाई दिइएको छ ।

प्रदेश नम्बर १ मा हिक्मत कार्की, प्रदेश ३ मा शालिकराम जमरकट्टेल र प्रदेश ५ मा कुलप्रसाद केसीलाई कार्यवहाक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको हो ।

प्रकाशित मिति: Jul 2, 2019

प्रतिक्रिया दिनुहोस्