Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमा सांसद थापाको आक्रोश, ‘हामीले मन्त्रीलाई हेर्नै नहुने भयो’

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद लालबहादुर थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको राजीनामा माग गर्दै आक्रोश पोखेका छन् ।

मन्त्रालयको बजेट विनियोजन तथा योजना वितरणमा मन्त्री महासेठले आफ्नो जिल्ला धनुषालाई मात्रै प्राथमिकता दिएको र योजना माग्दा हप्काएको भन्दैै मन्त्रीलाई अनुशासनको कारबाही गर्नुपर्ने पनि प्रस्ताव गर्दै आक्रोश पोखेका हुन् ।

उनले भने, ’हामीले मन्त्रीलाई हेर्नै नहुने भयो, मन्त्री अब्बल दर्जाको जनप्रतिनिधि हुने भयो। योजना माग्दा मन्त्रीबाट हप्की खानुपर्ने भयो । महाराज मलाई नहप्काइस्योस् भन्नुपर्ने अवस्था आयो ।’ धनुषा घर भएका मन्त्री महासेठले उक्त जिल्लामा रणनैतिक योजना मात्रै ७९ वटा राखेको तथा पक्कि पुलका ५९ योजना राखेको थापाले बताए ।

उनले बाजुरा लगायत २० हिमाली जिल्लामा नयाँ पुल नपरेका बताए । थापाले भने, ’१६५ निर्वाचन क्षेत्र छन् भन्ने हेक्का नगर्ने? मन्त्री भएपछि आफ्नो क्षेत्र र जिल्लामा मात्रै केन्द्रित हुने? मुलुकको मन्त्री हुन नसक्ने ? विगतदेखिको प्रचलन समाप्त हुन्छ भन्ने लागेको थियो तर भएन । पूर्वाग्रही व्यवहार गर्ने मन्त्री र राज्यको स्रोतलाई मनलाग्दी आफ्नो क्षेत्रमा मात्रै लैजाने मन्त्रीलाई अनुशासनको कारबाहीको विषय बनाउनुपर्छ र पदमुक्त गर्नुपर्छ ।’

सांसद थापाले उक्त मन्त्रालयले दिएको योजनाको पुस्तक पनि फिर्ता गरेका थिए। उनले भने, ’म यो किताब लिन सक्दैन । यो किताब सर्वोच्च निकाय संसदबाट यो किताब लिन सक्दैन । बाटो, खानेपानी, स्कुल पाउनुपर्छ भन्ने, सम्पन्न हुनुपर्छ भन्ने बाजुरेली जनताको चाहना हो । त्यस अवस्थामा यो किताब लिएर जान सक्दैन। यो बोकेर जाँदा संसदको अपमान हुन्छ ।’ उनले उक्त पुस्तक संसदमार्फत मन्त्री महासेठलाई नै फिर्ता गरिदिएका थिए ।

प्रकाशित मिति: Jun 19, 2019

प्रतिक्रिया दिनुहोस्