Logo
१३ बैशाख २०८१, बिहीबार
(March 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिमपातको असर : मुगुमा उपभोग्य वस्तुको अभाव, हिउँ पन्छाउन डोजर प्रयोग

मुगु : लगातारको हिमपातले सडक अवरुद्ध हुँदा मुगुमा उपभोग्य वस्तुको अभाव हुँदै गएको छ ।

मगु सदरमुकाम गमगढी जोड्ने कर्णाली राजमार्गअन्तर्गत गमगढी-नाग्मा सडक करिब डेढ महिनादेखि अवरुद्ध हुँदा गमगढी बजारमा उपभोग्य सामग्री अभाव हुँदै गएको हो । सडकमार्ग अवरुद्ध भएपछि खाना पकाउने ग्यास अभाव हुन थालेको छ। हिमपातले लामो समयसम्म सडक बन्द भएपछि दैनिक उपभोग्य समानको अभाव हुन थालेको उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढाले बताए ।

सडक खुलाउन सरोकारवाला निकायले पहल गरे पनि हिमपात नरोकिँदा समस्या भएको उनको भनाइ छ  । बजार क्षेत्रमा चामल, चिनी, तेल, मैदा, बिस्कुट, चाउचाउलगायतको वस्तु अभाव हुन थालेपछि गाउँगाउँबाट आएका उपभोक्ता मर्कामा परेका छन् ।

अलपत्र मालवाहक गाडी दैनिक उपभोग्य वस्तु बोकेर मुगुका लागि हिँडेका मालवाहक गाडी बीच बाटोमै अलप्रत्र परेका छन् । जुम्लाको गोडी ज्युला, भुलभुलेमा डेढ महिना देखि मालवाहक गाडी रोकिएका छन् । बाटोमा हिउँ जमेपछि आवतजावत गर्न समस्या भएको र सडक नखुलेकाले यातायाताका साधन बीच बाटोमा रोकिएका छायानाथ रारा नगरपालिका-६ का सन्देश कुलालले बताए ।

उनका अनुसार दिगो सडक नभएकाले बर्सेनि यस्तै समस्या हुने भए पनि यसको विकल्प कसैले नखोजेकाले स्थानीयवासीको गुनासो छ । यता खत्याड जोड्ने सडक पनि डेढ महिनादेखि अवरुद्ध छ । सडक अवरुद्ध हुँदा खत्याड गाउँपालिकाबाट जिल्ला सदरमुकाम गमगढीमा पुग्न दुई दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यता छ । डोजरले हिउँ पन्छाइँदै नाग्म(गमगढी सडकखण्डमा जमेको हिउँ सोमबारदेखि डोजर लगाएर पन्छाउन थालिएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार जुम्ला मुगु दुवै जिल्लामा डोजर लगाएर सडक खुलाइँदै छ । मौसममा केही सुधार भएकाले नाग्म-गमगढी सडकमा डोजर लगाएर हिउँ हटाई सडक खुलाउने कामलाई तीव्ररुपमा अघि बढाइएको सडक डिभिजन कार्यलय जुम्लाका इन्जिनियर सवनकुमार महताराले जानकारी दिए । उनका अनुसर मौसमले साथ दिए दुई तीनभित्र सडक पूर्णरुपमा सञ्चालनमा आउने छ ।

प्रकाशित मिति: Mar 4, 2019

प्रतिक्रिया दिनुहोस्