Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सूचना तथा सञ्चार प्रविधि : द्विपक्षीय साझेदारीलाई थप घनीभूत तुल्याउने

काठमाडौँ :  नेपाल र बङ्गलादेशले सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट द्विपक्षीय साझेदारीलाई थप घनीभूत तुल्याउने प्रयास गरेका छन् । दुवै देशका आधिकारिक समाचार समितिबीचको सहकार्य र साझेदारीबाट सरकारी र जनस्तरको पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउने प्रयास भएको हो ।

नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्स र राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’, महाप्रबन्धक ओेपेन्द्र शर्मालगायत राससको उच्च व्यवस्थापनबीच करीब पाँच दशक पुरानो नेपाल-बङ्गलादेश सम्बन्धलाई दुवै देशका समाचार समितिका माध्यमबाट नयाँ उचाइमा पुर्याउन सकिने विषयमा छलफल भयो ।

राजदूत शाम्सले बङ्गलादेशको सरकारी समाचार समिति बङ्गलादेश सङ्गबाद संस्था (बिएसएस) र राससबीचको समाचार र सूचना आदान प्रदानबाट दुवै देशका जनतालाई निकट ल्याउनका साथै एकअर्कालाई दुवै संस्थाले सेतुको भूमिका निर्वाह गर्ने बताए ।

“वर्षेनी ३० हजार बङ्गलादेशी पर्यटकले नेपाल भ्रमण गर्दै आएका छन्, सतहमार्गबाट सार्कका सदस्य देशलाई जोड्ने ‘मोटर भिएकल एग्रिमेन्ट’ हुनसके व्यापार विस्तारसँगै दुवै देशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्थ्यो”, राजदूत शाम्सले भने। उनले बिएसएस र राससबीचको कार्यगत साझेदारीलाई अझ व्यवस्थित एवं परिणाममुखी बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

अध्यक्ष श्यामलले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का संस्थापकमूलक नेपाल र बङ्गलादेशका जनताबीच धेरै समानता रहेको र उनीहरूमा एकअर्काबारे जान्ने उत्सुकता रहेको बताउँदै दुवै देशका आधिकारिक समाचार समितिको साझेदारीले उनीहरूका आकांक्षा पूरा गर्न मद्दत मिल्ने यथार्थ प्रस्तुत गरे ।

बदलिँदो परिवेशमा रासस र बिएसएसबीचको साझेदारीलाई परिभाषित गर्नुपर्ने अपरिहार्यतामा जोड दिँदै उनले समाचारको आदानप्रदानबाट केही हदसम्म दुवै देशका जनताको सूचना, जानकारी र ज्ञानको भोक मेटिने बताए ।

प्रकाशित मिति: Jan 17, 2019

प्रतिक्रिया दिनुहोस्