Logo
१५ बैशाख २०८१, शनिबार
(March 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वलीमाथि कर्तव्य ज्यान-राजद्रोह र संगठित अपराधको मुद्दा, नेकपा प्रवक्ताबाट प्रकाण्ड निलम्बित

काठमाडौं : काभ्रेबाट पक्राउ गरिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ माथि कर्तव्य ज्यान, राजद्रोह र संगठित अपराधमा मुद्दा चलाइने भएको छ । शनिबार बिहान काभ्रेबाट पक्राउ परेका वलीमाथि ललितपुर प्रहरीमा कर्तव्य ज्यानसम्बन्धी उजुरी रहेको छ ।

गएको फागुन १० गते नख्खुस्थित एनसेल गेटमा बम विस्फोटपछि वलीले घटनाको जिम्मेवारी लिएका थिए । नख्खु विष्फोटमा एकजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए । वलीसहित नौजनालाई प्रहरीको विशेष ब्यूरो, अपराध महाशाखाको टोली र काभ्रे प्रहरीले पक्राउ गरेको थियो ।

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ५० को उपदफा १ मा राजद्रोहको मुद्दामा २५ वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ ।मुलुकी अपराध संहिता ऐन २०७४ को दफा ५० को उपदफा १ मा भनिएको छ, ‘‘नेपाल सरकार वा संवैधानिक संरचनालाई पल्टाउने नियतले कसैले सैनिक, अर्धसैनिक वा आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी कुनै अव्यवस्था उत्पन्न गर्न वा हातहतियार सहित सैनिक वा अर्धसैनिक संगठन निर्माण गर्न वा त्यस्तो षड्यन्त्र वा उद्योग गर्न वा गराउन दुरुत्साहन दिन हुँदैन । यस्तो कसुर गर्ने व्यक्तिलाई २५ वर्षसम्म कैद हुनेछ ।’’

वलीमाथि ज्यानसम्बन्धी कसुर प्रमाणित भएको अवस्थामा पनि उनी १० वर्षसम्म जेल सजाय पाउन सक्छन् । वलीसँगै शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेका छन् । वली विप्लवको पार्टीका तेस्रो नम्बरका नेता तथा प्रशिक्षण विभाग प्रमुख हुन् ।

प्रकाण्ड प्रवक्ताबाट निलम्बनमा
यसैबीच विप्लवका विश्वासपात्र मानिने खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई नेकपाले प्रवक्ताबाट निलम्बन गरेको छ । केहि महिना अघि सर्वोच्चको आदेशमा ४९ दिनपछि रिहा भएका प्रकाण्डका गतिविधि शंकास्पद रहेको पाइएपछि नेकपाले उनलाई निलम्बन गरेको हो । ‘‘उहाँका विषयमा पार्टीभित्र धेरै विमतिहरु छन् ।

प्रकाण्डजीका आर्थिक अपारदर्शिता लगायतका कयौं विषयहरु अस्पष्ट छन् । आफूखुशी पार्टीको लाइनविपरीत बोल्दै हिँड्न थालेपछि निलम्बन गरेका हौं,” एक नेताले भने । पछिल्लो समय विप्लव, हेमन्तप्रकाश वली लगायतका नेताले विभिन्न घटनाको जिम्मेवारी लिँदै विज्ञप्ति निकाल्दै आएका थिए ।

प्रकाण्डलाई पार्टी स्थायी समिति बैठकले कुनै विज्ञप्ति जारी नगर्न, पार्टीको धारणा सञ्चारमाध्यममा सार्वजनिक नगर्न निर्देशन दिएको स्रोतले बतायो । विप्लव समूहका दोस्रो नेताका रुपमा चिनिँदै आएका प्रकाण्ड र विप्लवपछि पछिल्लो समय अन्तरसंघर्ष चर्किंदै गएको छ । प्रकाण्डले पार्टीका आन्तरिक सूचना चुहाएको आरोप पनि लाग्दै आएको छ । प्रकाण्डले सरकारसँग वार्ता गर्न पार्टी तयार रहेको बताएपछि विप्लवले विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेका थिए ।

प्रकाशित मिति: Mar 24, 2019

प्रतिक्रिया दिनुहोस्