Logo
|| January 17, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दैनिक ३ हजार यात्रुले प्रत्यक्ष सेवा लिइरहेका ‘टुटल’ र ‘पठाओ’ बारे बिवाद : के भन्छ सम्बन्धित निकाय ?

काठमाडाैं : यातायात व्यवस्था विभागले मोबाइल एप्लिकेसन (एप्स) प्रयोग गरी उपत्यकाभित्र भाडामा सञ्चालित निजी प्रयोजनका दुईपांग्रे सवारीसाधन (मोटरसाइकल-स्कुटर) माथि रोक लगाएको छ । कानुनी अड्चन देखाउँदै विभागले निजी प्रयोजन (रातो नम्बरप्लेट)मा दर्ता भएका सवारीसाधनलाई यात्रु बोक्न रोक लगाएको हो ।

तर, सोही प्रयोजनमा दर्ता भएका ल्यान्डक्रुजर, स्कारपिओ, टाटासुमो, मारुती, अल्ट्रो, स्यान्ट्रोजस्ता चारपांग्रे सवारीसाधन भने मुलुकभर नै निर्वाध चलिरहेका छन् । विभागका अनुसार यस्ता सवारीसाधन उपत्यकाभित्र मात्रै हजारको संख्यामा सञ्चालित छन् । उपत्यकाबाहिर भने पाँच हजारभन्दा धेरै चल्ने गरेका छन् । तर, तिनलाई मोटरसाइकल र स्कुटरलाई जस्तै नियन्त्रण गर्ने सोच विभागको छैन ।

विभागका महानिर्देशक लावण्यकुमार ढकालले मोटरसाइकल र स्कुटरलाई जस्तै भाडामा प्रयोग हुने निजी प्रयोजनका चारपांग्रे सवारीसाधन तत्काल नियन्त्रण गर्ने सोच नभएको बताए । उनले भने, ‘रातो नम्बरप्लेटमा दर्ता भएका चारपांग्रे सवारीसाधन पनि भाडामा प्रयोग भइरहेका छन् । कानुनी रूपमा यो अवैधानिक हो । तर, यसलाई नियन्त्रण गर्न तत्काल केही गरिएको छैन । किनकि यस सम्बन्धमा उजुरी परेको छैन । मोटरसाइकल र स्कुटरको हकमा ट्राफिक प्रहरीमार्फत उजुरी आयो । कानुनी पाटो हेर्दा अवैधानिक देखियो । त्यसो हुँदा रोक्ने निर्देशन भयो ।’

उपत्यकाभित्र ‘टुटुल’ र ‘पठाओ’ एप्स प्रयोग गरी करिब १५ हजार मोटरसाइकल र स्कुटर भाडामा सञ्चालित छन् । टुटलले यो सेवा दुई वर्षअघिदेखि सञ्चालन गरिरहेको छ । यही सेवा सञ्चालनका लागि मात्रै टुटलले करोड रुपैयाँभन्दा धेरै लगानी गरिसकेको छ । जावलाखेलमा कार्यालय रहेको टुटलमा मात्रै ३० भन्दा धेरैले प्रत्यक्ष रोजगार पाइरहेका छन् । टुटलका कार्यकारी अधिकृत शिक्षित भट्टका अनुसार टुटलसँग मात्रै करिब १० हजार ग्राहक आबद्ध छन् ।

यसबाट दैनिक ३ हजारभन्दा धेरै यात्रुले प्रत्यक्ष सेवा लिइरहेका छन् । यस प्रयोजनमा मात्रै ९ हजार मोटरसाइकल र स्कुटर सञ्चालित भइरहेका छन् । तर, प्रहरीले कानुन नभएको भन्दै पक्राउ गर्न थालेपछि व्यवसायीसहित यात्रुले पाउँदै आएको सेवा संकटमा परेको टुटलका कार्यकारी अधिकृत भट्टले बताए ।

उनले भने, ‘दुई वर्षदेखि एप्समार्फत हामीले सेवा दिइरहेका थियौँ । यसबाट विद्यार्थीदेखि सामान्यभन्दा सामान्य व्यक्तिले रोजगार पाइरहेका थिए । यात्रुले सहज रूपमा यात्रा गर्न पाइरहेका थिए । यसबाट प्रत्यक्ष असर त उनीहरूलाई प-यो । अर्को यसबाट हाम्रो व्यवसायलाई असर त पर्ने नै भयो ।’ त्यस्तै ‘पठाओ’ एप्सको पनि ‘सब्सक्राइबर’ मात्रै १० हजार छन् । यो एप्स प्रयोग गरी ६ हजार मोटरसाइकल र स्कुटर भाडामा प्रयोग भइरहेका छन् ।

‘पठाओ’ एप्सबाट भने यस्ता मोटरसाइकल सञ्चालन भएको ६ महिना मात्रै भएको छ । यही प्रयोजनका लागि यसले करिब २० लाख लगानीमा दरबारमार्गमा भव्य कार्यालय खोलेको छ । पठाओका सञ्चालक वैभव चन्दले भने, ‘कानुनी अड्चन देखाउँदै भाडामा चल्ने मोटरसाइकल पक्राउ गरिएको छ । यसले यात्रुलाई असर गरेको छ । रोजगारीमा पनि यसले प्रत्यक्ष प्रभाव पारेको छ । यसलाई सरकारले पुनर्विचार गर्न आवश्यक देखिन्छ ।’

यसरी उठ्यो विवाद
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार भाडामा मोटरसाइकल र स्कुटर चलेको भन्दै ट्याक्सी व्यवसायीले प्रहरी कार्यालयमा उजुरी गरे । रातो नम्बरप्लेटको सवारीसाधनले सेवा दिन नपाउने काुननी प्रावधान रहेको पाइएपछि प्रहरीले त्यस्ता मोटरसाइकलमाथि निगरानी बढायो ।

सोही क्रममा दरबारमार्गबाट ‘पठाओ’ एप्स प्रयोग गरी चलाइएका तीन र ‘टुटल’ एप्स प्रयोग गरी चलाइएका एक मोटरसाइकल पक्राउ परे । मोटरसाइकल छुटाउन विभिन्न तहबाट दबाब आयो । घटना नौलो भएकाले महाशाखाले यातायात व्यवस्था विभागलाई पत्र लेख्यो । विभागले तुरुन्तै मोटरसाइकल र स्कुटर भाडामा प्रयोग हुनु कानुनविपरीत रहेको भन्दै प्रहरीलाई आइतबार नै पत्र लेखी ‘उवर’, ‘टुटल’ र ‘पठाओ’ एप्स प्रयोग गरी प्रयोजनविपरीत सञ्चालित सवारीसाधनलाई तत्काल नियन्त्रण गर्न निर्देशन दिएको छ । तर, नेपालमा ‘उवर’ एप्स भने प्रयोग भएको छैन ।

विभागका महानिर्देशक ढकालले भने, ‘मोटरसाइकल र स्कुटर निजी प्रयोजनमा चल्ने सवारीसाधन हुन् । तर, यसलाई भाडामा चलाइएको पाइयो । यस सम्बन्धमा धेरै गुनासा आए । यस सम्बन्धमा हामीले अध्ययन ग-यौँ । यो कानुनी र सुरक्षा दुवै दृष्टिकोणले गलत रहेको पाइयो । त्यसो हुँदा यसलाई तत्काल बन्देज गर्न प्रहरीलाई निर्देशन दिइएको हो ।’

महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले ‘पठाओ’ र ‘टुटल’ एप्स प्रयोग भई सञ्चालित भाडाका सबै स्कुटर र मोटरसाइकल कानुनविपरीत रहेकाले पक्राउ गरिएको बताए । उनले भने, ‘मोटरसाइकल र स्कुटर रातो नम्बरप्लेटका सवारीसाधन हुन् । निजीबाहेक यो अन्य प्रयोजनमा प्रयोग गर्न मिल्दैन । तर, यसलाई एप्स प्रयोग गरी भाडामा चलाइएको पाइयो । त्यसो हुँदा नियन्त्रणमा लिइएको हो । यातायात व्यवस्था विभागकै निर्देशन आएको हुँदा यसलाई अझ कडा पारिँदै लगिनेछ ।’

के भन्छ कानुन ?
सवारी यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका निजी सवारीसाधन भाडामा प्रयोग गर्न पाइने छैन । सोही ऐनको दफा २५ को उपदफा १ मा त ऐनबमोजिम एक क्षेत्रमा दर्ता भएको सवारीसाधन अर्को क्षेत्रमा चलाउनसमेत नपाइने व्यवस्था छ । कसैले ऐन उल्लंघन गरेको पाइए त्यसलाई नियन्त्रण गरी हजार रुपैयाँ जरिवाना असुल गरिने व्यवस्थासमेत सोही ऐनले गरेको छ ।

‘कानुन र सुरक्षाका कारण यस्तो गरियो’ : लावण्यकुमार ढकाल, महानिर्देशक, यातायात व्यवस्था विभाग

भाडामा चलेका मोटरसाइकल र स्कुटरलाई किन नियन्त्रणमा लिइएको हो ?
यसमा दुईवटा कारण छन् । एउटा कानुनी र अर्को सुरक्षा । मोटरसाइकल र स्कुटर रातो नम्बरप्लेटमा दर्ता भएका सवारीसाधन हुन् । यसलाई सेवामा प्रयोग गर्न मिल्दैन । कानुनले त्यही भन्छ । सुरक्षाका दृष्टिकोणले पनि मोटरसाइकललाई भाडामा प्रयोग गर्न दिन उचित देखिएन । जस्तो, यात्राका क्रममा यात्रु दुर्घटनामा पर्न सक्छ । त्यसवेला जिम्मेवार को हुने ? अथवा कसैको अपहरण हुन सक्ला या बलात्कारका घटना होलान् । त्यसवेला जिम्मेवार को हुने ? यी र यस्तै कारणले रोक लगाइएको हो ।

तर, रातो नम्बरप्लेटका चारपांग्रे सवारीसाधनले त यात्रु बोकिरहेको छ त ?
हो, हामीकहाँ समस्या छ । कानुनी दृष्टिकोणबाट हेर्दा त्यो पनि वैध होइन । तर, यात्रुले सेवा लिइरहेका छन् । त्यसो हुँदा यस विषयमा आँखा चिम्लिएको हो ।

त्यसो हो भने कानुन दुईपांग्रेलाई मात्रै लाग्ने हो र ?
त्यस्तो पनि होइन । खासमा मोटरसाइकल भाडामा प्रयोग भइरहेका छन् भन्ने उजुरी आए । ट्राफिक प्रहरीले यस्ता मोटरसाइकल पक्राउ गरेछ । हामीकहाँ पत्र नै आयो । के गरौँ भन्ने आशय उहाँहरूको थियो । कानुन हेर्दा अवैधानिक देखियो । त्यसो हुँदा हामीले पनि पक्राउ गर्न निर्देशन दिएका हौँ ।

उजुरी परे चारपांग्रेलाई पनि समातिन्छ ?
यस विषयमा अहिले खासै सोचिएको छैन । हामी कानुन कार्यान्वयन गर्ने निकाय हो । समस्या नै आएको खण्डमा उनीहरू नियन्त्रणमा पनि पर्न सक्छन् ।

उजुरी परे पक्राउ गर्छौैँ : वसन्त पन्त, एसएसपी प्रमुख, महानगरीय ट्राफिक प्रहरी महाशाखा
हामीकहाँ उजुरी धेरै परे । त्यसलाई सम्बोधन गर्नु हाम्रो दायित्व हो । खासगरी ट्याक्सी व्यवसायीबाट यस्ता उजुरी धेरै आए । यही सिलसिलामा पठाओ र टुटल एप्स प्रयोग भई भाडामा चलेका मोटरसाइकल हाम्रो निगरानीमा थिए । उनीहरू दरबारमार्गमा पक्राउ परे । अहिले ती सबै छुटिसकेका छन् । यस्ता सवारीसाधन नियन्त्रण गर्न यातायात व्यवस्था विभागबाट निर्देशन आएको छ । निर्देशन पालना गर्ने हाम्रो दायित्व हो । सोहीअनुसार हामी अघि बढ्छौँ । अर्को सुरक्षाका दृष्टिबाट पनि यो सेवा त्यति प्रभावकारी देखिएन । भोलि कानुन बन्ला । हामीले गरेको कारबाहीले त्यसलाई सहयोग नै गर्नेछ ।

तीन हजारले रोजगार गुमाउने भए : शिक्षित भट्ट, सिइओ, टुटल
एप्समार्फत मोटरसाइकल र स्कुटर भाडामा चलाउने हामी नै पहिलो होइनौँ । बंगलादेश, थाइल्यान्ड, अफ्रिकालगायतका मुलुकमा यस्ता सवारीसाधन धेरै अघिदेखि सञ्चालित छन् । नेपालमा मात्रै हाम्रो यो पहिलो प्रयास हो । तर, अहिले कानुनी अड्चन झिक्दै यसलाई बन्द गर्न भनिएको छ ।

व्यावसायिक रूपमा यसले हामीलाई जति असर गरेको छ, त्योभन्दा धेरै यसले रोजगारीमा असर गरेको छ । एप्समार्फत हामीकहाँ मात्रै दैनिक तीन हजार मोटरसाइकल चल्छन् । यस्ता मोटरसाइकल चलाउने अधिकांश विद्यार्थी छन् । पढाइ खर्चदेखि रोजीरोटी उनीहरूको यसैबाट चल्दै आएको छ । अब त्यो बन्द भयो । दैनिक धेरै दृष्टिविहीन यही सेवाबाट आउआउ गरिरहेका छन् । यो पनि अब रोकियो । अर्को यात्रुले सास्ती भोग्नुप-यो । काठमाडौंको जाममा घन्टौँ बिताउनुपर्ने समस्याबाट उनीहरू मुक्त भएका थिए । यो पनि अब थपियो ।

यात्रुले सेवा पाउँछन् भने ठीक छ : भीमज्वाला राई, अध्यक्ष, यातायात मजदुर संघ
पछिल्ला दिनमा मोटरसाइकल पनि भाडामा चल्ने गरेको पाइएको छ । कानुनी दृष्टिबाट हेर्दा यो अमान्य छ । तर, अन्य मुलुकको उदाहरण हेर्दा यो ठीकैजस्तो देखिन्छ । किनकि यात्रुले सुविधा पाउने विषयलाई राम्रै मान्नुपर्छ । हाम्रोजस्तो दैनिक सवारीसाधन जाम हुने ठाउँमा यस्तो सुविधा हुनु ठीकै हो । तर, कानुनी राज्यमा कानुनलाई नकार्न पनि सकिन्न । त्यसो हुँदा कानुनलाई संशोधन गरी यस्ता साधन चल्न दिए ठीकै हुने देखिन्छ भन्दै नयाँपत्रिकामा समाचार छ ।

प्रकाशित मिति: ३ माघ २०७५, बिहीबार १०:०२

प्रतिक्रिया दिनुहोस्