Logo
|| January 1, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जाडो याममा पनि हिमाल आरोहणको आकर्षण बढ्दै

काठमाडौँ : जाडो याममा पनि हिमाल आरोहणको आकर्षण उत्तिकै बढ्दो छ । यस सिजनमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल तथा चुली (पिक) आरोहण गर्न विभिन्न मुलुकका पर्वतारोही जाने गरेका छन् ।

पर्यटन विभागका अनुसार गत वर्षको हेमन्त ऋतुमा सगरमाथासहित हिमाल र चुली आरोहणका लागि १० वटा आरोहण दल आएका थिए । सगरमाथा, अमादब्लङ, पुमरी, थापापिक (धम्पुस), गौगिरीलगायत आरोहणका लागि गएका हुन् ।

सगरमाथा गएको एसएसटी विन्टर एलेक्जेन्डर चिकोन एभरेष्ट एक्सिपिडिसन आरोहण दल यसअघि सन् २०१६ मा पनि सगरमाथा आरोहण गर्न आएको थियो । यस वर्ष पनि अष्ट्रेलियालगायत मुलुकबाट तीन वटा आरोहण दल अमादब्लङ हिमाल र धम्पुस पिक आरोहणका लागि गएको विभागले जनाएको छ ।

सन् २०१७ को जाडोयाममा रु नौ लाख २६ हजारभन्दा बढी आरोहण रोयल्टी उठेको छ । विभागको पर्वतारोहण शाखाका अनुसार यो वर्ष पनि गत वर्षकै हाराहारीमा आरोही आउने अनुमान गरिएको छ ।

विभागको विवरण अनुसार सन् २०१८ को शरद ऋतुमा ५५ वटा हिमाल र पिक आरोहणका लागि १७३ आरोहण दलका एक हजार ३९८ आरोहीबाट पाँच करोड ३८ लाख १७ हजार २७४ रोयल्टी सङ्कलन भएको छ ।

सोही वर्षको वसन्त ऋतुमा ४०० भन्दा बढीले सगरमाथा आरोहण गरेका थिए । वैशाख ३० देखि जेठ ११ गतेसम्म भएको आरोहणबाट ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी उठेको छ ।

उक्त अवधिमा सगरमाथासहित २८ हिमालबाट ४१ करोड २८ लाख ८४ हजार ६३८ रोयल्टी जम्मा भएको विभागले जनाएको छ । हिमाल आरोहणका लागि वसन्त ऋतु ९स्प्रिङ सिजन० उपयुक्त मानिन्छ ।

प्रकाशित मिति: १७ पुष २०७५, मंगलवार १४:१९

प्रतिक्रिया दिनुहोस्