Logo
६ बैशाख २०८१, बिहीबार
(March 27, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हाम्रो रिसइबी रूससँग न युक्रेनसँग, तर मानवता नहुनेहरुले ठिक्क पर्‍यो भन्लान्

मैले रूस-युक्रेन रणमैदानमा जे भोगेँ, जे देखेँ, त्यही लेख्दै छु । यहाँको अवस्था कस्तो छ त्यो भन्न सकिँदैन । शब्दमा बयान गर्न पनि सकिँदैन । यहाँको अवस्था देखेपछि दिमागले काम गर्न छाड्छ । मात्र यति लेख्छु– नेपाल सरकारले यो नर्कबाट निकाल्न तत्काल पहल गरोस् । हामीलाई दलालले फसायो ।

युक्रेनमा लडाइँ भइरहेको भेसेले र राजडोल्भीकास्थित ठाउँ-ठाउँका बङ्कर र भत्केको घरमा हामी ३१ जना नेपाली छौँ । हाल यहाँ एक दुई जना सामान्य घाइते भए पनि अन्य सकुशल छौँ ।

यही बङ्करमा बसेर कहानी सुनाउँदै छु– यहाँ हामी मृत्युसँगै बाँचिरहेका छौँ । सबै नेपाली फर्कन चाहन्छन् । आफ्नो परिवारसँग भेट्न कुरा गर्न आतुर छन् । चाँडोभन्दा चाँडो उद्धार गरियोस् ।

भेसेलेको पहिलो दिन । ११/०३/२०२४ तारिख । मोटरसाइकलको पछाडि सामान ओसारपसारको लागि टिप्पर जोडेको हुन्छ । त्यसैमा दुई रुसीसँगै क्युबाको एक जना र म लडाइँ लडिरहेका टोलीलाई खानेकुरा लिएर पुग्यौँ ।

त्यसबेला अवस्था सामान्य थियो । दुस्मन ३–४ किलोमिटर पछाडि हटेको थियो । तर, बमबारी चलिरहेकै थियो । त्यहाँ बसेको एक साता भएको थियो । सुत्ने तरखर गर्दै थियौँ । वस्तृए  वस्तृए (छिटो छिटो) भन्दै एउटा रुसी सेना आयो । एक जना रुसी सेनासँग मलाई अगाडि पठाइयो ।

करिब १५ सय मिटर परदेखि एक रसियनको लास लडाइँको मैदानबाट उठायौँ । हतियार पनि बोकेका थियौँ । हतियारसँग कुद्न गाह्रो । त्यसमाथि दुई जनाले एकजनाको लास बोक्नुपर्यो । चिसो उस्तै । हातखुट्टा जाम भएर दौडिन सकेनौँ । उता (युक्रेनी पक्ष)बाट बम र गोलीको वर्षा भइरहेको थियो ।

देशमै रोजगारी पाएको भए यसरी ज्यान नै धरापमा राखेर रुसी सेनामा भर्ती हुनुपर्ने थिएन । गरिबीका कारण घर व्यवहार चलाउन धौधौ भएपछि छिट्टै धनी बन्ने सोचले दलाल मार्फत हामी रुसी सेनामा भर्ती भयौँ । हाम्रो रिसइबी रुससँग छ, न युक्रेनसँग

हामीलाई रुसी ड्रोनले गाइड गरिरहेको थियो । यता जा, उता जा भन्दै वाकीटाकी सेटमा कराइरहेको थियो । अरूको लास राखेको बङ्करमा हामीले त्यो लासलाई राख्यौँ । र, बसेको घरमा आयौँ ।

त्यहाँ अरू दुई जना थपिसकेका रहेछन् । रिमरिम उज्यालो भएको थियो । मैले ‘जय होस् सबै’ भनेपछि एकजनाले ‘ढोग गरेँ दाइ’ भने । यसो हेरेको त सन्त भाइ पो रहेछन् । सन्तसँग दुई महिना पहिले छुटिएका थियौँ ।

भाइको अनुहार न्याउरो थियो । झ्याप्पै दारी थियो । झट्ट हेर्दा त चिन्नै नसक्ने । भाइले भने– ‘दाइ तपाईँलाई भेटेर मेरो सास आयो ।’

मैले सोधेँ– तिमीलाई कस्तो छ भाइ ?

जवाफ आयो– ‘यस्तै छ दाइ । दुई हप्ता युद्ध मैदानमा बस्ने । तपाईँहरूले लास लिएर आउनुभयो । त्यो लास लाने हामी नै हौँ । घाइते भएका, मरेका यहाँसम्म तपाईँहरूले ल्याउनु हुन्छ । यहाँबाट लाने काम हाम्रो हो ।

त्यस दिन भाइको कमान्डर पनि त्यहीँ बस्यो । भाइ र म अबेरसम्म दुःखका कुरा गर्दै बस्यौँ ।

रन्जु दाइलाई त्यहीँ बाहिर गोली लागेको थियो । चार महिना भयो उहाँको केही खबर पाएका छैनौँ । यहाँ युद्धमा मर्यो भने पनि घुम्न आएको मान्छे मर्यो भन्छन् । कागजपत्र भेटियो भने नाम लेख्छन् । नत्र खाल्डो खनेर गाडिदिन्छन् ।

घरपरिवारसँग कुरा गर्न पाइँदैन । मोबाइल चलाउन पनि दिँदैनन् । लुकिलुकी चलाउनुपर्छ । लास उठाउँदै दिन जान्छ । राति पनि लास उठाउन जानुपर्छ ।

राम्रोसँग सुत्न पाइँदैन । चनाखो हुनुपर्छ । नत्र शत्रु सिधै घाँटी काट्न आउँछ । बम हान्छ । दुस्मन गोली हान्दै भित्र घुस्छ । रातभर जागराम बस्नुपर्छ । सुते पनि पालैपालो सुत्नुपर्छ । बङ्करमा बसेको दुई महिना भयो । ननुहाएको, कपडा चेन्ज नगरेको एक महिना १७ दिन भयो ।

गरिबीका कारण घर व्यवहार चलाउन धौधौ भएपछि छिट्टै धनी बन्ने सोचले दलाल मार्फत हामी रुसी सेनामा भर्ती भयौँ । हाम्रो रिसिइबी रुससँग छ, न युक्रेनसँग । हामी त यहाँ पैसा कमाउनको लागि मात्रै आएका हौँ । तर, कहालीलाग्दो युद्धको भुमरीमा फस्यौँ ।

मानवता नहुनेहरूले ठिक्क पर्यो भन्लान् । तर, हाम्रो लागि आवाज उठाउने कृतु भण्डारी लगायत हुनुहुन्छ भन्ने सुनेपछि केही आशा जागेको छ । अब बाच्छौँ कि भन्ने लागेको छ । परिवारसँग फेरि भेट हुने आशाले मन पुलकित भएको छ ।

यहाँ सबै नेपाली उद्धारको पर्खाइमा छन् । देशमै रोजगारी पाएको भए यसरी ज्यान नै धरापमा राखेर रुसी सेनामा भर्ती हुनुपर्ने थिएन । केही साथीहरूमा युद्ध सम्बन्धी जानकारी छ । तर, अधिकांश गाउँघर, पाखा पखेरामा खेल्दाखेल्दै यहाँ आइपुगेका छन् ।

धेरै साथीहरूले मानव तस्करले यहाँ ल्याएको सुनाउने गरेका छन् । दलालहरूले विभिन्न प्रलोभनमा अझै नेपालीलाई फसाउन छाडेका छैनन् । यहाँ ल्याइरहेका छन् । दलालले एक जना ल्याउँदा १५ सयदेखि २५ सय डलरसम्म पाउने रहेछ । मेरो अनुरोध, यो काल कोठरीमा आउनबाट रोक्न नेपाल सरकारले ध्यान पुर्याओस् ।

रुसी सेनामा भर्ती हुन सामान्य मेडिकल चेकअप मात्रै हुन्छ । अरू, मापदण्ड केही चाहिँदैन । यहाँ ५२ वर्षसम्मको नेपाली भेटेको छु । जो पायो त्यहीलाई ल्याउँदा युद्धमा बढी मृत्यु हुने गरेका छन् । १० दिनको तालिम दिएर युद्धमा खटाइन्छ । भाषा, चिसो मौसम र भूगोलले पनि यहाँ धेरै समस्या हुने गरेको छ ।

दुई–चार महिना भाषा सिकोस् भनेर रुसी सेनासँगै राख्छन् । त्यसबेला नेपालीहरूले ‘आइ एम रसियन आर्मी’ भनेर शान दिन्छन् ।

युद्ध कस्तो छ भन्ने भोग्नेलाई मात्रै थाहा छ । अरूलाई यस्तो कहालीलाग्दो युद्धमा नफस्न आग्रह छ । गाउँमै केही गर्नुहोस् । बरु अरू देश जानुहोस् । जानाजान मृत्यु नरोज्नुहोस् ।

नेपाल सरकारसँग एउटै मात्र आग्रह– हाम्रो उद्धार तत्काल गरियोस् । हामी बाच्न चाहन्छौँ । जिन्दगीको भिख मागिरहेका छौँ ।

आँखै अगाडि धेरै नेपालको मृत्यु भएको छ । युक्रेनीले बिछाएको बम, ड्रोन, आर्टिलरी प्रहारबाट ज्यान टुक्रा-टुक्रा भएको छ । कसैको आन्द्राभुँडी निस्किएको छ । बेवारिसे मृत्यु मरेका छन् । मरेकालाई त्यहीँ खाल्डो खनेर गाडिदिन्छौँ ।

न खाना छ । न त पानी नै । खाना एक ठाउँमा थुपार्छ । त्यो पनि दुस्मनको बमले तितरबितर बनाइदिन्छ । माटोमा लतपत भएको खाना टिपेर खानुपर्छ । भोकै प्यासै लडेको तलब पनि पाइँदैन । फ्रीमा रुसको लागि लडिरहेका छौँ ।

(हाल रूस र युक्रेनको युद्ध मैदानबाट )

प्रकाशित मिति: Mar 27, 2024

प्रतिक्रिया दिनुहोस्