Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिहिबार राजपथमा सपथग्रहण : एक महिनापछि मोदी नेपाल आउने, प्रधानमन्त्री ओली भारत जाँदै

अपार बहुमतपछि दोस्रो पटक भारतका प्रधनमन्त्री बन्ने तयारीमा रहेका नरेन्द्र मोदी सपथग्रहणको एक महिना पछि नेपाल आउने भएका छन् । भारतीय श्रोतका अनुसार भारत सरकारको अनुदान सहयोगमा निर्माण भएको जनकपुर-जयनगर रेल सेवाको उद्घाटनका लागि मोदी नेपाल आउन लागेका हुन् ।

यसअघि आफ्नो पहिलो कार्यकालमा ४ पटक नेपाल भ्रमणमा आइसकेका मोदीलाई दोस्रो कार्यकालको प्रारम्भमै सरकारी स्तरबाट नेपाल भ्रमणको निम्तो दिने तयारी समेत भइरहेको बुझिएको छ ।

यसैबीच ३० मई बिहिबार अर्थात १६ गते साँझ ५ बजे दिल्ली स्थित राजपथमा हुने शपथग्रहण समारोहमा नेपालबाट प्रधानमन्त्री ओली पनि सहभागी हुने भएका छन् । मोदीले यसपटक बिम्सटेकका सदस्य राष्ट्रप्रमुखहरुलाई सपथग्रहण समारोहमा बोलाउन लागेका छन् ।

सोही कार्यक्रममा भाग लिन गएका क्रममा मोदीलाई पहिलो बिदेश भ्रमण नेपालबाटै थाल्नी गर्न प्रधानमन्त्री ओलीले आग्रह गर्ने बताइएको छ । १६ गते ओली भारत जाने करिब करिब पक्कापक्की रहेको सिंहदरवार स्थित परराष्ट्र मन्त्रालय श्रोतले जनाएको छ । गत लोकसभा निर्वाचन २०१४ मा मोदीले सार्क राष्ट्रप्रमुखहरुलाई बोलाएका थिए ।

बिगतमा भन्दा यसपटक धेरै सिट जितेपछि शुक्रवार साँझ नै राष्ट्रपति समक्ष उनले राजिनमा दिने बताइएको छ । त्यस्पछि मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने छन् ।

बहुमतका लागि २७२ सिट चाहिनेमा भारतीय जनता पार्टी एक्लैले ३०३ सिट जितेको छ । उसको गठबन्धनले भने जितेका सबै सिट जोड्दा ३५० भन्दा माथिको आकडा पुगेको छ । भाजपाले यसअघि नै संविधान संशोधन गर्ने मुद्दा सार्वजनिक गरिसकेको छ । उस्ले घोषणापत्र मै कश्मिर समेत विवादित धारा खारेज गर्ने घोषणा गरिसकेको छ ।

यता, जनकपुर–जयनगर रेल सेवा उद्घाटनका लागि मोदीलाई आमन्त्रण गर्ने तयारी भएको संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले जानकारी दिए । ‘जनकपुरदेखि जयनगरसम्म सञ्चालन हुने रेलको उद्घाटन नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा गर्ने तयारी सहित हामी अघि बढिरहेका छौं,’ मन्त्री महासेठले भने ।

भारतीय दूतावासमार्फत मोदीलाई पत्राचार गर्ने तयारी भएको उनले जानकारी दिए । ‘नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्रीले संयुक्त रूपमा रेललाई हरियो झण्डा देखाएर उद्घाटन गर्ने तयारीका साथ हामी अघि बढिरहेका छौं,’ मन्त्री महासेठले भने, ‘त्यसका लागि नेपाल सरकारले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत पत्राचार गर्ने मन्त्रालयले तयारी समेत गरेको छ ।’

नेपाल सरकारले भारतीय रेल कम्पनी कोनकर्णसँग ८५ करोड रुपैयाँमा दुईवटा रेल किन्नका लागि सम्झौता गरेर रुपैयाँ समेत पठाइसकेको मन्त्री महासेठले बताए । ९० दिनभित्र रेल पठाइदिने सम्झौता भएको भन्दै उनले ६० देखि ७० दिनभित्र जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आउने बताए ।

विगतमा पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री ओलीले संयुक्त रूपमा रेलको उद्घाटन गर्ने तयारी भएको थियो । तर भारत सरकारले आफ्नो रेल उद्घाटन गरेर फिर्ता लैजाने कुरा भएपछि नेपाल सरकारले मानेको थिएन । नेपाल सरकारले आफैँ रेल किनेर मात्र सञ्चालनमा ल्याउने भनेपछि कार्यक्रम स्थागित भएको थियो ।

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्