Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिका र चीनका व्यापार : टेलिफोन वार्तामै युद्ध रोक्न गरे यस्तो तयारी

बेइजिङ : संयुक्तराज्य अमेरिका र चीनका वरिष्ठ अधिकारीहरुबीच व्यापार वार्ताका बारेमा टेलिफोनमा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त टेलिफोन वार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको सम्भाव्य शिखर बैठकको मिति भने तय नभएको बताइएको छ । अमेरिकी अर्थमन्त्री स्टिभन मनचिन र व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले चीनका वरिष्ट आर्थिक अधिकारी लिऊ हे सँग टेलिफोनमा कुराकानी गरेका थिए । उनीहरुबीच व्यापारसम्बन्धी मुलभूत विषयहरुमा छलफल भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीन र संयुक्तराज्य अमेरिकाबीच गत वर्षदेखि नै युद्धको रुप लिएको व्यापारिक तनाव जारी छ । दुबै मुलुकले एकअर्का मुलुकका करिब ३ खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । विश्व अर्थतन्त्रका पहिलो र दोस्रो स्थानमा रहेका अमेरिका र चीनको उक्त तनावले विश्वको आर्थिक वृद्धिमै असर पार्न थालेको छ । दुबै देशका वरिष्ट अधिकारीहरु व्यापारका क्षेत्रमा उत्पन्न असमझदारी अन्त्य गर्ने उपायको खोजी गरी नयाँ सम्झौता गर्ने तयारीमा छन् ।

दुई मुलुकबीच कुनै किसिमको सम्झौता नभए अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा थप करवृद्धि गर्ने चेतावनी दिइसकेका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले व्यापार वार्ताका क्रममा सुल्झन बाँकी मुद्दालाई टुङ्गो लगाई सम्झौतामा हस्ताक्षर गर्न अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच अमेरिकाको फ्लोरिडामा शिखर बैठक हुनसक्ने बताएको छ ।

तर ट्रम्पकी प्रवक्ता सराह स्यान्डर्सले बैठकको मिति घोषणा गर्ने समय आइनसकेको बताएकी छिन् । ‘मितिको कुनै टुङ्गो लागेको छैन । चीनसँगको व्यापार वार्ता अझै जारी छ,’ सराहले ह्वाइट हाउसमा भनिन् । ‘वार्तामा सहमति हुने सम्भावना हुनासाथ बैठकको मिति घोषणा हुन्छ ।’ सराहले दुबै राष्ट्रपतिबीच टेलिफोनमा तत्काल कुराकानी हुने बारेमा आफूलाई जानकारी नभएको बताइन् । -एएफपी

प्रकाशित मिति: Mar 12, 2019

प्रतिक्रिया दिनुहोस्