Logo
१५ बैशाख २०८१, शनिबार
(April 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैदेशिक रोजगार व्यवसायीले आम्दानी नदेखाई कर लुकाएको महालेखा परीक्षकको ठहर

काठमाडाैं : वैदेशिक रोजगार व्यवसायीहरूले आम्दानी नदेखाई कर लुकाएको महालेखा परीक्षकले ठहर गरेकाे छ ।

महालेखा परीक्षकको ५६ औँ वार्षिक प्रतिवेदनले व्यवसायीहरुले समेत कर छल्ने गरेको पाइएको भन्दै त्यस्ता व्यवसायीसँग कर असुल गर्न निर्देशन दिएको छ । वैदेशिक रोजगार व्यवसायीहरुले टिकट खरिद तथा बिक्रीमा आय व्याय नदेखाएको तथा सोबाट हुने लाभसमेत कहीँ कतै उल्लेख नगरेको भन्दै त्यस्ता वैदेशिक रोजगार व्यवसायीको आय व्याय छानविन गरी करको दायरामा ल्याउन तथा छुट भएको करसमेत असुल गर्न निर्देशन दिएको हो ।

प्रतिवेदनको पृष्ठ १ सय १२ मा अर्थ मन्त्रालय मातहत रही भाग ७४ मा वैदेशिक रोजगार व्यवसायीको आय शीर्षकमा उक्त कुरा उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार वैदेशिक रोजगार व्यवसायीले टिकट खरिद गर्दा खरिद गरेको रकम आयमा नदेखाएको र त्यसबाट हुने आम्दानीसमेत लुकाएको भन्दै १३ करोड २७ लाख शुल्क तथा त्यसको ब्याजसमेत असुल गर्न निर्देशन दिएको हो ।

आयकर ऐन, २०५८ को दफा ७ अनुसार सेवा शुल्कलाई समेत आयमा समावेश गर्नुपर्ने उल्लेख छ । तर ठूला करदाता कार्यालय अन्तरगतका हवाई टिकट बिक्री तथा कारोबार गर्ने करदाताको सम्परीक्षण गर्दा टिकट व्यावसायीले टिकट बेचेको देखाएपनि वैदेशिक रोजगार व्यावसायीले भने खरिद गरेको नदेखाएको भन्दै वैदेशिक रोजगारी व्यावसायीले कर छली गरेको औंल्याएको हो ।

आर्थिक वर्ष २०७४-७५ को उक्त प्रतिवेदनमा विभिन्न वैदेशिक रोजगार व्यावसायीले ९० करोड ८ लाख ९६ हजारको टिकट खरिद गरेको देखिएको छ । तर त्यही आर्थिक उनीहरुको जम्मा आम्दानी भने ३७ करोड २ लाख ५१ हजार मात्रै देखाएको पाइएको छ ।

यसरी आम्दानी नै नदेखाएको तर खर्च भएको रकम ९० करोडभन्दा बढी भएपछि ती व्यवसायीहरुले आम्दानी नदेखाई कर लुकाएको महालेखा परीक्षकको ठहर छ । त्यसै आधारमा ९० करोड ८ लाख ९६ हजारको खरिद तथा ३७ करोड २ लाख ५१ हजारको मात्रै आम्दानी देखाएको कारण आम्दानी नदेखाएको बाँकी ५३ करोड ६ लाख ४२ हजार रकमको २५ प्रतिशतले हुन आउने कर अर्थात् १३ करोड २६ लाख ५८ हजार रुपैयाँ असुल गर्न तथा उक्त कर नबुझाएको अवधिको ब्याजसमेत असुल गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

महालेखाको प्रतिवेदनअनुसार ठूला करदाता कार्यालय मातहत रही टिकट बेच्ने एक टिकट विक्रेताले ३ ठैला वैदेशिक रोजगार व्यावसायीलाई मात्रै ८ करोड १ लाखको हवाई टिकट बिक्री गरेको देखाएको छ ।तर करदाता कार्यालय तीनकुने र बत्तीसपुतली मातहत रही कारोबार गर्ने ती ठूला तीन व्यवसायीले स्थायी लेखा नम्बर (प्यान) लिई आयव्याय विवरण पेश नगरेको पाइएको छ । त्यसकारण ती तीन व्यावसायीको फूल अडिट गर्न तथा कर छुट दिएको अवस्थामा पनि उक्त कर असुल गर्न निर्देशन दिएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनले वैदेशिक रोजगार व्यावसायीले आय व्याय विवरण उल्लेख नै नगरी कारोबार गर्ने गरेको र कर छली गर्ने गरेकोतर्फ संकेत गर्दै व्यावसायीको आयव्यायमा ‘क्रसचेक’ गर्न निर्देशन दिएको हो ।

प्रकाशित मिति: Apr 15, 2019

प्रतिक्रिया दिनुहोस्