Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशनीतिबारे राष्ट्रिय सम्मेलन तयारी : ‘सार्कबारे नेपालले एक्लै पहल गरेर कुनै फरक पर्दैन’

परराष्ट्र मन्त्रालय सिंहदरवारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली । तस्वीर : नवीन पौडेल

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दक्षिण एसियाली सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउन नेपालले एक्लै पहल गरेर कुनै फरक नपर्ने बताएका छन् । नेपाल एक्लैले चाहेर सार्क सकृय हुन नसक्ने उनको भनाइ रहेको छ । तर, हामी सबैलाई थाहा छ, नेपाल एक्लैले चाहेर सार्क सक्रिय हुन सक्दैन । उपयुक्त समयमा यो अगाडि बढ्ने वातावरण बन्नेछ भन्नेमा हामी आशावादी छौं ।’ आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘सार्क धेरै पुरानो संस्था हो, यसलाई सक्रिय बनाउने हाम्रो प्रयास जारी छ ।

नेपाल अध्यक्ष रहेकै बेला सार्क निश्कृय भएको र भारतले सार्कको विकल्पका रुपमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) लाई प्राथमिकता दिन थालेको छ । तर, सार्क र बिमस्टेकलाई आपसमा तुलना गर्न नहुने मन्त्री ज्ञवालीको सुझाव छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक प्रधानमन्त्रीको रूपमा शपथ लिँदा सार्क राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखलाई बोलाएका थिए । त्यसबेला पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ मोदीको सपथग्रहण समारोहमा उपस्थित थिए । तर, दोस्रो कार्यकालको सपथग्रहण समारोहमा मोदीले सार्कलाई छाडेर बिमस्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुलाई आमन्त्रण गरे ।

बिमस्टेकमा, बंगलादेश, भारत, श्रीलंका र थाइल्याण्ड, म्यानमार, नेपाल र भुटान सदस्य रहेका छन् । सार्कमा बंगलादेश, भूटान, भारत, मालदिभ्स, नेपाल, पाकिस्तान, श्रीलङ्का र अफगानिस्तान सदस्य छन् । बिमस्टेकलाई बोलाउँदा मोदीको सपथग्रहण समारोहमा सार्क मुलुकभित्र पर्ने पाकिस्तान छुट्यो । यसलाई भारतको सार्कलाई छाडेर विमस्टेकलाई अगाडि बढाउने रणनीतिका रुपमा कतिपयले चर्चा गरेका छन् ।

भारतले सार्कको साटो बिमस्टेकलाई प्राथमिकता दिन थालेको सन्दर्भमा पत्रकारले राखेको जिज्ञासामा मन्त्री ज्ञवालीले नेपाल कुनै पनि संगठनलाई एकअर्कामा तुलना गर्ने, एउटालाई छाडेर अर्कोलाई बढावा दिने अथवा निश्कृय वा कमजोर पार्ने भन्ने पक्षमा नरहेको बताए ।

‘कुनै पनि क्षेत्रीय सहयोग र प्रतिवद्धताका बारेमा हामीले विगतमा जे भन्दै आएका छौं, त्यही नै हो’, मन्त्री ज्ञवालीले अगाडि भने, ‘हामी कुनै पनि संगठनलाई एकअर्कामा तुलना गर्ने, एउटालाई छाडेर अर्कोलाई बढावा दिने अथवा निश्कृय वा कमजोर पार्ने भन्नेमा छैनौं ।’

कुुनै पनि क्षेत्रीय सहयोग संगठनका विषयमा नेपालले विगतमा जेजस्ता प्रतिवद्धता जाहेर गर्दै आएको छ, हाल पनि सोही रहेको मन्त्री ज्ञवालीको भनाइ छ ।

नेपालको प्रयास विमस्टेक र सार्क दुबैलाई सकृय बनाउनेमा रहेको बताउँदै ज्ञवालीले भने, ‘नेपालको प्रयास सबैखालका क्षेत्रीय सहयोग संगठनलाई सक्रिय बनाउनेमा छ । नेपालजस्तो देशलाई साझा धारणा बनाउनका लागि क्षेत्रीय सहयोग संगठन झनै आवश्यक पर्छ ।’

असार १४ मा विदेशनीतिबारे राष्ट्रिय सम्मेलन हुने

यसैवीच, आगामी असार १४ गते काठमाडौंमा नेपालको विदेशनीतिबारे राष्ट्रिय सम्मेलन हुने भएको छ । परराष्ट्र मन्त्रालयको आयोजनामा हुने उक्त सम्मेलनमा संघीय संसदका सांसदहरु, विभिन्न क्षेत्रका विज्ञहरु, राजनीतिक दलका नेता, पूर्वपरराष्ट्रमन्त्री र निजी क्षेत्रको सहभागिता हुने परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

सम्मेलनमा विगतमा नेपालको विदेश नीति कस्तो हुनुपर्छ भन्नेबारे हालसम्म भएका अध्ययन प्रतिवेदन लगायतका विषयमा छलफल हुने जनाइएको छ । समग्रमा नेपालको आर्थिक विकासलाई कसरी अगाडि बढाउन सकिन्छ र त्यसका लागि कस्तो विदेश नीति अवलम्बन गर्ने भन्ने विषयमा धारणा बनाउन विदेशनीतिबारे राष्ट्रिय सम्मेलन गर्न लागिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति: Jun 2, 2019

प्रतिक्रिया दिनुहोस्