Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उभौली पर्वले समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा दिन्छ : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले किरात समुदायको उभौली पर्वले नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव थप सुदृढ पार्न अभिप्रेरित गर्दै समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा दिने बताएकी छिन् ।

उभौली पर्वका अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका राई, लिम्बू, याक्खा, सुनुवारलगायत किरात समुदायमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छिन् । उनले प्रकृतिपूजक किरात समुदायलाई धर्तीको वातावरण स्वच्छ राख्न यस पर्वले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

सन्देशमा भनिएको छ, ‘यस्ता पर्वहरूले हाम्रो सांस्कृतिक धरोहर र सम्पदालाई समुन्नत तुल्याउँदै विविधताको सम्मान गर्ने संस्कृतिको प्रवर्द्धन र विकास गर्न सघाउँछ भन्ने मलाई लाग्दछ ।’ यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले उभौली पर्वको अवसरमा देशविदेशमा रहेका किरात समुदायमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उभौलीका अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालमा बसोबास गर्ने विविध जाति, भाषा र धर्मावलम्बीको एकता गर्व गर्न लायक रहेको बताएका छन् । सन्देशमा उल्लेख छ, ‘नेपालीले यस विविधतालाई एकताको प्रमुख सूत्रका रुपमा स्वीकारेका छन् ।

जुन, विश्वका अरु देशका लागि पनि प्रेरणाको स्रोत हो, हाम्रो जातीय विविधामा द्वन्द्वको खेती गर्ने प्रयास विगतमा नभएको होइन तर नेपालीले यस्ता तत्वलाई बेलैमा पहिचान गरेर अस्वीकार गरे र देशमा जाति, धार्मिक र सांस्कृतिक सद्भावकायम राखे ।’ उनले सरकार समानतासहितको समृद्ध नेपाल निर्माण गर्ने पक्षमा रहेको उल्लेख गर्दै यस अभियानमा नेपालका सबै जाति, भाषा र धर्मका मानिसका सक्रिय ऐक्यबद्धताको आवश्यकता रहेको बताएका छन् ।

प्रकाशित मिति: May 18, 2019

प्रतिक्रिया दिनुहोस्