Logo
|| February 7, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवा टिप्स : यसरी तयारी गर्नुहोस् विषयगत प्रश्नोत्तर

१. नेपालको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका कस्तो रहेको छ ? उल्लेख गर्नुहोस् ।
आर्थिक विकास अर्थतन्त्रको समग्र विकास हो । आर्थिक वृद्धि दर उच्च, दिगो, फराकिलो, समावेशी तथा न्यायिक भएमा आर्थिक विकास हुन्छ । नेपालको संविधानको धारा ५१(घ)(१) मा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने नीति छ ।

विकास सहायता नीति, २०७१ ले निजी क्षेत्रलाई विकासको एक प्रमुख साझेदार स्वीकार गरेको अवस्था छ । चालू योजनामा मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रष्ट गरिएको छ र पनि नेपालको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका सन्तोषजनक भएको पाइँदैन ।

अस्थिर राजनीति, अस्थिर सरकार, अस्थिर नीति, लगानीको प्रतिकूल वातावरण, सरकार र लगानीकर्ताबीच अविश्वास, कानुनी जटिलता, ऊर्जा सङ्कट आदि कारणले नेपालमा निजी क्षेत्र फस्टाउन सकेन, जसले गर्दा नेपालको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रभावकारी हुन सकेन । समग्रमा नेपालको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका निम्नानुसार रह्यो :
– बस्तु तथा सेवाको उत्पादन र उत्पादकत्व वृद्धि हुन सकेन ।
– रोजगारी सृजना गर्ने कार्य प्रभावकारी भएन ।
– निजी क्षेत्रबीच स्वच्छ प्रतिस्पर्धात्मक वातावरण तयार हुन सकेन ।
– मूल्य वृद्धि नियन्त्रण गर्ने कार्य कमजोर भयो ।
– निर्यात वृद्धि हुन सकेन, आयात बढेर व्यापार घाटा उच्च रह्यो ।
– मुलुकमा नयाँ नयाँ प्रविधि भिœयाउन सकिएको छैन ।
– विदेशी मुद्रा आर्जन गर्ने कार्य प्रभावकारी भएको छैन ।
उपरोक्त अवस्था देखिए पनि शिक्षा, स्वास्थ्य, संचार, पर्यटनजस्ता क्षेत्रमा निजी क्षेत्रको भूमिका प्रभावकारी भएको पाइन्छ । मुलुकमा राजनीतिक स्थायित्व कायम गरी नीतिगत स्थिरता मार्फत लगानीको वातावरण तयार गरेर नेपालको समग्र आर्थिक विकासमा निजी क्षेत्रको भूमिका थप बढाउनु पर्ने देखिन्छ ।

२. बसाइँसराइ भनेको के हो ? नेपालमा बसाइँसराइ हुने प्रमुख दुई कारणहरू छोटकरीमा वर्णन गर्नुहोस ।
मानिस आफू बसेको गाउँ, ठाउँ वा देश छोडेर अर्को गाउँ, ठाउँ वा देशमा सर्ने कार्यलाई बसाइँसराइ भनिन्छ । बसाइँसराइ एक प्रकारको स्थानान्तरण हो । मानिस सामान्यतयाः सुविधाका लागि बसाइँ सर्दछन् । बसाइँसराइ एक निरन्तर प्रक्रिया भएकाले यसलाई रोक्न सकिँदैन तर व्यवस्थित गर्न सकिन्छ । यसलाई व्यवस्थित गर्न उद्गम र गन्तव्य दुबै स्थानमा विकासका विशेष कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।

नेपालमा बसाइँसराइ हुने प्रमुख दुई कारण :
नेपालमा बसाइँसराइ हुने प्रमुख दुई कारण आकर्षण पक्ष र विकर्षण पक्ष नै हुन् । आन्तरिक बसाइँसराइ र अन्तर्राष्ट्रिय बसाइँसराइ दुबैमा यी कारण जिम्मेवार छन् । जसलाई निम्नानुसार वर्णन गर्न सकिन्छ

क. आन्तरिक बसाइँसराइका कारण
१. हिमाल/पहाड प्रति विकर्षण । गरिबी, बेरोजगारी, कम उत्पादन, शिक्षा, स्वास्थ्यको कमी ।
२. तराईप्रति आकर्षण । खेतीयोग्य जमिन, इष्टमित्र, रोजगारी, यातायात, शिक्षा, स्वास्थ्यको सुविधा ।
ख. अन्तर्राष्ट्रिय बसाइँसराइका कारण
१. प्रवासका कारण
– नेपालप्रति विकर्षण गरिबी, बेरोजगारी ।
– विदेशप्रति आकर्षण उच्च तलब, रोजगारी, सुविधा ।
२. आप्रवासका कारण
– नेपालप्रति आकर्षण । शान्त, खुला सीमाना, दक्ष जनशक्ति÷मजदूरको कमी, सामाजिक एवं धार्मिक सम्बन्ध ।

३. फाइलिङको उद्देश्य के हो ? फाइल राख्ने तरिकाहरू के के हुन् ?
फाइलिङको उद्देश्य
भविष्यमा खोजेको बखत तुरुन्तै पाउने गरी कागजपत्र फाइलमा सुरक्षित राख्नु फाइलिङको प्रमुख उद्देश्य हो । फाइलिङका अरू उद्देश्य निम्न छन :
– आवश्यक परेको समयमा प्रमाणको रूपमा कागजात जुटाउनु ।
– कार्यहरूलाई दोहोरिन नदिनु ।
– एक अर्कामा तुलना गर्न सहयोग गर्नु ।
– कार्यालयमा सूचना एवं प्रतिवेदन सजिलै उपलब्ध गराउनु ।
– अनुगमन र मूल्याङ्कनको कार्यमा सहयोग गर्नु ।
फाइल राख्ने तरिकाहरू
कागजातहरू सुरक्षित हुने गरी फाइलमा मिलाएर राख्ने कार्य फाइलिङ हो । फाइलिङ बिभिन्न तरिकाले राख्न सकिन्छ । तार फाइलिङ, बाकस फाइलिङ, धरातलीय फाइलिङ, ठाडो फाइलिङ आदि तरिकाले पनि कागजपत्र फाइलमा सुरक्षित राख्न सकिन्छ । सामान्यतयाः फाइल निम्न तरिका अबलम्बन गरी राखिन्छ ः

१. वर्णानुक्रमफाइलिङ
यसमा फाइलको नाम नेपाली वर्णमाला क, ख, ग वा अङ्ग्रेजी ब् द्य ऋ को क्रममा राखिन्छ । जस्तै ः कृषि सामाग्री कम्पनी लि. ‘क’ बाट, खाद्य संस्थान ‘ख’ बाट ।

२. सङ्ख्यात्मक फाइलिङ
यसमा फाइलमा १,२,३ सङ्ख्या लेखेर कागजपत्र मिलाएर राखिन्छ । सङ्केत कार्ड सोही अनुसार तयार गर्नुपर्दछ ।

३. विषयगत फाइलिङ
यसमा कागजपत्रको विषयअनुसार फाइल बनाएर राखिन्छ । जस्तै ः कम्प्युटर सम्बन्धी कागजपत्र कम्प्यूटर नामको फाइल खडा गरेर राखिन्छ ।

४. भौगोलिक फाइलिङ
यसमा भौगोलिक क्षेत्रअनुसार फाइल खडा गरिन्छ । अञ्चल, जिल्ला, नगरपालिकाआदिको नाम लेखेर फाइल तयार गरिन्छ ।

४. नेपालमा जैविक विविधता संरक्षणका उपायहरूबारे चर्चा गर्नुहोस् ।
जीवित प्राणी एवं वनस्पतिहरूको बासस्थान र तिनको वङ्शाणुगत गुणको जगेर्ना गर्नु जैविक विविधता संरक्षण हो । हिमाल, पहाड र तराईमा विभक्त नेपालको प्रत्येक प्रदेशमा जैविक विविधतामा पनि भिन्नता छ । यिनको संरक्षण गर्नु आवश्यक छ । यसका लागि निम्न उपायहरू अवलम्वन गर्नुपर्दछ :

– नेपालको प्रत्येक भौगोलिक क्षेत्रमा अवस्थित जैविक विविधताको अध्ययन गरी प्रत्येक जीवजन्तुहरूको स्थिति, बासस्थान, अवस्थावारे जानकारी लिई सोहीअनुसार संरक्षणका कार्यक्रम तर्जुमा गरी लागु गर्ने ।
– जैविक विविधताको संरक्षणमा स्थानीय सङ्घसंस्था, समुदायको सक्रिय सहभागिता बढाउने ।
– जैविक विविधताको महìवबारे जनचेतना वृद्धि गर्ने ।
– वनजङ्गल जोगाउने, हरियाली बढाउने ।
– वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गर्ने ।
– वनसम्पदाको प्रयोगमा कटौती गर्ने ।
– वन्यजन्तुको सङ्रक्षण गर्ने ।
– रासायनिक मल एवं कीटनाशक औषधिको प्रयोग कम गर्दै जाने ।
– जैविक विविधताको संरक्षण गर्न कानुन तर्जुमा गरी कार्यान्वयन गर्ने ।
– धार्मिक एवं सांस्कृतिक परम्पराको उपयोग गरेर पनि जैविक विविधताको संरक्षण गर्ने, जस्तैः वर, पिपल, तुलसी, वेल, रुद्राक्ष आदिको जगेर्ना गर्ने ।

५. सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीका दायित्व के के हुन् ? उल्लेख गर्नुहोस् ।
सरकारले उपलब्ध गराएको सार्वजनिक सेवा ग्रहण गर्ने नागरिक सेवाग्राही हुन् । सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीका दायित्व धेरै हुन्छन् । जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :
– राष्ट्रप्रति निष्ठावान हुने ।
– देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने ।
– संविधान र कानुनको पालना गर्ने, जानकारी राख्ने, कानुनी शासनको सम्मान गर्ने ।
– राज्यले चाहेका बखत अनिवार्य सेवा गर्ने ।
– सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्ने, गराउने ।
– आफ्नो अधिकार र दायित्वप्रति सदा सचेत रहने ।
– अन्य सेवाग्राहीको अधिकारको सम्मान गर्ने ।
– कानुन बमोजिम आफूले तिर्नुपर्ने कर तिर्ने ।
– सेवा प्रदायकलाई अनुचित प्रभावमा पार्न नहुने ।
– सेवा प्रवाहमा पृष्ठपोषण लिने दिने ।

६. सरकारी बजेटका उद्देश्यहरू उल्लेख गर्नुहोस् ।
सरकारको आय र व्ययको अनुमानित विवरण सरकारी बजेट हो । यो सरकारको नीति तथा कार्यक्रम हो । सरकारी आय र व्ययको व्यवस्थापन गरी सामाजिक जनकल्याणका लागि साधनको वितरण गर्नु सरकारी बजेटको सर्वोपरी उद्देश्य हो । यसका अरू उद्देश्य निम्न छन् :
– सरकारको कार्य एवं जिम्मेवारी तोक्नु ।
– रोजगारीका अवसर सृजना गर्नु ।
– आर्थिक वृद्धि गर्नु, आर्थिक स्थिरता कायम गर्नु ।
– सामाजिक न्याय कायम गर्न सहयोग गर्नु ।
– साधन स्रोतको अधिकतम परिचालन गर्नु ।
– आवधिक योजना कार्यान्वयन गर्नमा सहयोग गर्नु ।

७. जलवायु परिवर्तनको असर कम गर्न चाल्नु पर्ने उपायहरू के के हुन् ? लेख्नुहोस् ।
जलवायु परिवर्तन कार्बनडाइअक्साइड लगायतका हरित गृह ग्यास उत्सर्जनबाट हुन्छ । त्यसैले उद्योग, कलकारखाना, यातायात तथा मानवीय क्रियाकलापहरूबाट हुने यस्ता ग्यास उत्सर्जनलाई न्यून गर्नु पर्दछ । जलवायु परिवर्तनको असर कम गर्न अरू निम्न उपायहरू चाल्नु पर्दछ :
 गरिबी र अन्य कारणबाट हुने वन विनासलाई रोक्ने ।
 मानवीय क्रियाकलाप र विकास प्रक्रियालाई वातावरणमैत्री बनाउने ।
 वातावरणीय प्रभाव मूल्याङ्कनलाई संस्थागत गर्ने ।
 प्रदूषण मापदण्ड निर्धारण गरी कार्यान्वयन गर्ने ।
 वातावरण संरक्षण तथा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिहरूको कार्यान्वयन गर्ने ।
 हरित अर्थतन्त्रको अवधारणा अवलम्बन गर्ने ।
 न्यून कार्बन उत्सर्जन विकास रणनीति तर्जुमा गरी कार्यान्वयन गर्ने ।
 वातावरण संरक्षण सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने ।
 फोहोर मैलाको उचित व्यवस्थापन गर्ने ।
 व्यवस्थित शहरीकरण तथा उचित बसोबासको व्यवस्था गर्ने ।
 वातावरणीय अनुगमन, निरीक्षण र प्रतिवेदन कार्यलाई प्रभावकारी बनाई वातावरणीय सुशासन कायम गर्ने, यस कार्यका लागि वातावरण विभागलाई थप क्रियाशील बनाउने । #गाेरखापत्रबाट

प्रकाशित मिति: २४ माघ २०७५, बिहीबार १५:४९

प्रतिक्रिया दिनुहोस्