Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१ बर्षको अवधिमा १ साता पनि मन्त्रालय नगएका प्रदेश २ का मन्त्री ‘फ्याशन शो’ मा

जनकपुरधाम : प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा मन्त्री रामनरेस रायको कार्यकक्ष अधिकांश समय सुनसान नै रहन्छ । उनको कार्यकक्ष कहिलेकाँही खुलेपनि प्रायः बन्द नै रहन्छ । गत फागुनमा मन्त्री बनेपछी उनी यस एक बर्षको अवधिमा एक साता पनि मन्त्रालय गएका छैनन । उनले सरकारी आवासबाट नै मन्त्रालय चलाउँदै आएका छन ।

तर मन्त्रालय नजाने मन्त्री राय बिहीबार भने जनकपुर स्थित एक होटेलमा आयोजित फ्याशन शोमा देखिए । उनले आफु जागिरे कर्मचारी नरहेकोले मन्त्रालयमै बस्नुपर्ने आफ्नो बाध्यता नरहेको बताए । मन्त्रालयमा बस्न फुर्सद नै नरहेका मन्त्रीलाई भने फ्याशन शोमा घण्टौसम्म बसेको देख्दा शोमा सहभागी भएका दर्शकहरु समेत आश्चर्यचकित भएका थिए ।

एल एण्ड एन मोडेल एजेन्सीले आयोजना गरेको जनकपुर फ्याशन शो एण्ड म्युजिक इभेन्टमा मन्त्री राय प्रमुख अतिथी बनेर घण्टौसम्म बसिरहे । नाम नबताउने सर्तमा एक जना सहभागीले भने-‘मन्त्रीलाई मन्त्रालय जान फुर्सद हुँदैन तर फ्याशन शोमा बस्न घण्टौ फुर्सद रहन्छ, यस्तो अवस्थामा प्रदेशका जनता र प्रदेशको विकास कसरी हुन्छ ?’ ।

प्रदेशका मन्त्रीहरुले आफ्नो भाषणमा सदैव प्रदेशको समृद्धिका लागि कहिले पछाडी नपर्ने बताएपनि व्यवहारमा त्यसो नदेखिएको सहभागीहरुकै गुनासो छ । जनताले समृद्ध प्रदेश निर्माणका लागि आफ्नो अमूल्य मत दिएर जिताएका जनप्रतिनिधिहरुले आफ्नो काम कर्तव्य बिर्सेर कुनै तुक नै नभएका कार्यक्रमहरुमा सहभागी हुने हो भने प्रदेशको अवस्था कस्तो होला कल्पना गर्न सकिन्छ ।

मन्त्रीलाई हस्ताक्षर गर्नुपर्ने फाईल बोकेर कर्मचारीले उनको आवाससम्म पुग्नुपर्ने बाध्यता हुन्छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय चौथो तल्लामा रहेकाले उनलाई आवतजावत गर्न अप्ठयारो हुन्छ,एक कर्मचारीले बताए । मन्त्री रायलाई गत बैशाखमा हृदयघात भएको थियो ।

तर अब उनको स्वास्थ्य अवस्था ठिक भईसकेपनि उनी मन्त्रालय जाँदैनन । मन्त्रीको आफ्नो मनमौजी छ, एक कर्मचारीले भने – ‘मन लागे आउने नत्र हामी नै फाईल बोकेर उनको निवासमा पुग्छौं ।’ मन्त्री राय कार्यकक्षमा नबस्दा जनता र कर्मचारीलाई समेत काम गराउन अप्ठयारो हुनेगरेको छ ।

प्रकाशित मिति: Feb 15, 2019

प्रतिक्रिया दिनुहोस्