Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाकै सरकार रहेको प्रदेश ५ बाट ओली सरकारलाई गम्भिर आरोप

बुटवल : प्रदेश २ सरकारले केन्द्र सरकार सौतेला दाईसम्म भन्दै आरोप लगाएता पनि नेकपाकै सरकार रहेको प्रदेश ५ मा पनि मंगलवार सोही प्रकरण दोहरिएको छ । प्रदेश २ मा अर्कै दलीय गठबन्धनको सरकार रहेकाले केन्द्र र प्रदेशबीच कुरा नमिलेको तर्क भइरहँदा प्रदेश ५ बाट पनि उहिँ आरोप लागेको हो ।

माघीको अवसरमा प्रदेश सरकारले दुई दिनको सार्वजनिक बिदा दिएपनि । त्यसको भने प्रदेश ५ मा उल्लंघन भएको छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अन्तर समन्वय परिषद् बैठकमा प्रदेश सरकारले दिने बिदामा संघमातहत रहेका कार्यालय बन्द गर्ने सहमति भएको जानकारी पनि गराएका थिए तर उल्लंघन भएको हो ।

उक्त विदालाई बेवास्ता गर्दै प्रदेश ५ मा संघ मातहत रहेका अधिकांश सरकारी कार्यालय, बैंक तथा बित्तिय संस्थाहरुले बिदा मानेनन् । यसले प्रदेशमा रहेका संघ मातहतका कार्यालय र प्रदेश सरकारबीच अधिकारबारे द्वन्द्व देखा परेको छ । यसअघि गणतन्त्र दिवसमा पनि प्रदेश सरकारले बिदा दिँदा संघ मातहतका कार्यालयहरु खुलै थिए । मुख्यमन्त्री पोखरेलले नै बिदा कार्यान्वयन हुने जानकारी गराइरहँदा भने संघ मातहतका कार्यालय खुल्नुले प्रदेश र संघमातहतका कार्यालयबीच अधिकार प्रयोगमा द्वन्द्वको संकेत देखिएको छ ।

प्रदेश ५ ले माघ १ र २ गतेको बिदा घोषणा गरेपनि संघमातहतका कार्यालयहरु जिल्ला प्रशासन कार्यालय, अदालत, सरकारी वकिल, निर्वाचन, मालपोत, नापी, हुलाक कार्यालयसहित सुरक्षा निकाय र नेपाल टेलिकममा नियमितजस्तै काम भइरहेको छ । नेपाल बैंक, राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंकसहित निजी क्षेत्रका बैंक तथा वित्तिय संस्थाहरु खुलै छन् ।

प्रदेश ५ हेर्ने नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक अशोक कुमार पौडेलले राष्ट्र बैंक केन्द्रीय कार्यालयबाट बिदा गर्नु भन्ने पत्र नआएकाले बिदा नगरेको बताए । ‘नेपाल राष्ट्र बैंकले नेपाल सरकारले सार्वजनिक बिदा दिएको बाहेक अन्य दिन बिदा गर्नेबारे कुनै जानकारी गराएको छैन, उनले भने-त्यसैअनुसार राष्ट्र बैंक मातहतका कार्यालयहरु र बैंक वित्तिय संस्था खुला रहेका छन् ।’

उनका अनुसार माघ १ र २ गते प्रदेश ५ ले बिदा दिएपनि केन्द्रले बिदा दिनेभन्ने कुनै जानकारी गराएको छैन । राष्ट्र बैंकले बिदा गर्नेबारे कुनै सूचना ननिकालेपछि बैंक तथा वित्तिय संस्थाहरुले बिदा दिएनन् । ‘हामीहरुले राष्ट्र बैंकको निर्देशन बिना बन्द गर्न मिल्दैन,-ओम डेभलपमेन्ट बैंक बुटवल कार्यालयका प्रमुख अर्जुन ज्ञवालीले भने-राष्ट्र बैंकबाट बिदा दिनेबारे कुनै जानकारी आएको छैन ।’

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोखरेलले पनि कार्यालय बन्द गर्ने कुनै जानकारी नआएको बताए । ‘हामीहरु त अझै संघमातहत नै छौं-उनले भने-संघबाट कुनै निर्देशन आएको छैन, निर्देशन नआइ हामी कार्यालय बन्द गर्न सक्दैनौं ।’ प्रदेश सरकारले खुला रहेका संघमातहतका कार्यालयहरुको तथ्यांक संकलन गरिरहेको र त्यसलाई नियमन गर्ने प्रदेश ५ प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

‘कतिपय कार्यालयहरुले परिपत्र आएन कसरी बन्द गर्ने भन्ने कुरा गरेका छन्, उनले भने, ‘संघीय सरकारले परिपत्र गरिदिनुपर्ने हो, त्यो नगरिदिएका कारण समस्या भएको रहेछ, कतिपय कुरा सिस्टममा आउन बाँकी छन्, हामी संघीय सरकारलाई परिपत्र गर्न अनुरोध गर्छौं ।’

प्रकाशित मिति: Jan 15, 2019

प्रतिक्रिया दिनुहोस्