Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१० करोड लगानीमा कोलकातामा नेपाली भवन निर्माण हुँदै

काठमाडौँ : भारत पश्चिम बङ्गालस्थित कोलकातामा नेपाल भवन बनाउन पहल भएको छ । कोलकातावासी नेपालीहरुले महेशतला नगरपालिका-२३, विवेकानन्द पार्क रोड नेर ११ कठ्ठा जग्गा लिइसकेका छन् । विभिन्न सांस्कृतिक कार्यक्रम गर्न तथा आपसमा भेला भई अन्तक्र्रिया एवं छलफल गर्नका लागि सो भवन बनाउन लागिएको हो ।

कोलकातामा रहेका नेपालीहरुको छाता सङ्गठन संयुक्त नेपाली वेलफेयर ट्रष्टले भवन निर्माणका लागि पहल गरिरहेको छ । नेपाल सरकारबाट रु ६ लाख र नेपाली समुदायबाट सङ्कलित रु ४ लाखबाट करीब १५ वर्षअघि खरीद गरिएको जग्गामा भवन बनाउन माटो परीक्षण र योजना तयार भइसकेको ट्रष्टका अध्यक्ष खिमराज बरालले बताए ।

“कोलकातामा नेपाल भवन हाम्रो सपना हो, हाम्रो गौरव हो, यसको सफलताका लागि नेपाल सरकारले थप सहयोग गर्नुपर्छ”, खिमराजले भने । भवन बनाउन करीब रु १० करोड लाग्ने अनुमान गरिएको छ । यसबारे नेपाली समुदायले अनुरोध गरेअनुसार कोलकातास्थित महावाणिज्यदूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको र सोहीअनुसार परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई अनुरोधपत्र लेख्दै भवन निर्माणका लागि सहयोग गर्न आग्रह गरेको तर अर्थ मन्त्रालयबाट काम अघि नबढेको बताए । “यसमा ठूलो जोड नगरी सफलता प्राप्त हुँदैन”, धर्मराजले भने।

भारत-नेपाल जनमैत्री सांस्कृतिक मञ्च, भारत, कोलकाताका पूर्वअध्यक्ष नारायणप्रसाद होमागाईँले नेपाल भवनबारे धेरै प्रचारप्रसार भएको बताउँदै प्रस्तावित चारतले भवनमा सम्मेलन कक्ष, पुस्तकालय, कार्यालय कक्ष र आवाससमेत बन्ने हिसाबले नक्शाको तयारी गरिएको र माग गरिएको रकम पाइएमा अढाइ वर्षमा भवन बन्ने जानकारी दिए ।

प्रकाशित मिति: Dec 16, 2018

प्रतिक्रिया दिनुहोस्