Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नम्बर १ को अवस्था : ८ वर्षमा २० प्रतिशत काम, ठेकेदार भागेपछि पुल निर्माण अलपत्र

खाँदबारी : प्रदेश नम्बर १ स्थित संखुवासभा र भोजपुर जोड्ने लम्सुवा घाटको पुल निर्माणको काम छाडेर ठेकेदार भागेपछि पुल निर्माण कार्य अलपत्र परेको छ । स्वच्छन्द निर्माण कम्पनीले २०६७ सालमा निर्माण सुरु गरिएको पुल निर्माणको काम अहिले ठप्प भएको छ ।

विभिन्न कारण देखाउँदै तीन वर्षअघि बीचमै काम छाडेर ठेकेदार भागेपछि पुल निर्माण अलपत्र बनेको हो । २०७२ असोजमा निर्माण सम्पन्न हुनुपर्ने १ सय ६७ मिटर लामो यो पुलमा ६ वटा पिलर आधा मात्रै उठाइएको छ ।

सडक विभागको बेवास्था र ठेकेदारको लापरवाहीले पुल निर्माण कार्य २० प्रतिशत मात्र भएको छ । पुलको जमिनमुनिको पिलर बिल निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको भन्दै ठेकेदारले काम छाडेको छ ।

लम्सुवा घाटमा पुल निर्माण अलपत्र भएपछि ७० हजार बढी स्थानीयले सास्ती खेप्नु परेको षडानन्द नगरपालिकाका सुरेश भण्डारीले बताए । शिलान्यास भएको ८ वर्षमा पुल निर्माण २० प्रतिशत मात्र हुनु सडक विभाग नै दोषी भएको भण्डारीको भनाइ छ ।

लम्सुवा घाटको पुल निर्माण नहुदाँ जोखिम मोलेर काठको डुंगाबाट अरुण नदी वारपार गर्नु परेको भोजपुरका चन्द्रबहादुर श्रेष्ठको भनाइ छ । उनले भने, ‘पुल हामी नहुँदा दैनिक उपभोग्य सामाग्री समेत महँगो शुल्क तिर्नु परेको श्रेष्ठको गुनासो छ ।’

यता षडानन्द नगरपालिकाका नगर प्रमुख वीरबल राईले पुल निर्माणका लागि संघीय र प्रदेश सरकारसँग पहल भइरहेको बताए । स्थानीय सरकारका तर्फबाट गर्नुपर्ने काम कुनै कसर बाँकी नभएको बताए ।

२०६७ मा तत्कालीन उपप्रधान तथा भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले पुलको शिलान्यास गरेका थिए । पुल निर्माणको ८ वर्ष बित्दा ७ वटा पिलर मात्र ठड्याइएको छ ।

तीन वषभित्र निर्माण सम्पन्न गर्ने गरी स्वच्छन्द निर्माण कम्पनीले २०६७ साल असार २५ गते सम्झौता गरे पनि पिलर राख्ने खाल्डो खन्ने क्रममा चट्टान भेटिएको भन्दै ठेकेदारले काम छोडेको छ ।

लामो समय निर्माण कार्य रोकिएपछि डिजाइन परिर्वतनका लागि समय पनि थपिएको थियो । पुल अहिलेसम्म नबन्दा स्थानीय सास्ती भोग्न परेको छ ।

भोजपुर र संखुवासभा आवतजावत गर्ने स्थानीय हिउँदको समयमा जोखिम मोलेर डुङ्गाको सहाराबाट अरुण वारपार गर्छन् भने वर्षातको समयमा अढाई घण्टाको बाटो घुमेर सतिघाट वा तुर्केपुल बाट वारपार गर्नु परेको छ ।

आठ वर्ष अगाडि सम्झौता भएको पुलको अहिलेसम्म २० प्रतिशत मात्र काम सम्पन्न भएको छ । १६ करोड ६३ लाखको लगानीमा निर्माण हुन लागेको पुल अहिले अलपत्र अवस्थामा छाडिएको छ ।

प्रकाशित मिति: Feb 8, 2019

प्रतिक्रिया दिनुहोस्