Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीलङ्का आतंकवादी हमलामा नयाँ मोड : प्रहरीलाई थियो शृङ्खलाबद्ध हमलाबारे पूर्व जानकारी

श्रीलंका :  श्रीलंकाको चर्च र होटलहरुमा आइतबार भएका ८ शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १६० पुगेको छ । यसमा दर्जनौँ विदेशी नागरिक पनि परेका छन् ।

१० वर्षअघि गृहयुद्ध समाप्त भएपछिको सबैभन्दा ठूलो हिंसात्मक घटनाको भत्सर्ना गर्दै प्रधानमन्त्री रनिल विक्रमासिंघेले यसलाई कायरताको संज्ञा दिएका छन् । उनले स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको पनि बताएका छन् ।

आइतबार बिहान लगातार ६ वटा शृङ्खलाबद्ध विस्फोट भएका थिए भने त्यसको २ घण्टापछि थप दुई विस्फोट भएका थिए । यसले राजधानी कोलम्बोको चर्चित सेन्ट एन्थोनी श्राइनमा पनि क्षति पुगेको थियो ।

डेली मेलका अनुसार श्रीलंकामा भएको शृङ्खलाबद्ध हमलामा कम्तिमा ३५ जना विदेशी नागरिक मारिएका छन् । अस्पताल स्रोतका अनुसार मारिने विदेशी नागरिकमा बेलायती, डच, पोर्चुगिज र अमेरिकी नागरिक रहेका छन् । घटनामा जापानी नागरिक पनि घाइते भएको बताइएको छ ।

घटनापछि सेन्ट एन्थोनीमा पुगेका एएफपीका फोटोपत्रकारले भुइँमा यत्रतत्र छरिएको अवस्थामा देखेको जानकारी दिएका छन् । चर्चको छत नै बम विस्फोटमा क्षतिग्रस्त बनेको थियो भने भुइँमा जमेको रगतको तालमा छतको टाइल्स र काठका टुक्राहरु तैरिहरेका थिए । घाइतेहरुलाई तत्कालै निजिकैको अस्पतालमा लगिएको थियो ।

प्रहरी प्रमुखको चेतावनी

विस्फोटबारे कसैले जिम्मा लिएको छैन र विस्फोटको प्रकृतिबारे कुनै जानकारी आएको छैन । तर, एएफीका अनुसार श्रीलंका प्रहरीका प्रमुख पुजुथ जयासुन्दराले आफ्ना शीर्ष अधिकारीहरुलाई १० दिन अघि ‘चर्चित चर्च’ हरुमा आत्मघाती बम आक्रमण हुनसक्ने चेतावनी दिएका थिए ।

एउटा विदेशी गुप्तचर एजेन्सीले एनटीजे ९नेसनल थोउविथ जमाथ० ले चर्च तथा कोलोम्बोस्थित भारतको हाइकमिसनमा आक्रमण गर्ने योजना बनाइरहेका छन्,’ चेतावनी सन्देशमा भनिएको थियो ।

एनटीजे श्रीलंकाको कट्टरपन्थी मुस्लिम समूह हो । गत वर्ष बुद्धका मुर्तीमा भएको तोडफोडमा यही समूहको हात रहेको थियो । रक्षा मन्त्रालयले आइतबार साँझ ६ बजेपछि कर्फ्यु आदेश जारी गरेको छ भने केही समयका लागि सामाजिक सञ्जाल प्रतिबन्धित गरिएको थियो ।

आइतबार पहिलो विस्फोट कोलम्बोको सेन्ट एन्थोनी चर्चमा भएको थियो भने दोस्रो विस्फोट त्यहाँबाट उत्तरमा रहेको नेगोम्बोस्थित सेन्ट सबास्टियन चर्चमा भएको थियो । लगत्तै प्रहरीले पूर्व तटमा रहेको बाटिकालोवास्थित अर्को चर्चका साथै कोलम्बोस्थित ३ लक्जरी होटलमा विस्फोट भएको जानकारी दिएको थियो ।

साँझ कोलोम्बोको दक्षिणमा रहेको अर्को होटलमा विस्फोट भएको थियो जसमा थप दुई जनाको ज्यान गएको थियो । त्यस्तै, अर्को विस्फोट कोलम्बोको उत्तरमा रहेको ओरुगोदावात्तामा भएको थियो । निशाना बनाइएका होटलहरु श्रीलंकामा पर्यटकहरुका लागि चर्चित मानिने होटलहरु रहेका छन् । जसमा प्रधानमन्त्री निवास नजिकै रहेको सिनामोन ग्रान्ड पनि रहेको छ । एक अधिकारीका अनुसार होटलको रेस्टुरेन्टमा विस्फोट भएको थियो ।

त्यस्तै, सांग्रिला होटलमा पनि विस्फोटबाट ठूलो क्षति भएको छ । कोलोम्बोमा रहेका राजदूतावासहरुले आफ्ना नागरिकहरुलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको थियो भने श्रीलंका एयरलाइन्सले यात्रुहरुलाई सुरक्षा जाँचका कारण ४ घण्टाअघि विमानस्थल आउन आग्रह गरेको थियो ।

श्रीलंकामा बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको छ भने मात्र ६ प्रतिशत ईसाई धर्मावलम्बी रहेका छन् । गत जनवरीमा प्रहरीले जंगलबाट ठूलो मात्रामा विस्फोटक पदार्थसहित कट्टरपन्थी मुस्लिम समूहका चार जना सदस्यहरुलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: Apr 21, 2019

प्रतिक्रिया दिनुहोस्