Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीर्थयात्रीबाट हुम्लामा ८ बढी लाख राजस्व सङ्कलन

हुम्ला : कैलाश मानसरोवर दर्शनका लागि भारतीय तीर्थयात्री सिमकोटमा भित्रिन शुरु भएको छ । हुम्लाको सिमकोट-हिल्सा नाका हुँदै बर्सेनि हजारौँ तीर्थयात्री कैलाश मानसरोवर दर्शन गर्नका लागि हुम्ला पुग्छन् । पहिलो दिन शनिबार हवाईमार्गबाट नेपालगञ्ज हुँदै ७१ भारतीय तीर्थयात्री सिमकोट पुगेका थिए ।

शनिबारदेखि बिहीबारसम्म नेपालगञ्ज हुँदै कैलाश मानसरोवर दर्शन यात्राका लागि सिमकोटमा ३३२ महिला र ४०१ पुरुष गरी ७३३ भारतीय तीर्थयात्री हुम्ला पुगेका छन् । सिमकोट गाउँपालिकाले गएको वर्षदेखि हुम्लाको सिमकोट हुँदै हिल्सा नाका पार गर्ने तीर्थयात्री र बाह्य पर्यटकबाट प्रतिव्यक्ति एक हजार १०० रुपैयाँ उठाउने गरेको छ ।

६ दिनमा हुम्ला भित्रिएका ७३३ भारतीय पर्यटकबाट सिमकोट गाउँपालिकाले ८ लाख ६ हजार ३०० रुपैयाँ राजस्व सङ्कलन गरेको सिमकोट गाउँपालिकाबाट विमानस्थलमा राजश्व सङ्कलन गरिरहेका दीपेन्द्र भण्डारीले जानकारी दिए । भारतीय तीर्थयात्री सिमकोट हुँदै कैलाश मानसरोवर दर्शन गराउने जिम्मा लिएको ट्राभल एजेन्सीले अहिले पैसा नदिएको तर ८ लाखभन्दा बढी राजश्व सङ्कलन भएको भण्डारीले बताए ।

गाउँपालिकाले बाह्य पर्यटकबाट उठेको राजस्व गाउँपालिकामा लगानी गर्ने जानकारी दिएको छ । सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाले बाह्य पर्यटकबाट उठेको राजश्व ६०/४० गरेर दुई गाउँपालिकाले रकम बाँडफाँड गर्ने निर्णय भएको सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जानकारी दिए ।

दर्जीका अनुसार बाह्य पर्यटकबाट उठेको राजश्व रकमबाट ६० प्रतिशत पाउने भएको छ भने नाम्खा गाउँपालिकाले ४० प्रतिशत राजश्व पाउने भएको हो ।

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्