Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकताको छलफलमा अल्मलिएको राजपा नेपाल जुट्यो महाधिवेशनको तयारीमा

काठमाडौ : संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरणपछि बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालल महाधिवेशनको तयारीमा जुटेको छ ।

तयारी नपुगेको भन्दै सो पार्टीले यही वैशाखमा गर्ने भनेको महाधिवेशन कात्तिक २८, २९ र ३० गतेका लागि सारेको थियो । मिति सरेलगत्तै तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्न राजपाका नेता कार्यकर्ता लागि परेका हुन् ।

यसअघि फोरम नेपाल र नयाँ शक्तिसँगको एकीकरणका लागि राजपा नेपालका तर्फबाट पनि प्रयास भएको थियो । वार्ता समितिका संयोजक राजेन्द्र महतो, नयाँ शक्ति र फोरम नेपालसँग पटक पटक छलफल भएको थियो । उता फोरम नेपालसँग पनि एकताका लागि प्रयास भइरहेको थियो । त्यसका लागि दुई-दुई पटक पत्र नै आदान प्रदान पनि भएपनि फोरम नेपालले नयाँ शक्ति नेपालसँग एकीकरण गरेपनि राजपा नेपालसँग औपचारिक वार्ता समेत भएन ।

केही समय एकताका लागि छलफलमा अल्मलिएको राजपा नेपाल अहिले भने महाधिवेशनको तयारीमा जुटेको प्रवक्ता एवं महासचिव केशव झाले बताए । झाका अनुसार विधानको मस्यौदा तयार भइसकेको छ, वैशाख ३१ गते त्यसलाई अन्तिम रुप दिने तयारी भइरहेको छ । वैशाख मसान्तसम्म सदस्यता लिने मिति पनि तोकिएको छ । जेठ ५ गतेसम्म जिल्लामा सदस्यता काटिएको प्रतिवेदन आइसक्नुपर्ने र त्यहाँबाट १० गतेभित्र केन्द्रमा आइपुग्ने मिति तोकिएको प्रवक्ता झाले बताए ।

सदस्यता वितरणका लागि पटक पटक म्याद थपिएको थियो । यो म्याद अन्तिम भएकाले नथपिने उनले बताए । सदस्यताको तथ्याङ्क आइसकेपछि वडादेखि प्रदेशसम्मको अधिवेशनको मिति तय हुने झाको भनाई छ । तल्लो तहदेखि माथिसम्मै निर्वाचन प्रकृयाबाट पदाधिकारी चयन गर्ने तयारी राजपा नेपालको छ ।

हाल राजपा नेपाल अध्यक्षमण्डलीय प्रणालीबाट चलिरहेको छ । जिल्लादेखि केन्द्रसम्म ६ सदस्यीय अध्यक्षमण्डल रहेका छन् । अब महाधिवेशनपछि एकल अध्यक्ष प्रणालीमा जाने विधानमा व्यवस्था गरेको राजपा नेपालका एक नेताले बताए ।

‘महाधिवेशनसम्म अध्यक्षमण्डलीय प्रणालीबाट चल्नेछ । अगामी महाधिवेशनपछि महन्थ ठाकुर अध्यक्ष रहने लगभग सहमति भइसकेको छ’ स्रोतले जनाएको छ । पार्टीमा सबैभन्दा सिनियर भएको हुनाले सहमतिकै आधारमा पार्टीको अध्यक्ष महन्थ ठाकुरलाई बनाउने लगभग सहमति नै भएको हो ।

महाधिवेशनमा चुनाव भए त्यसमा ठाकुरले भाग नलिने बुझेर नै आन्तरिक सहमति अनुसार एक कार्यकालका लागि ठाकुरलाई अध्यक्ष बनाउने नेताहरुबीच सहमति भएको बताइएको छ । ठाकुरलाई अध्यक्ष बनाएपनि सामूहिक नेतृत्वमा निर्णयहरु हुने प्रावधान राखिने अर्का एक नेताले बताए ।

 

प्रकाशित मिति: May 9, 2019

प्रतिक्रिया दिनुहोस्