Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको मोडेलमा फोरम र नयाँ शक्तिबीच एकता तयारी, महाधिवेशनपछि राजपालाई पनि सामेल गराइने

काठमाडौ : सत्तासिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरणको घोषणा गर्ने तयारी भइरहेको छ । दुई पार्टीबीच लामो समयदेखि एकीकरणका लागि पहल भइरहेपनि बल्ल अहिले आएर टुङ्गोमा पुगेको छ ।

एकीकरणको विषयमा दुई दलको वार्ता समितिको बीचमा सहमति भइसकेको छ, त्यसलाई पार्टीको आधिकारिता दिनका लागि नयाँ शक्ति नेपालले वैशाख २० गते सचिवालयको बैठक बोलाएको छ ।

नयाँ शक्तिसँग एकीकरण गर्ने भएपछि फोरम नेपालले आफ्नो केन्द्रीय महाधिवेशन सार्ने तयारी पनि गरिरहेको फोरम नेपाल पार्टी कार्यालय स्रोतले जनाएको छ ।

वैशाख २८, २९ र ३० गते जनकपुरमा महाधिवेशन गर्ने मिति तय गरेको थियो । तर नयाँ शक्तिसँग एकीकरण गरेपछि अर्को एकता महाधिवेशनको मिति तोक्ने तयारी भइरहेको बताइएको छ ।

बैठकमा फोरम नेपालसँग एकीकरण हुने विषयमा छलफल हुने र त्यसलाई पारित गर्ने नयाँ शक्ति पार्टीका एक नेताले बताए । त्यस्तै त्यही विषयमा छलफल गर्नका लागि फोरम नेपालले वैशाख २१ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बैठकमा नयाँ शक्तिसँगको एकीकरण र महाधिवेशनको बारेमा छलफल हुने बताइएको छ । अहिलेसम्म एकीकृत पार्टीमा दुवै दलका अध्यक्ष रहने गरि अध्यक्षमण्डल रहनेछ ।

अर्थात नेकपाको मोडेलमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई दुईजना नै अध्यक्ष रहने बताइएको छ । निर्णय गर्ने अधिकार दुवैजनाको समान रहने भएपनि वरिष्ठताक्रममा भट्टराई पहिलो नम्बरमा रहने बताइएको छ ।

अरु पदको बारेमा दुई पार्टीबीच छलफल भइरहेको छ । नयाँ शक्ति नेपालले एउटा अर्को शर्त पनि अघि सारेको छ, त्यो सरकार छाड्ने कुरा । नयाँ शक्तिले फोरम नेपाललाई सरकार छाड्न भनेको छ ।

यसको विषयमा फोरम नेपालले कुनै निर्णय दिएको छैन । यस विषयमा पार्टीमा छलफल गरेर जानकारी गराउने भनेको छ । फोरम नेपालले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई यो एकीकरणमा सामेल गराउन भनेको छ ।

त्यसका लागि एक दुईपटक तीनटै दलको बीचमा छलफल पनि भएको छ, तर राजपा नेपालको तर्फबाट खासै सक्रियता नदेखाएपछि फोरम नेपाल र नयाँ शक्ति नेपाल अगाडि बढेको छ ।

यद्यपी राजपा नेपाल र फोरम नेपालबीच पत्रको आदान प्रदान मात्र भएको छ । एकीकरणका लागि औपचारिक वार्ता भएको छैन ।

प्रकाशित मिति: May 1, 2019

प्रतिक्रिया दिनुहोस्